Ad Area

ग्रासरुटबाट दक्ष खेलाडी उत्पादनमा अग्रसर ‘नवलपुर फुटबल एकेडेमी’


घोराही, २५ चैत । निगम छन्तेल उमेरले ९ वर्षको हुनुभयो । निगम बिहान ६ बज्न नपाउँदै घोराही १८ स्थित नवलपुर फुटबल मैदानमा दैनिक पुग्ने गर्नुभएको छ । कक्षा ४ मा अध्ययनरत निगम फुटबल बुट बोकेर फुटबल मैदानमा धाउन थालेको एक वर्ष भइसक्यो । लियोनल मेस्सीको फ्यान बताउने निगमले बितेको एक वर्षमा फुटबल खेल्दा अपनाउनु पर्ने आधारभूत नियमका साथै खेल अनुशासन सिक्न भ्याउनुभएको छ । उहाँलाई फुटबलमा स्ट्राईकर खेल्न मनपर्छ ।

उहाँँसगै घोराही १५ तुलसीपुर चोकका आश्रयजंग श्रेष्ठले नवलपुर फुटबल मैदानमा पुगेर दैनिक अभ्यास गर्न थालेको धेरै भई सकेको छ । कुनै दिन अभ्यासका लागि जान नपाउँदा उहाँलाई नियास्रो लाग्छ । दैनिक अभ्यासले आफुलाई निकै फाईदा पुगेको आश्रयजंगको भनाई छ ।
घोराही १८ नवलपुरका १२ वर्षीय गौरव पुनलाई पोर्चुगलका स्ट्राईकर क्रिश्टियानो रोनाल्डोको खेल निकै मन पर्छ । रोनाल्डोले फुटबल खेलेको देखेर आफु पनि त्यस्तै खेलाडी बन्न पाए हुन्थ्यो भन्ने सोँचलाई पूरा गर्ने संकल्पका साथ डेढ वर्षयता नवलपुर फुटबल एकेडेमीमा सामेल भई प्रशिक्षण गर्दै आउनुभएको छ । भोलि देशको राष्ट्रिय टीमबाट खेल्ने गौरवको धोको छ ।

सिस्नेखोला बस्दै आउनुभएका धरम केसी पनि हरेक दिन बिहान फुटबल अभ्यासका लागि नवलपुर पुग्ने गर्नुभएको छ । हरेक दिन फुटबलको बारेमा सैद्धान्तिक ज्ञान लिएपछि व्यवहारिक अभ्यास गर्दा धेरै कुरा सिक्न पाएको घरमको भनाई छ । उहाँ ब्राजिलका स्टार खेलाडी नेयमार जुनियरलाई आफ्नो आईडल मान्दै आउनुभएको छ । नेयमारको खेल हेरेर हुर्किरहनुभएका धरमले भोलि देशकै लागि खेल्ने संकल्पका साथ दैनिक अभ्यास गर्दै आउनुभएको छ ।

खुट्टामा फुटबल जुत्ता, फुटबलकै ड्रेस लगाएका ८ वर्षदेखि १४ वर्षसम्मका साना बाबुहरु चौरमा फुटबल खेलमा हरेक बिहान खेलमा व्यस्त हुन्छन् । निकै मेहनत गर्छन्, शरीरबाट पसिना निकाल्छन् । उनीहरुले फुटबलका विभिन्न सीप सिकिरहेका छन् । रामेछाप स्थायी घर भएका घोराही १५ बस्दै आउनुभएका १४ वर्षीय सुजन तामाङले नवलपुर फुटबल एकेडेमीबाट सिक्न थालेको २ वर्षभन्दा बढी भईसकेको छ । सुजनले अहिले फुटबलको बारेमा धेरै कुरा जान्न र सिक्न पाउनुभएको छ । दुई वर्षअघि फुटबलको बारेमा सामान्य जानकारी भएपनि अहिले फुटबलको धेरै कुराबारे सिक्ने मौका मिलाई दिएको छ, नवलपुर फुटबल एकेडेमीले ।

Blog Post Ad

समिउल श्रेष्ठ, कृष केसीलगायत थुप्रै साना बालकहरु हरेक दिन फुटबल प्रशिक्षणमा तल्लीन भएको देख्दा भोलिका स्टार खेलाडी उत्पादन हुने आधार तय भईरहेको आभाष हुने गरेको छ ।

समाजमा धेरै जसो किशोर उमेरका बालबालिकाहरु गलत संगतमा फस्ने, कुलतमा लाग्ने, अनावश्यक गतिविधि गरेर भविष्य बिगार्ने काममा लागि रहँदा सुजन जस्तै सयौँ बालबालिकाहरु आफ्नो स्वास्थ्य र भविष्यका बारेमा सानै उमेरबाट सोँच्ने भएका छन् । एकेडेमीमा आवद्ध भएका थुप्रै बालबालिकाहरु हरेक दिन प्रशिक्षणमा पुग्दा उनीहरुका अभिभावकले खेल मैदानसम्म पुर्याउने काम गर्दै आएका छन् । खेलमा सानैबाट लाग्न प्रेरित गर्न, मानसिक, शारीरिक रुपमा स्वस्थ राख्न फुटबल प्रशिक्षणमा लैजाने गरेको एक अभिभावकले बताउनुभयो ।

घरामा रहँदा मोबाइलमा झुन्डिएर समय बिताउने, गलत संगतका कारण कुलतमा फस्ने डरमा रहने गरेका अभिभावकहरु अहिले आफ्नो सन्तानलाई नवलपुर फुटबल एकेडेमीमा पठाउन थालेपछि ढुक्क भएका छन् । नवलपुर फुटबल एकेडेमीले सानै उमेरबाट खेलमा लाग्न, खेलसँगै व्यवहारिक अनुशासन सिकाउन थालेपछि बालबच्चाहरु अरुको खराब संगतमा लागेर बिग्रने हुन् की भन्ने डर हटेको तथा फुटबल सिकेर भोलिका दिनमा देशका लागि खेल्ने खेलाडी बन्न सक्ने सम्भावना रहेको हुँदा आफुहरु ढुक्क भएको नवलपुरका भीमबहादुर छन्तेलले बताउनुभयो ।

आफ्ना बाबुहरू फुटबलमा रमाएको देख्दा अभिभावक पनि खुसी देखिएका छन् । ‘बिदाको समय होस् या अरु दिनमा सधैँ मोबाइलमा झुन्डिएर बस्दा बाबुहरूको स्वास्थ्यमै असर पर्ने सम्भावना रहन्छ,’ अर्का एक अभिभावकले भन्नुभयो, ‘यहाँ फुटबल सीप मात्रै सिक्ने अवसर पाएका छैनन्, यसबाट उनीहरू शारीरिक र मानसिक रूपमा पनि बलिया भईरहेका छन् । फुटबल प्रति उनीहरुको चासो निकै बढेको छ भने पढाईमा पनि लगावका साथ समय दिने गरेका छन् ।’

नवलपुर फुटबल एकेडेमीले २०७६ सालबाट उमेर समुहका बालकहरुलाई प्रशिक्षण गराउँदै आएको छ । एकेडेमीको सिमित श्रोतसाधनबाट पनि धेरै कुरा सम्भव गराउँदै आउनुभएका एकेडेमीका अध्यक्ष एवम् प्रशिक्षक दीपक पुनले सय भन्दा बढीलाई प्रशिक्षण दिएको बताउनुभयो । उहाँले शुरुवाती कालमा निशुल्क रुपमा प्रशिक्षण दिदै आउनुभएको थियो । पछि, कोरोना महामारी आदि कारणले फुटबल सामग्री खरीद तथा आवश्यक सामान खरी दगर्न पनि समस्या हुन थालेपछि अहिले एक जना प्रशिक्षार्थी बराबर वर्षको १ हजार रुपैयाँमा प्रशिक्षण गराउने गरिएको छ ।

उक्त रकम पनि उनीहरुकै खेल सामग्रीमा खर्च गर्ने गरिएको प्रशिक्षक पुनले बताउनुभयो । ‘महिनामा ८४ रुपैयाँ पनि शुल्क लिने गरिएको छैन, सस्तोमा प्रशिक्षण दिने काम गर्दै आएको छु’, प्रशिक्षक पुनले भन्नुभयो, ‘उमेर समुहबाटै दक्ष खेलाडी उत्पादन हुन सकून्, बालबालिकाहरु कुलतमा फसेर भविष्य अन्धकार हुनबाट बचून् भनेर स्वयंसेवकको रुपमा आफुले सिकेको, जानेको कुरा सिकाउने गरेको छु, फुटबल प्रति पछिल्लो समय साना बाबुहरु र अभिभावकहरुपनि सकारात्मक हुन लाग्नुभएको छ ।’

