Ad Area

दाङमा यो वर्ष ८ सय ३७ वटा विपदजन्य घटना, करोडौँको क्षति


घोराही, २४ चैत । दाङमा पछिल्लो १२ महिनामा विपदजन्य घटनामा परी ठूलो क्षति भएको छ । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङका अनुसार, आगलागी, हावाहुरी, बाढी, पहिरो, भारी वर्षा, पानीमा डुबेर, पानीले बगाएर, चट्याङ आदि कारणले मानवीय क्षति भएको छ ।
विपदका कारण करोडौँको भौतिक तथा आर्थिक क्षति पनि भएको छ । विपदमा परेर थुप्रै परिवार विस्थापित भएका छन् । दाङमा हालसम्म भारी वर्षा र आगलागीका कारण क्षति भएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका होमलाल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लामा १२ महिनाको हालसम्म ८ सय ३७ वटा विपदजन्य घटना भएका छन् ।
उहाँले बैशाखदेखि चैत २३ गतेसम्म आगलागीका ५८ वटा घटना भएको बताउनुभयो । बैशाखमा १९ वटा, जेठमा ३ वटा, साउनमा ३ वटा, भदौमा २ वटा, असोजमा १ वटा, कार्तिकमा ३ वटा, मंसीरमा ५ वटा र चैतमा ३ वटा आगलागीका घटना हुँदा सयौँ परिवार बिस्थापित भएका छन् । आगलागीमा परेर मानवीय क्षति भने भएको छैन ।
जिल्लामा भारी वर्षाको सबैभन्दा बढी घटना भएको छ । केन्द्रका न्यौपानेका अनुसार, भारी वर्षाका कारण असारमा ४, साउनमा ३, भदौमा ३८, असोजमा ३ सय ८६, कार्तिकमा ५ वटा घटना भएका छन् । जिल्लामा हालसम्म चट्याङका ६ वटा घटना भएको छ । बाढीपहिरोका ३ सय ७ वटा घटना भएका छन् ।
करेन्ट लागेर ६ वटा, पानीमा डुबेर तथा बगाएर १२ वटा घटना भएका छन् । जिल्लामा सर्पदंशका ३ वटा घटना तथा भूकम्पका २ वटा घटना भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रको तथ्यांकमा उल्लेख छ । जिल्लामा बैशाखदेखि चैतको २३ गतेसम्म विभिन्न प्रकृतिका विपदजन्य घटनाका कारण करीव १९ करोड ५० लाख ५८ हजार बराबरको आर्थिक क्षति भएको छ ।
जिल्लामा भएको विपदजन्य घटनाका कारण ४ हजार २ सय ३७ परिवार विस्थापित हुन पुगेको जिल्ला विपद व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो । ‘जिल्लामा विपदका घटना सकेसम्म न्यूनीकरणको प्रयास भईरहेको छ, यसका लागि सबै पालिकाहरुमा भइरहेका प्रयासका बारेमा जानकारी लिने र थप तयारीमा जुट्न अपिल गरेका छौँ’ प्रमुख जिल्ला अधिकारी वैद्यले भन्नुभयो ‘जिल्लाको भूगोल ठूलो छ, गाउँपालिकाहरुले अपेक्षाकृत तयारी कम गरेको पाईएको छ, त्यसका लागि सचेत गराउने काम भएको छ ।’
उहाँले जिल्लामा कुनै पनि दुर्घटना सकेसम्म कम होस् भन्नका लागि सरोकारवालाहरुसँग आवश्यक समन्वय गरी पूर्व तयारीका कार्यक्रम, सचेतनामूलक अभियान पनि चलाउँदै आएको बताउनुभयो । ‘जिल्लाबाट हामीले दश वटै पालिकाहरुमा कसरी काम भईरहेको छ भनेर जानकारी लिने गरेका छौँ, प्रयास राम्रो भए निरन्तरता दिन भनेका छौँ’, उहाँले भन्नुभयो, ‘अपेक्षा अनुसार उपलब्धी नभए कारण पहिचान गर्दै गम्भीरतापूर्वक लाग्न लगाएका छौँ ।’
जिल्लाको उपमहानगरपालिका, नगरपालिकाले विपदजन्य घटना न्यूनीकरणका लागि पूर्व तयारी गरेपनि गाउँपालिकास्तरमा तयारी कमजोर देखिएको प्रमुख जिल्ला अधिकारी वैद्यले बताउनुभयो । ‘पालिकास्तरमा सरोकारवालाहरुसँग समन्वय गरेर विपद पूर्व तयारी गर्न भन्दै आएका छौँ, केही ठाउँमा भएको पनि छ तर, उपमहानगरपालिका र गाउँपालिकास्तरमा विपदपूर्व तयारी फितलो भएको पाईएको छ, तयारीमा चाँडो जुट्न सचेत गराएका छौँ’, उहाँले भन्नुभयो ।
यसैबीच, जिल्ला विपद व्यवस्थापन समितिको बैठकले गर्मी मौसम शुरु भएको हुँदा आगलागीका घटनाहरु हुने सम्भावनालाई मध्यनजर गर्दै जोखिमबाट बच्न, बचाउन तथा नियन्त्रणका लागि पूर्व तयारी स्वरुप पालिका स्तरमा विभिन्न गतिविधिहरु संचालन गर्ने निर्णय गरेको छ ।
विपद व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतमा बिहीबार बसेको पालिका स्रतको फोकल पर्सनहरु बीचको बैठकले पालिकाका सबै वडा क्षेत्रहरुमा आगलागी तथा वन डढेलोका घटना भएमा तत्कालै स्थानीय आपतकालीन कार्य संचालन केन्द्रहरुले जिल्ला आपतकालीन कार्य संचालन केन्द्रमा सूचना दिई नजिकका सुरक्षा निकायसंग समन्वय गरि नियन्त्रण गर्ने निर्णय गरेको छ ।
यसैगरी, विपद नियन्त्रण कार्य योजनाको आधारमा सबै स्थानीय तहहरुले आगलागीको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न भाषामा जनचेतनामुलक सन्देश तयार गरी प्रकाशन तथा प्रशारण गरि जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमा जानकारी गराउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो ।
बैठकले पालिकामा रहेका दमकल, साथै अग्नि नियन्त्रणका सामग्रीहरु तयारी अवस्थामा राख्ने र उद्धारमा प्रयोग हुने सामग्रीहरुको अभिलेख अध्यावधिक गरि जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रमा पठाउने निर्णय गरेको बताउनुभयो । आजको बैठकमा जिल्लाका गढवा र दंगीशरण गाउँपालिकाबाहेक ८ वटै पालिकाका जनप्रतिनिधि, फोकल पर्सन, जिल्ला विपद व्यवस्थापन समिति सदस्यहरुको उपस्थिती रहेको थियो ।

गर्मी मौसम शुरुभएसँगै केही दिनयता जिल्लामा आगलागीको जोखिम बढेको छ । जिल्लाको पश्चिम दाङ, देउखुरी क्षेत्रका सामुदायिक वन तथा सार्वजनिक स्थलमा आगलागीका घटना भईरहेका छन् । वन डढेलो नियन्त्रण तथा रोकथामका लागि डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय, सामुदायिक वन समुहलगायतको सक्रियता रहेको छ ।

Blog Post Ad Blog Post Ad