Ad Area

उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि पीडितद्वारा प्रतिष्ठान घेराउ


घोराही, २९ बैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ८ सौरीकी मधु बुढाथोकी केसीको हिजो बिहीबार प्रतिष्ठानमा मृत्यु भएपछि घटनाको उचित अनुसन्धानसहित क्षतिपूर्तिको माग राख्दै आज बिहानैदेखि आफन्त तथा पीडितहरु प्रतिष्ठान घेराउसहित आन्दोलनमा उत्रिएका छन् ।

मृतकका श्रीमान शेरबहादुर केसीका अनुसार २८ वर्षीया मधु बुढाथोकी केसी हिजो दिउँसो १ बजे सामान्य रुपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरुले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा बेलुकी सुत्केरीको ज्यान गएको दावी छ ।

उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराई आफु खुशी सुत्केरीको उपचार गर्न खोज्दा ज्यान गएको मृतकका श्रीमान शेरबहादुरले बताउनुभयो ।

बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आईसीयूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएर उपचारको बहानामा बिरामी मार्ने खेल भएको उहाँको आरोप छ । सुत्केरी हुनुअघि सबै स्वास्थ्य परिक्षण गर्दा सामान्य रिपोर्ट आएको अवस्थामा प्रतिष्ठानको लापरवाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूर्णा बुढाथोकीले बताउनुभयो ।

Blog Post Ad

मृतकको क्षतिपूर्ति वापत ५० लाख, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नु पर्ने तथा यस प्रकारका कमी कमजोरी प्रतिष्ठानले रोक्नुपर्ने माग मृतकका माईला ससुरा हरिको माग छ । यसैगरी, मृतकको शरीरको सबै अंक परिक्षण हुनुपर्ने उनीहरुको माग छ । शिशुको अवस्था भने सामान्य रहेको छ ।

सुत्केरीको मृत्युको विषयमा प्रतिष्ठानले अहिलेसम्म आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन । तर, पीडितहरु समक्ष सुत्केरीको उपचार गर्दागर्दै अत्यधिक रक्तश्रावका कारण मृत्युु भएको प्रतिष्ठानले प्रारम्भिक जवाफ दिएको छ ।

घटनाका विषयमा निकास खोज्न आज बिहान प्रतिष्ठान र पीडित पक्षबीच छलफल भएपनि निकास निस्कन सकेन । यस विषयमा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले चासो लिँदै प्रतिष्ठान, पीडित पक्षलाई राखेर समस्याको निकास खोज्न आज शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने योजना रहेको बताईएको छ ।

Blog Post Ad Blog Post Ad