Ad Area

संस्कृत विद्या वैज्ञानिक रहेको महासचिव वैद्यको जिकिर


घोराही, १ बैशाख । नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्यले आदर्शवाद र भौतिकवादको विषयमा चर्चा भईरहँदा संस्कृत विज्ञानले अघि सारेका विषयहरु वैज्ञानिक रहेको बताउनुभएको छ ।

आफ्नी आमा जानका वैद्य पोख्रेलको शत वर्ष प्रवेशको अवसरमा आयोजित अभिनन्दन कार्यक्रमलाई शुक्रबार घोराहीमा सम्बोधन गर्दै उहाँले संस्कृत विद्याका बारेमा बुझाई स्पष्ट नहुँदा धेरैलाई कर्मकाण्डी भन्ने भ्रम रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘संस्कृत विद्याभन्दा सबै कर्मकाण्डी भन्ने भ्रम छ । यो अकाट्य कर्मकाण्डा हो भन्ने बुझाई छ, त्यो बिल्कुलै गलत हो । संस्कृत भनेको आदर्शवाद हो भौतिकवाद पनि हो । यसको महत्व र गरिमा नबुझ्दा धेरैलाई गलत भ्रम परेको हो ।’

नेपाल समाजमा परम्पराहरुका निरन्तरता रहेको हुँदा यसमा नवीनता तिर पनि जानुपर्ने अवस्था रहेको आवश्यकता औँल्याउनुभयो । देश र समाज रुपान्तरणको अभियानमा लामो समयदेखि होमिने तागत र हौसला ९७ वर्षीया आमा जानका वैद्यबाट आफुले पाएको बताउँदै महासचिव वैद्यले संस्कृत विद्यामा धेरै कुरा प्रमाणित र वैज्ञानिक रहेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संस्कृत भाषाका बारेमा राम्रो ज्ञान नहुँदा पनि बुझाईमा समस्या भएको बताउँदै यसका जानकारहरुले पनि गलत प्रयोग गर्न खोज्दा समस्या भएको हुन सक्ने तर्क गर्नुभयो । ‘हामीले बोल्ने अंग्रेजी भाषा, हिन्दी, उर्दुभाषा, मैथिली भाषाहरुमा पनि थुप्रै विद्या हुन्छन् । यसमा ज्ञान हुन्छन् । त्यसैगरी, संस्कृत विद्यामा पनि विज्ञान छ, ज्योतिष छ, गणित छ, सबै चिज छ । त्यसैले संस्कृत विद्या वैज्ञानिक छ’ उहाँले भन्नुभयो ‘हिजोको पूर्खाले गरेको काम आजको भौतिकवादी कुरा हो । तर, यसमा कतिपय संस्कृतका विद्धानहरुले संस्कृत कुराका पुराना कुरालाई मात्रै उठान गरेर गलत अभ्यास गरे । यसमा पनि नवीन कुरा छ । विज्ञान छ , आदर्शवाद छ । भौतिकवाद, द्वन्द्ववाद छ भन्ने कुरा बुझाउन जरुरी छ ।’

उहाँले नेपालमा युग सुहाउँदो सांस्कृति रुपान्तरणको अभियानमा सबै सकारात्मक रुपमा अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो । जीवित रहँदासम्म आफ्ना आमाबुवालाई राम्ररी हेरचाह, रेखदेख नगर्ने, मरेपछि श्राद्ध गर्नुभन्दा बाँच्दासम्म श्रद्धा गर्न जरुरी रहेको उहाँको भनाई छ ।
उहाँले आफ्ना पितृलाई सम्मान गरेर नयाँ संस्कृतिको जग बसाल्न खोजेको बताउँदै परम्परागत संस्कृतिले विकृति निम्त्याएको हुँदा नवीन संस्कृतिको अभ्यासको थालनी आफुहरुले गरेको बताउनुभयो ।

Blog Post Ad

ठूलो मान्छे होईन असल मान्छे बनाउन आफ्ना सन्तानलाई सिकाउने काम जानका वैद्यले गरेको कार्यक्रमका वक्ताहरुको भनाई थियो । सामाजिक, सांस्कृतिक शैक्षिक आन्दोलनका लागि छोराहरुलाई शिक्षाको ओज दिएर आमाले दायित्व पूरा गरेको उनीहरुको भनाई थियो । दाङ घोराही निवासी जानका वैद्य पोख्रेलका ७ भाइ छोरा र १ छोरी छन् । जसमध्ये मोहन वैद्य जेठा छोरा हुनुहुन्छ ।

Blog Post Ad Blog Post Ad