Ad Area

ज्ञानसिन्धु माविमा न्यायाधीश र विद्यार्थीबीच अन्तरसम्वाद


घोराही, ३ चैत । ज्ञानसिन्धु माध्यमिक विद्यालय घोराही दाङमा कानून विषय अध्ययन गरिरहेको विद्यार्थीहरुको लागि न्यायाधीश र विद्यार्थीबीच सम्वाद कार्यक्रम गरिएको छ ।

ज्ञानसिन्धु माविका प्राचार्य एवम् राप्ती शिक्षा क्याम्पस दाङका क्याम्पस प्रमुख हुकुम बुढाथोकीको अध्यक्षता तथा दाङ जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश कृपासुर कार्कीको प्रमुख आतिथ्यमा शुक्रबार अन्तर सम्वाद भएको हो ।

सो अवसरमा, न्यायाधीश कार्कीले मुलुकी देवानी संहिता, २०७४ मुलुकी देवानी कार्याविधि संहिता २०७४ मुलुकी अपराध संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ विद्युतीय कारोवार सम्बन्धी कसुर र सजाय (विद्युत कारोवार ऐन ) २०६३ का बारेमा आधारभूत जानकारी गराउनुभयो । यसैगरी, समाजमा बढ्दो अपराध रोकथामका लागि युवाहरु बढी सजग हुनुपर्ने र विद्यमान कानूनका बारेमा सचेतना फैलाउन लाग्नुपर्नेमा जोड दिनुभयो । युवाहरुमा बढ्दो लागु औषधको दुव्र्यसन नियन्त्रण गर्न लागु औषध (नियन्त्रण) ऐन, २०३३ मा भएका प्रावधानहरुको विषयमा प्रकाश पार्दै न्यायाधीश कार्कीले कसुर गरेर अपराधको भागीदार हुनुभन्दा समयमै सचेत भई सभ्य नागरिक बन्न सुझाव दिनुभयो ।

सहभागी विद्यार्थीहरुको जिज्ञासा मेटाउँदै उहाँले कुनै पनि भावनामा बगेर नभई सोच विचारका साथ सही गलत के हो भनेर छुट्याउन सकिएमा युवाहरु कुलत बाटो छोडर सहि मार्गमा हिड्न सफल हुने हुँदा भविष्य बोकेर अध्ययनमा लागेका हरेक विद्यार्थी आफ्नो कर्तव्यमा लाग्नु सचेत गराउनुभयो ।

कार्यक्रममा सहभागीको तर्फबाट कक्षा ११ मा अध्ययनरत पवित्रा तामाङले कानूनका बारेमा व्यहारिक ज्ञान दिने कार्यक्रम आगामी दिनमा पनि गर्न आग्रह गर्नुभयो । राप्ती शिक्षा क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशकुमार खड्का, विद्यालय कोर्डिनेटर तिलक अधिकारी र कानून संकायका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलगायतको सहभागिता थियो ।

कानून संकायको १२ कक्षामा अध्ययनरत देवी घर्र्ती मगरको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला अदालतका शाखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रकुमार शर्माले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad