Ad Area

जोखिम जोलेर गाउँगाउँमा सेवा प्रदान गर्दै आत्मनिर्भर लुघवित्त


घोराही, १ बैशाख । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धन आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मिरा चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो ।

सो अवसरमा प्रमुख अतिथि पाण्डेले लघुवित्त संस्थाहरुले धेरै नागरिकहरुको जीवन परिवर्तन सम्भव भएको बताउनुभयो । सीप सिकाउने, उद्यमशील बनाउनेदेखि आत्मनिर्भरको बाटोमा लाग्नका लागि हौसला प्रदान गर्दै सहुलियतमा आर्थिक सहजीकरण गरेर समग्र राष्ट्रको हीतका पक्षमा काम गर्दै आएको बताउनुभयो । आत्मनिर्भर लघुवित्तले दाङसहित अन्य जिल्लाहरुका प्रदान गर्दै आएको सेवाबाट धेरैले आर्थिक तथा सामाजिक रुपमा प्रगति हासिल गरेको भन्दै आगामी दिनमा वित्तीय अनुशासनसहितको सेवाको दायरा अझ बढाउन सुझाव दिनुभयो ।

केही समययता अधिकांश गतिविधि यर्थाथताभन्दा बाहिर गएर संचालित हुँदै गएको तर्फ उहाँको ध्यानाकर्षण थियो । ‘धेरै जसो कामहरु हावाको भरमा भईरहेका छन् । कसैले केही भन्यो भने के कति कारणले भएको हो, किन भएको हो, त्यसको साधीखोजी नगरी लहडका भरमा पछि लागेर धारणा बनाउने परिपाटी हुँदै गएको छ, यो अत्यन्तै गलत छ’ उहाँले भन्नुभयो ‘समाज कतातिर जाँदैछ भन्ने बारेमा राज्य गम्भीर हुन जरुरी छ । गाउँघरमा पुगेर जनताको जीवन उकास्न राज्यको अधिनमा रही लघुवित्त संस्थाले प्रदान गर्दै आएको योगदानको मुल्यांकन हुन जरुरी छ ।’

लघु वित्तीय संस्थाहरुको योगदानले धेरैलाई आर्थिक कृयाकलापमा सहयोग पुगेको बताउनुभयो । ‘लघु वित्तीय संस्थाबाट नागरिहरुले घर मै ऋण पाउने गर्नुभएको छ यसले उद्यमी बन्न सहयोग पुगेको छ’ अध्यक्ष पाण्डेले भन्नुभयो ‘नागरिकहरुलाई राज्यको तर्फवाट गर्नुपर्ने सहयोग लघुवित्तीय संस्थाबाट भएको छ भन्ने बुझाउन लाग्नुपर्छ ।’ कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरीले आत्मनिर्भर लघुवित्त नाफाको दृष्टिले नभई सेवाभावले खोलिएको संस्था भएको बताउनुभयोे । सरकारको नीति कार्यक्रम अनुसार प्रकृयामा लगिएको बताउँदै आत्मनिर्भर लघुवित्त जनताको सेवामा समर्पित रहेको जिकिर गर्नुभयो । राज्यको नियममा रही वित्तीय कारोबार गरेर ३ करोड ५३ लाख राजश्व दाखिला गरेको वित्तीय संस्थातर्फ सबैभन्दा बढी राजश्व दाखिला गर्ने संस्थाका रुपमा घोषित भएको बताउनुभयो ।

वडा नम्बर १३ का अध्यक्ष डुल्लुराम पोख्रेलले उद्यमी उत्पादन गर्न, उत्पादित बस्तुको बजारीकरणमा सहजीकरण गर्न, आयआर्जनमा गाउँ बस्तीका नागरिकलाई सचेतना प्रदान गर्ने काममा खटिन सुझाव दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्षद्वय सन्तोष सुवेदी, बसुन्धरा गौतम, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले छरिएर रहेको पूँजी संकलन गरेर आर्थिक व्यवस्थापनका माध्यमबाट समाजको हीतमा काम गर्दै आएको लघुवित्तलाई राज्यले उचित रुपमा सम्बोधन गर्न नसकेको बताउनुभयो । सरकारको नीति, नियमभित्र रही आफ्नो काम गर्दै आएको हुँदा नागरिकमा अहिलेको समयमा केहीले अवान्छित गतिविधि गरेर लघुवित्त संस्थाका बारेमा गलत प्रचार गरिएको हुँदा सही सत्य बुझेर धारणा बनाउन आग्रह गर्नुभयो ।

२०७६ बैशाख २ देखि वित्तीय कार्यक्रम थालनी गरेको आत्मनिर्भरले हाल दाङ बाँके, बर्दिया सल्यानबाट ५० हजार बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको अनुगमन अधिकृत निर्मल चौधरीले जानकारी गराउनुभयो । १० अर्ब ६० करोड पाँच लाख पूँजी रहेको संस्थाको ३८ हजार १ सय ५७ वचतकर्ता रहेको, १६ हजार ९५ जना ऋणी रहेको तथा शेयरपूँजी ४ करोड २० लाखबाट बढेर ६ करोड ३८ लाख पुगेको बताउनुभयो ।

Blog Post Ad

१ अर्ब ३२ करोड ८३ लाख बजारमा कुल ऋण लगानी गरिएको जानकारी गराउँदै १३ करोड ७९ लाख ५८ हजार ऋण प्रवाह भएकोमा लघुवित्त विरुद्ध संघर्ष समितिबाट प्रभावित कर्जा ८ करोड २२ लाख रहेको जानकारी गराउनुभयो । संस्थाको अधिकृत पूँजी ८ करोड र जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रहेको छ ।

लगानी जोखिम बढ्दो, तरलता जोखिम, बजार जोखिम, राष्ट्र बैंकको जोखिम, संचालन जोखिम बढ्दो अवस्थाले लघुवित्त संस्था संचालनमा समस्या प्रति राज्यको ध्यान जानुपर्नेमा साधारण सभाको अपिल छ । शेयर सदस्य मिना गिरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण कालीदास चौधरीले गर्नुभएको थियो ।

२०५१ सालमा आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पनाका साथ स्थापना भई ग्रामीण महिला उत्थान केन्द्रले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आउने क्रममा व्यक्ति र परिवारको आर्थिक विकासका लागि २०६० सालमा नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थता सम्बन्धी ऐन २०५५ अनुसार वित्तीय कारोवार गर्ने इजाजतपत्र प्राप्त गरी लघुवित्त कार्यक्रम संचालन गर्ने सामाजिक संस्थाको रुपमा स्थापित भएको हो ।

विपन्न समूदायका परिवारहरुको आर्थिक शसक्तिकरण गर्नका लागि महिला सदस्यहरुलाई समूहमा आवद्ध गरी लघुवित्त सेवा प्रवाह गरी रहेको क्रममा देशको परिवर्तित निति अनुरुप नेपाल राष्ट्र बैंकले लघुवित्त कारोवार गर्ने गैर सरकारी संस्थाहरुलाई कम्पनी ऐनमा व्यवस्था भए अनुरूप बैंक तथा वित्तीय संस्था सम्वन्धी २०७३ अन्तरगत ग्रामीण महिला उत्थान केन्द्र प्रवन्धक रहने गरी २०७६ वैशाख २ गते लुम्बिनी प्रदेश स्तरीय घ वर्गको लघुवित्त वित्तीय संस्था स्थापना भई आत्मनिर्भरलुघवित्त वित्तीय संस्था संचालनमा रहेको छ ।

Blog Post Ad Blog Post Ad