Ad Area

दाङबाट एसईई परीक्षामा १३४५२ विद्यार्थी सहभागी हुने


दाङ, ८ चैत । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दाङबाट करिब साढे १३ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।

जिल्लामा ग्रेट वृद्धिसहित सामुदायिक र संस्थागत विद्यालयबाट १३ हजार ४ सय ५२ जना परीक्षार्थीले एसईई परीक्षामा सहभागी हुन थालेका जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दाङले जनाएको छ । गत वर्षको तुलनामा करिब तीन सय जना बढी परीक्षार्थी परीक्षामा सहभागी हुन थालेका छन् । गत वर्ष जिल्लामा १३ हजार एक सय ५१ जना परीक्षाथीहरू एसइई परीक्षामा सहभागी भएका थिए ।

यस वर्ष एसईई परीक्षा यही चैत्र १७ गतेदेखि सञ्चालन हुन थालेको छ । दाङबाट परीक्षामा ७ हजार १ सय ६ जना छात्रा र ६ हजार ७ सय ४६ जना छात्र सहभागी हुन थालेका छन् । छात्रभन्दा छात्राको संख्या धेरै रहेको छ । परीक्षामा साधारण धारतर्फ ६ हजार ७ सय ६६ छात्रा रहेका छन् भने प्राविधिक धारतर्फ ३ सय ४० जना परीक्षार्थीले परीक्षा दिन थालेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख देवमणि चौधरीले जानकारी दिएका छन् ।

प्रमुख चौधरीका अनुसार ग्रेड वृद्धितर्फ १ सय ७४ जना छात्रा र १ सय १० जना छात्र गरी २ सय ८४ जना परीक्षार्थीले परीक्षा दिन थालेका छन् । परीक्षामा जिल्लाका १० वटा पालिकाका २ सय ३६ विद्यालयबाट परीक्षार्थीहरू सहभागी हुन थालेका छन् । जसमा सबैभन्दा धेरै परीक्षार्थी तुलसीपुर उपमहानगरपालिकाबाट एसइई परीक्षामा सहभागी हुन लागेका छन् ।

विगत वर्षहरूमा प्राविधिक धारतर्फका परीक्षार्थीहरूलाई जिल्ला सदरमुकाममा गएर परीक्षा दिनुपर्ने बाध्यता भए पनि यस वर्षबाट यो समस्या हटाइएको छ । यस पटक जुन विद्यालयमा प्राविधिक धारको पढाइ हुने गरेको छ त्यही विद्यालयका साधारण धारतर्फका परीक्षार्थी सरह नै एकै परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको प्रमुख चौधरीले बताएका छन् ।

‘प्राविधिक धारतर्फका परीक्षार्थीहरूलाई अघिल्लो वर्षसम्म पर्ने समस्यालाई यस पटक हटाएका छौँ । अब प्राविधिक धारतर्फका परीक्षार्थीहरू परीक्षा दिनका लागि सदरमुकामको केन्द्रमा आउनुपर्ने बाध्यता हटेको छ’, प्रमुख चौधरीले भने, ‘सम्बन्धित विद्यालयका साधारण धारतर्फका विद्यार्थीहरूले जुन परीक्षा केन्द्रबाट परीक्षा दिन्छन्, प्राविधिक धारतर्फका विद्यार्थीहरूले पनि त्यही परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएका छौँ ।’ केन्द्रको निर्देशनअनुसार जिल्लामा पनि व्यवस्था गरिएको उनले बताए ।

Blog Post Ad

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख चौधरीकाअनुसार यस वर्ष जिल्लाभर ४५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्रबाट आवश्यक उत्तरपुस्तिकालगायत सामग्री जिल्लामा आइसकेको समेत उनले बताएका छन् । ‘एसइई परीक्षाका लागि उत्तरपुस्तिकालगायतका सामग्रीहरू जिल्ला आइपुगेका छन्’, उनले भने, ‘अहिले हामी जिल्लामा कार्यालयको तर्फबाट गर्ने आन्तरिक तयारीमा लागिरहेका छौँ ।’

Blog Post Ad Blog Post Ad