Ad Area

बढ्दो अपराध, छोरीहरु असुरक्षित


घोराही, ३ चैत । गएको फागुन २६ गते राती घोराही उपमहानगरपालिका–१७ मा २९ वर्षीया महिलामाथि सामुहिक बलात्कार भयो । आर्थिक अवस्था कमजोर भएपछि सडकमा मागेर जीविका चलाउँदै आएका दम्पती घोराही १७ बेलभारको चौतारामा राती सुतिरहेको समयमा श्रीमानमाथि कुटपिट गरेर श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बेलभारबाट २ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पीडित माहिलालाई युवकहरुले बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो । त्यसैगरी सोही दिन बंगलाचुली गाउँपालिका ४ मुलाबारीमा चार वर्षीया बालिकामाथि बलात्कार भयो । बंगलाचुली गाउँपालिका वडा नं. ८ मा सडक निर्माण सम्वन्धी काममा लेवरी काम गर्दै आएका घोराही १८ निवासी एक युवकले बालिकालाई ललाईफकाई गरेर बलात्कार गरेको निवेदन प्रहरीमा परेपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यी दुई जिल्लाका पछिल्ला प्रतिनिधिमुलक घट्नाहरु हुन । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङक अनुसार पछिल्लो समय समाजमा विभिन्न प्रकृतिका अपराधिक तथा यौनजन्य घट्नाहरु बढ्दै गएका छन । जिल्ला प्रहरी कार्यालयमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने पनि आपराधिक घट्नाहरु बढ्दै गएको देखिएको छ ।

बलात्कार, बलात्कार प्रयास, बहुविवाह तथा यौन हिंसालगायतका अपराधको संख्या बढ्दै गएको प्रहरीको तथ्याक छ । आर्थिक वर्ष २०७७–०७८ मा ८१ बलात्कारका घटनामा महिला तथा बालिका पीडित भएका थिए भने आर्थिक वर्ष २०७८–०७९ मा ८३ बलात्कारका घटना भएको प्रहरी तथ्यांक छ । त्यस्तै चालु आर्थिक वर्षको हालसम्म ४८ वटा बलात्कारका घटना भएका छन् ।

समाजमा मौलाउँदा अपराधले महिलाहरु सुरक्षित छैनन् भन्ने स्पष्ट संकेत देखाएको छ । प्रहरी कार्यालयको तथ्यांक अनुसार, यो आर्थिक वर्षको हालसम्म ४८ वटा बलात्कारका घटना भएका छन् । यो तथ्यांकले अहिलेपनि समाजमा महिलाहरुमाथि बलात्कार तथा यौन हिंसा हुने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बीरबहादुर वली बताउनुहुन्छ ।

‘महिलाहरुमाथि यौन हिंसा तथा बलात्कारका घट्ना हुने क्रममा रोकिएको छैन’,प्रहरी प्रमुख वलीले भन्नुभयो,‘विभिन्न बहानामा महिलामाथि बलात्कार तथा यौन शोषणका कार्यहरु भैरहेका छन् ।’ पछिल्लो ३ वर्षको तथ्यांकलाई हेर्दापनि पछिल्लो समय समाजमा बलात्कार तथा यौन हिंसाका घट्नाहरु रोकिन नसकेको उहाँ बताउनुहुन्छ । समाजमा सचेतनाका लागि विभिन्न कार्यक्रमहरु गर्नका साथै दोषीलाई कारवाही गर्ने गरिरहेपनि घट्नाहरु न्यूनीकरण हुन नसकेको उहाँ बताउनुहुन्छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad