Ad Area

विकट वडा नं. १९,जहाँ विद्युत,खानेपानीको सुविधा छैन


दाङ, १४ चैत । जिल्लाको सदरमुकाम घोराहीको मुख्य बजारदेखि ५, ६ किलोमिटर पार गएपछि उपहानगरभित्रको वडा नम्बर १९ सुरु हुन्छ । राज्य पुनर्संरचनाभन्दा अघि यो वडा सिङ्गो सैघा गाविसको रूपमा थियो । राज्यपुनर्संरचनामा यो वडालाई घोराही उपमहानगरपालिकामा राखियो र वडागत अंकगणितमा समेत १९ नम्बरमा राख्ने काम भयो । अंकगणितमा उपमहानगरका अन्य वडाभन्दा पछि राखेझैँ मानव सूचकाङ्कमा समेत त्यत्तिकै पछि छ । खानेपानी, विद्युत, शिक्षा र अन्य विकासका पूर्वाधारमा समेत यो वडा कमजोर छ । वडा घेराही उपमहानगरपालिकामा गाभिएपछि स्थानीय त्यो बेला खुसी भएका थिए ।

भौगोलिक विकटताका कारण वर्षौँदेखि समस्याका रूपमा रहेका सडक, खानेपानी, विद्युत, सञ्चार, स्वास्थ्य, शिक्षालगायतका समस्या हट्ने स्थानीयमा आशा थियो तर घोराही उपमहानगरबासी भएको ६ वर्ष बितिसक्दा पनि स्तरीय सडक बन्न सकेको छैन भने विद्युत पनि पुग्न सकेको छैन । न त खानेपानीको नै सुविधा नै त्यहाँका स्थानीयले पाउनसकेका छन् । आर्थिक रूपमा सम्पन्न हुने परिवारले सोलार राखे पनि कमजोर आर्थिक अवस्था भएका परिवार अहिले पनि तेलकै भरमा बत्ती बाल्ने गर्छन् ।

पाँचपोखरीको छेउमै दुई वर्ष अघि खानेपानीको टेङ्की बने पनि त्यहाँसम्म विद्युत नपुग्दा पानी नै संकलन हुन नसकेको स्थानीय निमबहादुर घर्तीले बताए । ‘उपमहानगरबासी भनेर के गर्ने ? गाउँमा बत्ती छैन, त्यसैले दुई वर्ष अघि बनेको खानेपानी टेङ्की अहिलेसम्म चलेकै छ्रैन’, उनले भने, ‘उपमहानगरपालिका बनेपछि सडक बन्छ, विद्युत आउँछ, खानेपानी आएर विकास हुन्छ भन्ने आश थियो तर दुई वर्ष अघि टेङ्की बने पनि अहिलेसम्म घरमा पानी आएको छैन, न त विद्युत नै ।’

गाउँमा बत्ती नआएपछि अन्य गाउँको बत्ती हेरेर रात काट्नुपर्ने बाध्यता गाउँलेमा छ । वडाकै अर्काे बस्ती लिथानको अवस्था पनि त्यस्तै छ । लिथाङ प्यूठान र रोल्पाको सीमा नजिकको बस्ती हो ।
उपमहानगरपालिकाभित्र पर्ने बस्ती भए पनि गाउँमा मोटर बाटो, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्यलगायतको सुविधा नभएको स्थानीय पञ्चराम बुढा बताउँछन् । गाउँमा विकास र नेता चुनावको समयमा मात्र आउने गरेको उनको गुनासो छ ।

‘गाउँमा नेता आउने भनेको चुनावताका मात्रै हो, तिनै नेताले आपूmलाई जिताए गाउँमा विकास गर्ने वाचा गर्नुहुन्छ’, उनले भने, ‘चुनाव सकिएपछि भने नेता गाउँ फर्किन्नन् अनि विकास कसरी हुन्छ ?’ उनकाअनुसार स्थानीयलाई स्वास्थ्य सेवा लिन समेत दुईघण्टा लाग्छ । ‘सैघामा स्वास्थ्य चौकी छ तर जानलाई दुई घण्टा लाग्छ । त्यसैमाथि गतिलो बाटो पनि छैन’, उनले भने, ‘राम्रो बाटो भए त अटो आउने थियो, त्यै पनि छैन ।’ स्वास्थ्यचौकीबाट आधारभूत स्वास्थ्य सेवासँगै बर्थिङ सेण्टरको व्यवस्था छ तर एम्बुलेन्स सेवा छैन ।

बिरामीसँगै सुत्केरी महिलालाई बोकेर स्वास्थ्यचौकीसम्म लाग्नुपर्ने बाध्यता रहेको पाँचपोखरी निवासी रामकुमार पुन बताउँछन् । ‘नजिकको स्वास्थ्य संस्था भनेको सैघा स्वास्थ्यचौकी हो । तर स्वास्थ्यचौकीमा एम्बुलेन्स छैन’, उनले भने, ‘टाढा भएकाले बिरामी हिडेर जाने सक्नुहुन्न, बिरामीलाई बोकेर स्वास्थ्यचौकी लग्नुपर्ने बाध्यता छ ।’ पहाडी क्षेत्रका बाटोहरू समयमा मर्मतसम्हार नहुँदा थप समस्या हुने गरेको उनले बताए ।

Blog Post Ad

पाँचपोखरी र लिथान उदाहरणका रूपमा रहेका बस्तीहरू हुन् । वडा नं. १९ का धेरै बस्तीहरूमा अहिले पनि आधारभूत स्वास्थ्य सेवाका रूपमा रहेको सडक, खानेपानी, विद्युतलगायतका सेवाहरू पुग्न सकेको छैनन् ।

भौगोलिक रूपमा विकट क्षेत्रमा रहेको जनतालाई विकासका सेवासुविधाहरू पु¥याउन सके उपममहानगरपालिका भएको अनुभूति हुने उनी बताउँछन् । साविकको सैघा गाविस उपमहानगरपालिकामा गाभिएसँगै जनताले अपेक्षा गरेअनुसार परिवर्तनको महसुस नभए पनि भौगोलिक विकटताअनुसार विकास निर्माणका कामहरू थोरै मात्रामा भएको वडा नं.१९ भगवती माध्यमिक विद्यालय होडबाङका प्रधानाध्याक देवीबहादुर घर्ती मगर बताउँछन् ।

करिब ६ वर्षको अवधिमा सडक निर्माणसँगै घोराहीबाट वडा कार्यालयसम्म विद्युत पुगेको उनी बताउँछन् । ‘उपमहानगरबासी भए पनि जनताले दैनिक जीवनमा परिवर्तनको महसुस गर्ने गरी विकास निर्माणका काम भएका छैनन्’, प्राधानाध्यापक मगरले भने, ‘तर भौगोलिक विकटताका कारण सबै ठाउँमा विकास निर्माणका काम पुग्नसकेको छैन, यो यथार्थ हो तर वडालाई घोराहीसँग जोड्ने घोराही–मसिना हुँदै सैघा जोड्ने मुख्य सडक निर्माणसँगै गाउँ–गाउँमा सडकको ट्रयाक खन्ने काम भएको छ ।’

वडाबासीहरू अहिले पनि स्वास्थ्य, शिक्षा, विद्युत, खानेपानीलगायतका समस्या भने हट्न सकेको छैन । ‘अहिले पनि गाउँघरमा खानेपानीको स्रोत छैन । भएका ठाउँमा विद्युत नहँुदा निर्माण भएका खानेपानी सञ्चालनमा आउन सकेका छैनन्’, उनले भने, ‘भरपर्दाे स्वास्थ्य सेवा आवश्यक छ । माध्यमिक तह पास गरेपछि गाउँमै पढ्नका लागि विद्यार्थीहरूलाई स्कूल छैनन् ।’

Blog Post Ad Blog Post Ad