दाङबाट दुईलाख केजी जडिबुटी निर्यात

घोराही,१८ बैशाख । दाङको राष्ट्रिय तथा निजीबाट बितेको ९ महिनाको अवधिमा करिब दुई लाख किलो बढी जडिबुटी निर्यात भएको छ । डिभिजन वन कार्यालय घोराहीकाअनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को फागुन महिनासम्म राष्ट्रिय र निजी वन क्षेत्रबाट दुई लाख २४ हजार ३६ किलो बराबरको विभिन्न प्रजातिका जडिबुटी निकासी भएको हो ।
निजी वनबाट एक लाख ९४ हजार ३ सय ३६ किलो र राष्ट्रिय वनबाट २९ हजार ७ सय किलो जडिबुटी बाहिर निर्यात भएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभएको छ । डिभिजन वन कार्यालय घोराहीकाअनुसार आर्थिक वर्ष २०७८÷०७९ मा राष्ट्रिय वन र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार ९ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडिबुटी निर्यात भएको थियो । विगतको बर्षको तुलनामा यसबर्ष कम निर्यात भएपनि अझै करिव तीन महिना बाँकी रहेकाले विगतको बराबर जडिबुटी निर्यात हुने सहायक वन अधिकृत चौधरी बताउनुहुन्छ ।
जिल्लाबाट यसवर्ष हालसम्म ५८ हजार ८६ किलो टिमुर निर्यात भएको छ । जसमध्ये राष्ट्रिय वनबाट चार हजार ५ किलो र निजी वनबाट ५३ हजार पाँच सय ८६ किलो टिमुर निर्यात भएको डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिृकत चौधरीले बताउनुभयो । उहाँका अनुसार वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडिबुटी संकलनको राजस्व लिने गरिए पनि निजी वनको जडिबुटी संकलनको राजस्व पूर्णरूपमा छुट गरिएको छ । निजी वन क्षेत्रबाट उत्पादित जडिबुटीको उत्पादन र प्रबद्र्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निर्यातमा राजस्व छुट गरिएको सहायक वन अधिकृत चौधरी बताउनुहुन्छ ।
राष्ट्रिय वनबाट विभिन्न ७ प्रकारका जडिबुटी र निजी वनबाट ८ प्रकारका जडिबुटीहरू निकासी हुने गरेको छ । राष्ट्रिय वन क्षेत्रबाट रिठा तीन हजार किलो, मालागेडी दुई हजार ५ सय किलो, तेजपत्ता ५ हजार किलो, कालीकाठ ४ हजार किलो, दालचिनी तीन हजार किलो र दारुहल्टी सात हजार सात सय किलो निर्यात हुँदा दुई लाख ३३ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्याल घोराहीले जानकारी दिएको छ ।
निजी वन क्षेत्रबाट यसवर्ष सबैभन्दा धेरै कालीकाठ निर्यात भएको छ । जसअनुसार ९ महिनाको अवधिमा कालीकाठ ७३ हजार पाँच सय ३० किलो, टिमुर ५३ हजार पाँच सय ८६ किलो, मालागेडी १३ हजार पाँच सय किलो, रिठा १४ हजार दुई सय किलो, काउलो बोक्रा २१ हजार आठ सय ७५ किलो, दालचिनीको बोक्रा ७ हजार एक सय ४५ किलो, तेजपत्ता पाँच हजार पाँच सय किलो, तिगेडी पाँच हजार किलो जुडिबुटी निर्यात भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । पछिल्लो समय जिल्लाबाट जुडिबुटीको उत्पादन र निकासी परिणाम बढ्दै गएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत चौधरी बताउनुहुन्छ ।
जडिबुटी खेतीको प्रबद्र्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि गर्नेगरी किसानलाई डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको छ । ‘वनमा जडिबुटी खेती गरेर उपभोक्तालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले वन कार्यालयले जडिबुटी खेतीमा किसानलाई निःशुल्क विरूवा वितरण गर्ने गर्दै आएको छ’, सहायक वन अधिकृत चौधरीले भन्नुभयोे,‘जसले गर्दा जिल्लामा जडिबुटी खेती गर्नेको संख्या बढ्दै जाँदा जडिबुटीको उत्पादन पनि बढ्ने गरेको छ ।’