Ad Area

१६ वर्ष मुनिको पुरुष छनोट क्रिकेटमा दाङको सहज जीत, बर्दिया ७ विकेटले पराजित


घोराही, ३ बैशाख । लुम्बिनी प्रदेश स्तरीय १६ वर्ष मुनिको पुरुष छनोट क्रिकेट प्रतियोगिता अन्तरगत आईतबार भएकोे खेलमा दाङ ७ विकेटले विजयी भएको छ । रूपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रतियोगितामा दाङले बर्दियालाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
१ सय १४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको दाङका लागि सहज जीत दिलाउन आशिष ओलीले अविजित ५९ रनको योगदान दिए । दाङले उक्त लक्ष्य २४ दशमलव ४ ओभरमा पूरा गर्यो । ७६ बल सामना गरेका आशिषले ९ चौकाको मद्दतमा उत्कृष्ट खेल पस्केका हुन् । प्रतियोगितामा ओली प्लेयर अफ द म्याच भए ।

यसैगरी, अमिश सेन्चुरीले १२, आकाश चौधरीले ५ , शिशिर डाँगीले २१ तथा अंकित बिएमले अविजित १ रनमा रहँदा दाङले १६ रन अतिरिक्त पाएको थियो । बर्दियाका लागि सर्वज्ञ रेग्मीले २ र त्रभिष जोशीले १ विकेट लिएपनि अरु बलरले विकेट लिन सकेनन् । दाङले २८ रनको स्कोरमा खेलिरहँदा पहिलो विकेटका रुपमा अमिश सेन्चुरीलाई गुमाएको थियो । यसैगरी, ६७ रनको अवस्थामा रहेको बेला दोश्रो विकेटका रुपमा आकाश चौधरीलाई गुमाउँदा तेश्रो विकेट १ सय ९ रनको अवस्थामा शिशिर डाँगीलाई गुमाए पनि दबाबरहित खेल खेल्दै दाङ विजयी भएको हो । ३० ओभरमा खेलाईएको खेलमा दाङको टीमले उत्कृष्ट लयका साथ खेलको सुरुवात गरेको टीम प्रशिक्षक सन्जु केसीले जानकारी दिए ।

यसअघि बर्दियाले पहिलो पावर प्लेको चौथो ओभरमै पहिलो विकेटका रुपमा ओपनर केशव बिष्टलाई शुन्य रनमा गुमाएको थियो । त्यो बेला बर्दियाको स्कोर ९ रन बनेको थियो । लगातार विकेट पतन व्यहोरेको बर्दियाका लागि त्रभिष जोशीले ३१ रन, हेमन्त आचार्यले २१ रन, सौरभ शाहले १६ रन र अर्पन पौडेलले १२ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर अंक बनाउन सकेनन् । बरदान बिक, नितेष न्यौपाने रन बिहीन भए ।
सर्वज्ञ रेग्मीले १, अभिषेक सिंह राठोरले ८, सोलुप चौधरीले २ र रजनीश यादवले १ रनको योगदान दिँदा बर्दियाले २१ रन अतिरिक्त पाउँदै १ सय १३ रनको योगफल बनाएको थियो । २७ दशमलव २ ओभरमा बर्दियालाई अल आउट गर्न दाङका करण जिएमले ३ तथा सुजल वली, सन्तोष केसी र सन्दीप भुलले समान २–२ विकेट हात पारे । अजय कुमार रोका क्षेत्रीको नाममा एक विकेट रह्यो ।

बैशाख १ देखि ६ गतेसम्म संचालन हुने प्रतियोगितामा दाङले अब पर्सी बाँकेसँग खेल्नेछ । प्रदेश स्तरीय प्रतियोगिताबाट एसीसी प्रतियोगिताका लागि टीम छनोट हुने लुम्बिनी प्रदेश खेलाडी छनोट समिति संयोजक कैलाश रोकाले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad