Ad Area

मिटर ब्याजले गराउँदै ‘उठीबास’


घोराही, १६ फागुन । तुलसीपुरकी सीता नेपालीले ४ वर्षअघि पसल गर्न भन्दै एक व्यक्तिसँग ऋण सापटी लिनुभयो । व्यापार ठिकै चलेको थियो । तर, केही महिनामै कोरोनाका कारण लकडाउन भयो । व्यापार व्यवसाय सबै ठप्प भयो । व्यापार गरेर आयआर्जन हुने आधार रोकिएपछि साहुबाट ऋण गरेर ल्याएको पैसाको सावाँ र ब्याज तिर्न सक्ने अवस्था रहेछ । जसो तसो गरेर ब्यजा तिर्दा पनि आफुलाई बस्न खान नदिएपछि उहाँले पसल बिक्रि गर्नुभयो ।

पसल बिक्रि गरेर ऋण तिर्दा पनि सकिएन । कारण थियो, मिटर ब्याज । घर व्यहार रामो होला भनेर छिटो छरितोको नाममा मिटर ब्याजमा ऋण लिन पुग्नुभएकी सीताले साहुलाई ५ लाखको १५ लाख तिर्दा पनि सकिएन । आफुसँग भएको जायजेथा बेचेर ऋण तिर्दा पनि भुक्तानी चुक्ता नभएपछि अहिले घर छाडेर भारत जानुपरेको छ । मिटर व्याजमा फसेर सडकमा आएकी सीता जस्तै धेरैको हविगत हिजोआज उस्तै छ । घरमै आएर अनेक यातना दिने, परिवारमा मानसिक तनाव सिर्जना मात्रै होईन बालबालिकामा पनि गम्भीर असर पर्ने खालका गतिविधिले धेरै जना सडकमै आउन बाध्य भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुमरगाउँका रामकुमारी बुढामगर र दिलसरी गिरीले जग्गा खरीद गर्न भन्दै एक व्यक्तिसँग एक वर्षअघि ३ लाख ऋण लिनुभयो । आपत परेको बेलामा पैसा खोज्दै जाँदा मिटर ब्याज लगाउने व्यक्तिको सम्पर्कमा पुगेका उनीहरुले लिएको ऋण वर्षदिनै १० लाख बढी भईसकेको छ ।

‘तीन लाख लिएकोमा पछि थप रकम चाहिएपछि मैले आफुसँग भएको सुन, कानबाली, तिलहरी दिएर १ लाख पचास हजार लिएँ, पुरानो रकमसहित साढे चार लाख ऋण हो, हामीलाई दिँदा कमशिन, ब्याज के–के काटेर पुरै पैसा पनि दिएको हैन’, मिटर ब्याज पीडित रामकुमारीले भन्नुभयो, ‘हिमाल खड्का भन्ने व्यक्तिको पैसा रहेछ, हामीलाई भन्ने बिचौलियाले पैसा मिलाई दिएको रहेछ, पदमबहादुर रोका मगरले विचौलयाको काम गर्याे । ब्याज र सावाँ तिर्दातिर्दै पनि पैसा तिरेर सकिएला भन्ने बेलामा त झन बढेको बढ्यै गर्यो ।

भदौको २ गते अदालतमा हाजिर हुने आदेशसहित उसले मलाई मुद्धापो हालेछ ।’ नागरिकता, फोटो लगेर आफै बैंकमा खाता खोलि दिएर आफैले काम गरेको रामकुमारीको भनाई छ । सय रुपैयाँको मासिक ३ प्रतिशत ब्याजका दरले ऋण सम्झौता गरेपनि ऋण लिएको ६ दिनबाट घरमा आएर तनाव दिन थालेको उहाँको दुखेसो छ । ‘जग्गा किन्नु पर्यो भनेर आँटेको त मिटर ब्याजले सबै डुबायो’, उहाँले भन्नुभयो ‘१ कट्ठा चार धुर किनेको हो तर अहिले त्यही जग्गा बिक्रि गरेर पनि ऋण तिर्न सक्ने अवस्था रहेन ।’ तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीकी चैती चौधरीको पीडा पनि आर्थिक कारोबार कै छ ।

सासुआमाको नाममा रहेको जग्गा देवरले कारोबार गरेर बन्दकीमा पारेपछि उहाँलाई अहिले समस्या भएको छ । जग्गा खरीदका बिना सहमति देवरले मिटर व्याजमा जग्गा धितो राखेर निकालेको ११ लाख ऋणले हैरानी बनाएको छ । जग्गा खरीदका लागि ११ लाख नगद मिटर ब्याजमा निकासा गरी बैंक खातामा केही दिन राखेर काम नभएपछि पैसा फिर्ता गर्ने बेलामा दलाललाई पैसा दिएकोमा पैसा दिनेले आफुले भुक्तानी नपाएको दावी गरेपछि चैतीको परिवार अहिले तनाबमा छ ।

Blog Post Ad

‘सबै काम व्यवहारिक रुपमा भयो, यतिसम्म जालझेल होला भन्ने लागेन, पैसा लगेर दलालमार्फत बुझाएकै हो तर अहिले हामीलाई उल्टै फसाउने काम भएको छ’, उहाँले भन्नुभयो ‘११ लाख फिर्ता गरेपनि अझै ७ लाख मागेको छ, यस्तो अवस्थामा हामी निकै संकटमा परेका छौँ ।’ घोराही १६ की उषा धामीको कथा पनि उस्तै छ । व्यापार राम्रै चलिरहेको बेला लकडाउन हुनु नै उहाँका लागि अध्यारो दिन बन्न पुग्यो । व्यवहार बिग्रिएपछि उहाँले आफुसँग भएको २ कट्ठा जग्गा बेच्नु परेको छ । परिवारमा सम्बन्ध बिग्रेको छ । दाङमा उहाँहरु जस्तै मिटर ब्याज पीडितको संख्या थुप्रै छ ।

जिल्लामा निकै समस्यामा परेका १८ जना रहेकोमा अरु छिनोफानो भएको तर पाँच वटा अझै प्रकृयामा रहेको छ । मिटर व्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिकी पार्वता नेपालीका अनुसार जिल्लामा हजारौँ मिटर ब्याज पीडितका रुपमा रहेका छन् । सकेसम्म व्यवहार धान्दै बसेका कारण आफ्नो सम्पर्क नआएपनि समस्या जटिल बनेर आउनेहरुको बिचल्ली भएको बताउनुभयो । मिटर ब्याज कारोबारमा तीन थरीका गिरोह संलग्न छन् । पहिलो गिरोह, यसमा लगानी गर्न प्रोत्साहित गर्नेको छ ।

व्यावसायिक रूपमा नजिक रहेका, चिनजान भएका आधारमा र सानोतिनो व्यावसायिक सम्बन्ध भएकाले नै एकअर्कालाई यो धन्दामा लगानी गर्न प्रोत्साहित गर्छन् । अर्को गिरोह वित्तीय संस्थामा ऋण धितो राखेर रकम निकाल्नेको छ । विभिन्न व्यावसायिक फर्म दर्ता गरी धितो बन्धकी राखेर वित्तीय संस्थाबाट ऋण निकाल्ने र सुरुसुरुमा आकर्षक ब्याज दिई विश्वास दिलाउने काम यही गिरोहले गर्छ । बिस्तारै लगानीकर्ताको विश्वास जितेपछि एकैपटक ठूलो रकम लगानी हुन्छ । तेस्रो गिरोहले लगानी भएको रकम संकलन गर्ने, कमिसन दिनुपर्ने ठाउँमा दिने, राजनीतिक संरक्षणका लागि पहल गर्ने काम गर्छ ।

यसरी संस्थागत रूपमा भइरहेको ठगीमा परेकाहरूले उजुरी दिन थालेपछि मुख्य व्यक्तिलाई भगाउने र सबै दोष उसैमाथि खन्याएर आफ्नो हिस्सामा आएको रकम लिने गरिएको छ । मिटर ब्याज कारोबारको जालो बैंक तथा वित्तीय संस्थासम्म फैलिएको यस क्षेत्रका जानका बताउँछन् । यता, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले मिटर ब्याजको मुद्धा जिल्ला प्रशासनबाट प्रकृया थालनी हुनेभए पनि धेरै जसो व्यक्ति प्रहरी कार्यालयमा आउने गरेको बताउनुभयो । ‘हिजोका दिनमा भन्दा हिजो आज आफु पैसा सापटी दिएर नपाएको भन्दै उजुरी गर्न आउनेको संख्या घटेको उहाँको भनाई छ ।

हिजोका दिनमा मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीलाई दवावमा पारेर रिक्तो चेकमा दस्तखत गर्न पठाएर चेक बाउन्स देखाएर उजुरी गर्न आउने धेरै थिए’, उहाँले भन्नुभयो, ‘अवस्थाका बारेमा गहन रुपमा बुझ्दा मिटर व्याजको धन्दामा सोझासाझालाई फसाएर पैसा असुल्ने काईदा प्रमाणित भएपछि मुद्धा दिनको पनि यकिन अवस्था पहिचान गरेर मात्रै प्रकृया अघि बढाउने काम गरेका छौँ ।’

प्रहरी उपरीक्षक वलीले सानो रकम ब्याजमा लगाएर मिटर ब्याजका रुपमा कारोबार गरे छोटो समयमा मोटो रकम कुम्ल्याउने दाउमा ऋणीलाई डुबाउने खेल चलेपछि अहिले प्रहरीले यस प्रकारका घटनामा बढी सम्वेदनशील भएर काम गर्न थालेपछि मिटर ब्याजी पनि हच्किएको बताउनुभयो ।

‘जाहेरी दिनेको बारेमा पहिले त हामी अनुसन्धान गछौँ, एकै व्यक्तिलाई १ करोड, दुई करोड, पचास लाख ऋण कसरी दिईयो, पैसा दिनेले त्यो रकम कसरी कमाएको हो, आय श्रोत के हो भनेर खोज अनुसन्धान गरेर कानूनी प्रकृया अघि बढाउने काम हुन थालेपछि यस प्रकारका घटनाको उजुरीमा केही कमी आएको छ’, उहाँले भन्नुभयो ‘करीव ५० बढी यस प्रकारका उजुरी प्रहरीमा परेका छन् । केही किनारा लगाएका छौँ, केही छानबिनको प्रकृयामा रहेको छ । पहिलो काम त मोटो रकम लगानी किन गरेको हो, रकम कहाँबाट कमाएको हो भन्ने मै हाम्रो ध्यान हुन्छ, अनि नियम संगत लगानी भएको छ की छैन जाँचबुझ गर्छौँ ।’

प्रहरीले प्रमाणका आधारमा अनुसन्धान अघि बढाउने हुँदा मिटर ब्याज पीडितले न्यायका लागि दिएका उजुरी उपर पनि न्यायोचि रुपमा अध्ययन अनुसन्धान हुने गरेको बताउनुभयो । ‘हतपती मिटर ब्याजका घटना प्रहरीमा आउने गर्दैनन्, त्यस्तो उजुरी वा निवेदन आएपछि हामीले गहन रुपमा हेर्ने गरेका छौँ’, उहाँले भन्नुभयो ‘मिटर ब्याजको धन्दा सतहमा नदेखिए पनि भित्रभित्र फैलिएको यथार्थ हो । मिटर ब्याजकै कारण कैयन् मानिस डिप्रेसनको चरम विन्दुमा पुगेका छन् घरबार बिग्रिएको छ ।’

कर्जाका लागि मिटर ब्याजीको शरणमा पर्ने र चर्को ब्याजदरका कारण सर्वसाधारणले आत्महत्या गर्नुपर्ने घटनालाई बुझ्न सर्वसाधारणको वित्तीय पहुँचका लागि राज्यले ध्यान नदिँदा पनि यो अवस्था सिर्जना भएको हुन सक्ने उहाँको तर्क छ । मिटर ब्याजले परिवार समाज बिखण्डनको अवस्थामा जान सक्ने स्थिती पैदा भएको हुँदा सबै जिम्मेवार हुनुपर्ने प्रहरी प्रमुख वलीको आग्रह छ । समाजमा यिनै र यस्तै कारणले अपराध मौलाउँदै गएको उहाँको भनाई छ ।

 

Blog Post Ad Blog Post Ad