Ad Area

महिला जेसीजकाे सप्ताह व्यापी कार्यक्रम सुरु


घाेराही, १७, बैशाख । दाङ महिला जेसीजको सन् २०२३ को सप्ताह व्यापी कार्यक्रम सुरु भएको छ । महिला जेसीज अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका बिकको प्रमुख आतिथ्य एवम् घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको विशिष्ट आतिथ्यमा आज एक कार्यक्रम गरी सप्ताह व्यापी कार्यक्रम उदघाटन गरिएको हो ।

सो अवसरमा प्रदेश सभा सदस्य बिकले युवाहरुमा सकारात्मक विचार पर्दै गर्दै समाज र राष्ट्रको हीतमा काम गर्न स्थापित जेसीजले व्यक्तित्व र नेतृत्व विकासका लागि अहम् भूमिका खेल्दै आएको बताउनुभयो । जेसीजले हिजोका दिनबाट समाजमा गर्दै आएको काम र यसको भूमिका राष्ट्रको उन्नतिका पक्षमा रहेको हुँदा सप्ताह व्यापी कार्यक्रममा पनि समाजलाई बुझ्ने, यसको महत्व दर्शाउने र सामाजिक आयामका बारेमा चिन्तन गर्न सिकाउने विषय बस्तु र कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रमुख हुमा डिसीले समाजमा विभिन्न प्रकारका घटनाक्रम बढी रहेको प्रति संकेत गर्दै सभ्य समाज निर्माणमा जेसीजले खेलेको भुमिकामा स्थानीय सरकारको साथ सहयोग र सहकार्य रहेको बताउनुभयो । सामाजिक मुल्य मान्यता स्थापित गर्न, असल नागरिक बनाउन, मानिसमा मानवताको विकास गर्नलगायतका काममा जेसीजले चालेको कदमलाई आफ्नो साथ रहेको बताउनुभयो ।

कार्यक्रममा मातृ शाखा त्रिभुवन नगर जेसीज अध्यक्ष कुलबहादुर वली, दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, निवर्तमान अध्यक्ष शारदा घर्ती, पूर्व अध्यक्ष सुशीला पाैडेल, पतन्जली योग समिति अध्यक्ष प्रेम शाह, वडा नम्बर १४ का निवर्तमान अध्यक्ष शक्तिराम डाँगी, सिसा नेपालकि अध्यक्ष साजिदा सिद्धिकी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, नबिल बैंक घोराही शाखा प्रमुख विश्वरुप खड्का, सोही बैंकका कलस्टर्ड प्रमुख मुरारीप्रसाद अर्याललगायतले सामाजिक क्षेत्रमा जेसीजले गर्दै आएको काम र योगदानको चर्चा गर्दै सप्ताह व्यापी कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

उपाध्यक्ष विन्दु डाँगीको आस्थापाठबाट सुरु भएको कार्यक्रममा मिसनभिजन उपाध्यक्ष संगिता रोकायले गराउनुभएको थियो ।
जेसीज सदस्यता वृद्धि सभापति तथा कार्यक्रम संयोजक रेमन्ता पुनको स्वागत मन्तव्य तथा कार्यकारिणी उपाध्यक्ष एवम् मुल समारोह समिति संयोजक बसन्ता भण्डारीले सप्ताह व्यापी कार्यक्रम बारे जानकारी गराउनुभएको थियो ।
उहाँका अनुसार, सप्ताह व्यापी कार्यक्रमको दोश्रो दिन सोमबार चौघेरामा १ दिने योग शिविर, मंगलबार राप्ती शिक्षा क्याम्पसमा विद्यार्थीहरुका लागि मोबाईल लत सम्बन्धि सचेतना कार्यक्रम, बुधबार रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम, बिहीबार घोराही १३ सेवारमा असहाय तथा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग, शुक्रबार घोराही १७ शान्ति टोलमा नागरिक सचेतना कार्यक्रम र शनिबार सप्ताहको अन्तिम दिन त्रिभुवननगर जेसीज सचिवालयमा बढ्दो आर्थिक संकट समाधानमा हाम्रो प्रयास विषयक अन्तरक्रिया गरी समापन गरिने भएको छ । कार्यक्रमको सहजीकरण दाङ महिला जेसीजकी महासचिव अर्चना शर्माले गर्नुभएको थियो ।