उहाँले ८ वर्षदेखि १४ वर्ष उमेर समुहका बाबुहरुलाई विशेष रुपमा प्रशिक्षण दिदै आउनुभएको छ । यसअघि प्रशिक्षणमा आईरहेका केही २१ वर्षसम्मका छन् । नवलपुर फुटबल एकेडेमीमार्फत प्रशिक्षण दिनथालेपछि फुटबल प्रति अहिले धेरैको ध्यान तानिएको छ । एकेडेमीले चालेको कदम जस्तै कम्तिमा हरेक वडामा एक वटा फुटबल एकेडेमी आवश्यक रहको उहाँको भनाई छ । स्वस्थ नागरिक उत्पादनसँगै देशको पहिचान विश्वस्तरमा पुर्याउन भूमिका खेल्ने खेलाडी उत्पादनमा राज्यको लगानी निकै निराशाजनक रहेको प्रशिक्षक पुनको भनाई छ ।

‘ग्रासरुटमा राम्रो प्रशिक्षण दिन सकियो भने मात्रै राम्रा खेलाडी उत्पादन गर्न सकिन्छ,’ प्रशिक्षक पुनले भन्नुभयो, ‘हामीले त्यही उद्देश्यले प्रशिक्षणलाई निरन्तरता दिएका छौँ, यसै गरी सबै ठाउँमा नियमित प्रशिक्षण हुन सके कति राम्रो हुन्थ्यो, तर राज्यको लगानी अरु तिरै छ, यसतर्फ ध्यान दिन आग्रह गर्दछु ।’

जसो जसो बनाइएको नवलपुर फुटबल मैदान बाह्रै महिना खेल्न मिल्दैन । त्यसको उस्तै समस्या छ । खेल मैदान भरपर्दो नहुँदा पनि आफुले भ्याएसम्म सहयोगी गुहारेर, कसैको व्यक्तिगत सहयोगबाट भएपनि अहिलेसम्म एकेडेमीबाट प्रशिक्षण गराउँदै आएको पुनले बताउनुभयो । उहाँलाई अष्ट्रेलियाबाट सुवास श्रेष्ठ, युकेबाट जंगबहादुर पुन मगरबाट बेला बेलामा सहयोग हुने गरेको छ । अरु बेला साथीभाइले पनि सहयोग गर्ने गरेका छन् भने अरु समयमा आफै खर्च व्यहोर्दै आउनुभएको छ ।

‘खेल्न उपयोगी खेलमैदान अभाव छ । यही फुटबल मैदानमा पालिकाले आफै पनि विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ तर स्तरवृद्धिका लागि चासो लिएको छैन, वर्षामा हिलो र हिउँदमा धुलो, साना गिट्टीले भरिएको हुन्छ त्यसलाई सुधार गर्न कुनै निकायले ध्यान दिदैनन् । हामीले फुटबल मैदानको स्तरवृद्धिका लागि दाता खोज्दा पनि विभिन्न बहानामा काम हुन नदिँदा मैदान जस्ताको तस्तै छ’, उहाँले भन्नुभयो ।

फुटबलको समग्र विकासका लागि उमेर समुहबाटै खेलाडी उत्पादन आवश्यक छ । यसका लागि खेलकुदका क्षेत्रमा काम गर्दै आएका निकाय र राज्यको नजर अझै पुग्न सकेको छैन । दक्ष खेलाडी उत्पादनमा ध्यान नदिने अनि नतिजा राम्रो खोज्ने परिपाटीले नेपालमा फुटबलको विकास सोँचे अनुरुप हुन सकेको छैन ।

खेलका लागी तालिम दिने तथा बेला बेलामा आयोजना हुने फुटबल मैदानको राम्रो मैदान नहुँदा पनि समस्या हुने गरेको उहाँको भनाई छ । कमजोर खेल संरचनालाई बलियो बनाउन र खेलकुदको समग्र विकासका लागि स्थानीय स्तरमा पालिकाहरुले पनि प्रयास गर्न सक्ने हुँदा सबै प्रकारका खेलकुदको विकासमा लगानी गर्न सके राम्रो हुने उहाँको सुझाव छ ।

Blog Post Ad Blog Post Ad