Ad Area

परम्परागत सीपतर्फ आकर्षित हुँदै युवा पुस्ता


घोराही, ७ बैशाख  बंगलाचुली गाउँपालिका –३ भेडाबारी निवासी लालबहादुर राना मगर काठ तथा घर निर्माणको काम गर्दै आउनुभएको छ । लामो समयदेखि घर निर्माणसँगै घरका लागि आवश्यक झ्याल, ढोकालगायत निर्माणको काम गर्ने राना अहिले भने ठेकी, मानापाथी लगायतमा काठबाट बन्ने सामग्री निर्माणसम्बन्धी तालिम लिँदै आउनुभएको छ ।

परम्परागत सीपको संरक्षण गर्दै आयआर्जन गर्ने उद्देश्यले तालिम लिनेगरेको रानाले बताउनुभयो । ‘काठबाट बन्ने झ्याल ढोकालगायतका सामग्री त बनाउँदैआएको थिएँ, तर ठेकी, माना, हर्पेलगायतका सामग्री भने बनाउन जानेको थिएन’ रानाले भन्नुभयो, ‘तालिम लिएपछि अहिले ठेकी तथा हर्पेलगायतका सामग्री बनाउन सक्ने भएको छु ।’

ठेकी मात्रै होइन तालिम लिएपछि रानाले चामल भर्ने मानापाथी, तेल राख्ने हर्पेलगायतका सामग्री बनाउन सक्ने भएको र पुरानो सीप सिक्न पाउँदा खुसी लाग्नेगरेको बताउनुभयो । ‘निर्माणसम्बन्धी सामग्री भएमा अब ठेकीलगायतमा काठका भाँडाहरू बनाउन सकिन्छ’ उहाँले भन्नुभयो, ‘अब निरन्तर रूपमा बनाउन ध्यान दिने हो भने आकर्षक काठका सामग्री बनाउन सकिन्छ ।’

बंगलाचुली गाउँपालिका –३ मुलाबारी निवासी चूडामणि बाठा मगर पनि अहिले ठेकी, मानापाथी, कौसीलगायत सामग्री बनाउने तालिम लिइरहनुभएको छ । घरमा आवश्यक पर्ने ठेकी, पाथीलगायतका सामग्री किनेर काम चलाउने गर्नुभएको छ । यसअघि उहाँसँग त्यस्तो सीप थिएन । अहिले गाउँमै घरेलु तथा साना उद्योग कार्यालय दाङले काठजन्य भाँडाकुँडा र आरीजन्य सामग्री निर्माणसम्बन्धी तालिमको आयोजना गरेपछि परम्परागत सीपका रूपमा रहेको ठेकी, माना, पाथी, गाबुलगायतका सामग्री बनाउन सिक्दैगरेको बाठामगरले  बताउनुभयो ।

‘घरमा आवश्यक पर्दा किनेर प्रयोग गर्ने गरेका थियौँ । जङ्गलमै घर भएर पनि बनाउन आउँदैनथ्यो’ उहाँले भन्नुभयो, ‘यस पटक गाउँमै तालिम चलेपछि अरू काम छाडेर भए पनि दही जमाउनका लागि ठेकी, दूध दुहनलाई गाबु, तेल राख्ने हर्पेलगायतका सामग्री बनाउन सिक्दै छु ।’

Blog Post Ad

घरमा हँसिया, फरुवाको बिँडदेखि हलो–जुवा बिग्रिँदा बनाउने गरेका चूडामणिले नयाँ खालको सीप सिक्दा खुसी लागेको बताउनुभयो । ‘परम्परागत काठका भाँडाहरू बनाउने यसअघि कहिल्यै तालिम भएको थिएन । यो परम्परागत सीप संरक्षण भने पनि हाम्रा लागि नयाँ तालिम हो’ उहाँले भन्नुभयो, ‘नयाँ खालको तालिम सिक्न पाउँदा खुसी लागेको छ ।’

घर नजिकै जङ्गल भएकाले गाउँघरमा आवश्यक पर्ने काठका सामग्रीहरू तालिम लिएपछि बनाउन सकिने उहाँको भनाइ छ । अर्का स्थानीय गुरु लम्साल पनि तालिम लिइरहनुभएको छ । पेन्टिङसम्बन्धी काम गर्न रुचाउने लम्साल परम्परागत सीप संरक्षणका लागि नयाँ खालको तालिम लिँदा खुसी लागेको बताउनुभयो ।

‘म पेन्टिङसम्बन्धी हल्का काम पनि गर्छु, रहर पनि छ’ उहाँले भन्नुभयो, ‘तर अहिले त्यो भन्दा भिन्नै परम्परागत रूपमा रहेका काठका भाँडाहरू ठेकी, गाबु, माना, पाथीलगायतका सामग्री बनाउँदा खुसी लागेको छ ।’ तालिमले आफूलाई सीप सिकाएको भन्दै यसलाई नियमित गर्ने र राम्रा र आकर्षक काठका सामग्री बनाउन सके राम्रो कमाई हुने उहाँको विश्वास छ ।

‘जुनसुकै काममा पोख्त हुन लगनशीलता आवश्यक पर्छ । अहिले हाम्रा लागि ज्ञान मिलेको छ, कामलाई निरन्तरता दिन सक्नुपर्छ’, उहाँले थप्नुभयो, ‘तालिम लिएपछि सिकेको सीपमा मिहिनेत गर्ने हो भने आम्दानी लिन सकिन्छझै लागेको छ ।’ मिहिनेत गर्ने र आकर्षक काठका सामग्री बनाउन सके राम्रो आम्दानी लिन सकिने प्रशिक्षक गुमानसिंह नेपालीको भनाइ छ ।

तालिममा सहभागीले काठबाट ठेकी, माना, पाथी, कौसी, हर्पे, खुकुरी, माछा, खुर्पेटोलगायत सामग्री बनाउन सक्ने भएको प्रशिक्षक नेपालीले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा बंगलाचुली गाउँपालिकाको सहयोगमा चलेको तालिममा १७ जनाको सहभागिता छ ।

Blog Post Ad Blog Post Ad