Ad Area

कोठाभित्र निशास्सियर दंगीशरणमा एक महिलाको मृत्यु


तुलसीपुर ,३ चैत । दाङको दंगीशरणमा कोठामा लागेको आगोका कारण निशास्सियर मृत्यु भएको छ । जिल्लाको दंगीशरण गाउँपालिका ५ देबीगञ्जकी ४० बर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निशास्यिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता पर्वत केसीले जानकारी दिए ।

एक कोठे जस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने शिरक डसना आगो लागेको अवस्थामा फेला परेको हुँदा त्यही धुँवाका कारण निशास्सियर मुत्यु भएको अनुमान गरिएको प्रहरी निरीक्षक केसीले बताए । घर्तीको घर गाउँ भन्दा झन्डै एक डेढसय मिटर टाढा एकान्त स्थलमा रहेको र उनी एक्लै बस्दै आएकी थिइन ।

स्थानीयलाई बुझ्दा मृतकले संधै मापसे गर्ने र चुरोटपनि सेवन गर्ने गरेको भन्ने कुरा खुलेको हुँदा मापसे गरेको समयमा चुरोट खाएर ठूटो फाल्दा शिरक वा डसनामा परेपछि त्यहीबाट आगो सल्किएर कोठामा धुँवा भरिदा निशास्यिर मृत्यु भएको जस्तो अवस्था देखिएको प्रहरीले बताएको छ ।

घर्तीको शरिमा भने कतै जलेको वा पोलेको घाउखत भने नरहेको प्रहरीले जानकारी दिएको छ । भित्र चुक्कुल लगाइएको ढोका फोडेर हेर्दा उनी ढोका नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । स्थानीयका अनुसार एक बर्ष पहिला पार्वती र उनका श्रीमानको सम्बन्ध बिच्छेद भएको थियो ।

पार्वतीका तीन छोराहरु रहेपनि उनीहरु सबै ज्याला मजदुरीका लागि काठमाडौंमा रहेको हुँदा उनीहरु आएपछि मात्रै शबको पोष्टमार्टम हुने प्रहरीले जानकारी दिएको छ । छोराहरुलाई खबर भइ सकेको र छोराहरु आउन थालेको प्रहरीले बताएको छ । शब तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad