Ad Area

बालकवि सुवेदीको ‘बाह्र वसन्तका पालुवाहरु’ विमोचन


घोराही, २४ फागुन । बालकवि लक्ष्मी सुवेदीको पहिलो कविता संग्रह ‘बाह्र वसन्तका पालुवाहरु’ विमोचन भएको छ । राप्ती साहित्य परिषद केन्द्रीय समितिको आयोजनामा बुधबार घोराहीमा परिषदका अध्यक्ष टीकाराम उदासी तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य एवम् प्रमुख जिल्ला अधिकाी सुशील वैद्यको विशिष्ट आतिथ्यमा बालकवि सुवेदीको कविता संग्रह विमोचन भएको हो ।

कृति विमोचन गर्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार शर्माले बालबालिकाहरुमा साहित्यको चेतना जाग्नु भनेको समाजका लागि आफ्नो योगदान के हो भनेर चिन्न सक्ने हुनुभएको बताउनुभयो । आज बालबालिकालाई समाज, राष्ट्र चिनाउन सकेमा भोलिका दिनमा उनीहरुको क्षेत्रबाट देशलाई माथि उठाउन योगदान गर्न सहज हुने उहाँको भनाई थियो ।

बालकविले कविता संग्रहमा उठान गरेको शिक्षा, स्वास्थ्य, समाज, आर्थिक, सांस्कृतिक विषयहरु समाजको ऐनाका रुपमा रहेको हुँदा बस्तुगत कुरालाई सबैले सकारात्मक रुपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । साहित्य आफैमा दर्शन भएको हुँदा बालबालिकाहरुलाई साहित्य बुझाउन सबैको उत्तिकै जिम्मेवारी रहेको बताउनुभयो ।

सो अवसरमा अग्रज साहित्यकारहरुले बालकविको कृति समाजको सत्य बोल्ने एक प्रतिबिम्बका रुपमा आएको बताउनुभयो । बाल मनोविज्ञानलाई शाब्दिक सौन्दर्यताका माध्यमबाट समाजको अथार्थता बोल्ने काममा बालकविले न्याय गरेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, परिषदका सल्लाहकार पुरुषोत्तम खनाल, साहित्यकार उत्तमकृष्ण मजगैयाँलगायतले बोल्नुभएको थियो । कृतिको समिक्षा साहित्यकार खेमराज शर्माले गर्नुभएको थियो ।

Blog Post Ad

कृतिको रचना गर्भका बारेमा जानकारी गराउँदै बालकवि सुवेदीले विद्यालयका शिक्षक, घरमा परिवार तथा साहित्यिक क्षेत्रका अग्रजहरुको साथ सहयोग अनि मार्ग निर्देशले कविता संग्रह तयार पार्न सफल भएको बताउनुभयो । आफुले रचना गरेको कविताहरुलाई संग्रह गरी कृतिका रुपमा तयार पार्न सहयोग गर्नुहुने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

समिक्षक शर्माले कृतिमा समावेश ८० वटा कविताहरु समाज प्रतिको कर्तव्य उजागर गर्दै ज्ञान र विज्ञानलाई जोड्ने प्रतिकका रुपमा रहेको बताउनुभयो । परिषदका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रमेश सुवेदीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad