Ad Area

नेपाली लेखक संघद्वारा साहित्यकार सुशील गौतमलाई अभिनन्दन


दाङ २७ फागुन । जीवनको उत्तरार्धमा साहित्यिक सिर्जनाका अनवरत स्रष्टा सुशील गौतमलाई अभिनन्दन गरिएको छ । नेपाली लेखक संघले शनिवार स्रष्टा गौतमकै आँगनमा नेपाली साहित्यमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै अभिनन्दन गरेको हो ।

नेपाली लेखक संघका अध्यक्ष डा हीमलाल पन्थीको अध्यक्षता तथा बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रम भएको थियो । गौतमका नेपाली, अंग्रेजी, हिन्दी भाषामा कविता, गीत एवम् गजल विधामा कृति प्रकाशित छन् । शारीरिक रूपमा अपाङ्गता भए पनि उनको बौद्धिक चेतनाको स्तर सवलाङ्गभन्दा निकै उच्च कोटीको रहेको हुँदा स्रष्टा गौतमको जीवनीबाट पाठ सिक्न आवश्यक रहेको स्रष्टा वक्ताहरूको जोड थियो ।

गौतम सबैको प्रेरणाका स्रोत भएको समेत वक्ताहरूको भनाइ थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार शर्माले गौतमको सोचेजस्तो जीवन नभए पनि भोगेको जीवनलाई आत्मसात गरेर करुण रसमा शब्दका विन्यासलाई सहज रूपमा पस्किएर साहित्यिक योगदान पु¥याएको चर्चा गरेका थिए । ‘जुन पीडाबोध र असहजता उहाँमा छ, त्यसलाई घटाउने क्षमता गौतमजीको शब्दभावमा कुँदिएका शब्दहरूमा स्पष्ट झल्किन्छ’, उनले भने ।

कार्यक्रममा कृतित्व र व्यक्तित्वका बारेमा कर्णाली प्रदेश संयोजक डा. कृष्णराज डिसीले चर्चा गर्दै स्रष्टा गौतमका कृतिमा मुख्य गरी करुण रस मिश्रित साहित्य सिर्जना भएको बताए । नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष लेखनाथ आचार्यले साहित्यमा शास्त्री एवम् अर्थशास्त्रमा स्नातकोत्तर उपाधि लिएका गौतमका मौलिक तथा अमौलिक गरी १५ वटा स्तरीय कृति–सन्तानका सर्जक रहेको बताए ।

कार्यक्रममा चन्द्रराज पन्त, माधव न्यौपाने, सुशील गौतम, पुरुषोत्तम खनाल, टीकाराम उदासी, उत्तमकृष्ण मजगैयाँ, शंकर पौडेल, डा. गोविन्द आचार्य, खगराज न्यौपाने, दीपक शर्मा समीरलगायतका स्रष्टाले गौतमको जीवनीको चर्चा गरेका थिए । अभिनन्दन समारोहमा स्रष्टा गौतमको छोरा किशोचन्द्र गौतमले परिवारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । उपाध्यक्ष हरि पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गोविन्द पौडेलले गरेका थिए ।

Blog Post Ad

Blog Post Ad Blog Post Ad