Ad Area

प्रलेस दाङद्वारा चैत ३ को सम्झना


दाङ, ४ चैत । २०४६ सालको राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरूले चैत ३ गतेको सम्झना गरेका छन् । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले प्रजातन्त्र पुनःस्थापनाका लागि खेलेको भूमिकाको सम्झना गरेको हो ।

२०४६ साल चैत ३ गतेका दिन साहित्यकारहरूले व्यवस्थाको विरोधमा सडकमा आएर राजनीतिक आन्दोलनलाई अघि बढाउनका लागि योगदान गरेको सम्झनामा हरेक वर्ष चैतको ३ गते लेखक दिवस मनाउने गरिन्छ ।
प्रगतिशील लेखक संघ नेपाल दाङका अध्यक्ष भुवन देवकोटको अध्यक्षता एवम् प्रलेस केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यतामा शुक्रवार घोराहीमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै शर्माले साहित्यकारहरूले सत्ताको गडबडी बिरूद्ध जहिले पनि खबरदारी गरिरहनुपर्ने बताए । उनले राणा शासनको बिरूद्धमा लेखनीका माध्यमबाट खबरदारी गरेका साहित्यकारहरू पञ्चायती व्यवस्थाको बिरूद्ध सडकमा आएर संघर्ष गरेको बताए । २०४६ साल चैत ३ गतेका दिन युद्धप्रसाद मिश्र, पारिजात सत्यमोहन जोशी, शक्ति लम्साल, आनन्ददेव भट्टलगायत करिब दुई सय साहित्यकारहरू एकसाथ विरोधमा आएको स्मरण गर्दै शर्माले पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा बामपन्थी र प्रजातान्त्रिक आस्थाका लेखकहरू एकसाथ सडकमा आएको बताए ।

कार्यक्रममा बोल्दै राप्ती साहित्यपरिषद्का अध्यक्ष टीकाराम उदासीले चैत ३ गतेको दिन साहित्यकारहरूका लागि मात्रै नभएर नेपालको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक दिन भएको चर्चा गरे । उनले राजनीतिक दलहरूले गरेको आन्दोलनमा उभार नआइरहेको अवस्थामा साहित्यकारहरू सडकमा आएपछि आन्दोलनको रूप नै परिवर्तन भएको बताए । लेखक कलाकारहरू सडकमा आएपछि राज्य सञ्चालकहरू डराएको भन्दै उदासीले पञ्चायती व्यवस्थाको बिरूद्धमा लेखक साहित्यकारहरूले गरेको संघर्ष र योगदानलाई भुल्न नहुने चर्चा गरे ।

उनले बामपन्थी र प्रजातान्त्रिक शक्तिहरू मिलेर पञ्चायती व्यवस्थाको विरोधमा लागेको भए पनि त्यो आन्दोलनमा जनसहभागिता नबढिरहेको अवस्थामा साहित्यकारको सहभागिताले आन्दोलनमा उर्जा थपेको बताए । कार्यक्रममा प्रलेस दाङका पूर्व अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले नेपालको राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरूलाई राजनीतिक नेतृत्वले भुल्ने गरेको बताए । साहित्यकारहरूले दबाब र जागरणको अभियानलाई सधैँ अघि बढाइरहनुपर्ने उनले बताए ।

कार्यक्रममा यस्तै राप्ती साहित्यपरिषद्का पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, प्रलेस दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा, साहित्यकार तथा पत्रकार शारदा शर्मा, सुशीला आचार्य र रञ्जिता अधिकारीले विचार राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव डिल्ली बस्नेत संगीतले गरेका थिए ।

Blog Post Ad

प्रलेसले पारिजात र कृष्ण सेनलाई सम्झने

यसैबीच प्रलेस दाङको शुक्रवार घोराहीमा बसेको बैठकले आगामी बैशाखमा प्रगतिवादी साहित्यकार पारिजातको सम्झनामा तुलसीपुरमा कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्यक्रमका लागि सचिव डिल्ली बस्नेत संगीतलाई संयोजनको जिम्मेवारी दिइएको छ । यस्तै साहित्यकार तथा पत्रकार कृष्ण सेन इच्छुकको स्मृतिमा देउखुरीमा कार्यक्रम गर्ने निर्णय गरेको छ । आगामी जेठमा कार्यक्रम गर्ने र सो कार्यक्रमको संयोजकका रूपमा उपाध्यक्ष रेशम बिसीलाई चयन गरिएको छ । बैठक प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता एवम् केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यतामा बसेको थियो ।

Blog Post Ad Blog Post Ad