Ad Area

जवरजस्ती होली दल्नेलाई मुद्दा चलाइने


घोराही, २१ फागुन ।  फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन नेपाल प्रहरीले अनुरोध गरेको छ ।

होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो । होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । इच्छा विपरीत रङ्ग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने नेपाल प्रहरीका सहप्रवक्ता दिपेन्द्र जीसीले बताए ।

उनका अनुसार अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुने छ । यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन सकिने भएको छ ।

प्रहरीको १०० नम्बरमा फोन गर्दा पैसा नलाग्ने भएका यो नम्बरमा गुनासो आउने बित्तिकै सम्बन्धित ठाउँमा प्रहरी पुग्ने उनले बताए । यसैगरी होलीलाई लक्षित गरी भोलि ठाउँठाउँमा चेकपोइन्टहरु पनि राखिने, मोबाइल गस्ती बढाइने र सादा पोसाकमा समेत प्रहरी खटाइएने छ ।

मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको छ । पछिल्ला केही वर्षदेखि होली पर्व संयमित तरिकाले मनाउने गरेको पाइन्छ । तर, पनि सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गर्न लागेको हो । होली पहाडी जिल्लामा भोलि र तराईमा पर्सि मनाइँदैछ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad