Ad Area

योगको महत्व राज्यका हरेक निकायमा पुर्याउन आवश्यक छ– मन्त्री शर्मा


घोराही, १ असार । नेपाल नेपाल सरकारका सूचना तथा संचार प्रविधि मन्त्री एवम् प्रवक्ता रेखा शर्माले योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङको आयोजनामा जेठ २७ देखि असार १ गतेसम्म घोराहीमा भएको योग जागरण अभियान अन्तरगत सप्ताह व्यापी निशुल्क राष्ट्रसेवक विशेष योग विज्ञान शिविर २०८० समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै योग साधना स्वस्थ जीवनको पर्याय भएकाले हरेक व्यक्तिमा योगको महत्व र ज्ञान फैलाउनु पर्नेमा जोड दिनुभयो ।

‘समाजका हरेक गतिविधिलाई सकारात्मक रुप दिनको निम्ति यसका खालका कार्यक्रम यस खालको साधना अत्यन्तै आवश्यक हुन्छ कतिले यसको मर्मबोध गरेर आफ्नो व्यस्त समयका बावजूद पनि यसलाई लागू गरेका छौँ’ उहाँले भन्नुभयो ‘कतिपयले यसका बारेमा जानकारी पाएर वा नपाएर लागू गर्न सकेका छैनौँ । तर हामी सबैले योग साधना नियमित रुपमा गर्न सकेमा व्यस्त र तनावको दैनिकी छ । योग साधनाले हाम्रो दैनिकी र जीवनलाई सहज र सरल बनाउन सम्भव हुने देख्दछु ।’

उहाँले देशका राजनीतिक क्षेत्र, कर्मचारी क्षेत्र, प्रहरी प्रशासन क्षेत्रमा रहेकाहरु योग साधनामा सहभागी हुन अझ आवश्यक रहेको जिकिर गर्नुभयो । योगले सकारात्मक उर्जा प्रदान गर्ने हुँदा जिम्मेवार निकायमा रहेकाहरुले प्रदान गर्ने सेवाको परिणाम अझ परिस्कृत र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । ‘हाम्रो समाजमा आफूलाई मन पर्ने कुरामा समर्थन गर्ने तर उसले गल्ती गर्यो भने खबरदारी गर्न सक्ने हिम्मत राख्दैनौँ । अरुले गरेका राम्रा र असल कामलाई समर्थन वा धन्यवाद दिन पनि हामी हिच्किचाउँछौँ । यसरी दृष्टिकोण बन्नु बिल्कुलै बेठीक हो । समाज र राष्ट्रको हीत हुने काम जसले गरेको भएपनि हौसला दिन कञ्जुस्याईँ गर्नुहुदैन’ उहाँले भन्नुभयो ‘जिम्मेवार ठाउँमा बसेका वा जिम्मेवारी लिएकाहरुबाट अझ यसखालका प्रवृति देखिनुहुदैन । सोँच सकारात्मक बनाउन र समाजको हीतका पक्षमा लाग्न योगको महत्व राजनीति गर्नेले, कर्मचारी, प्रहरी प्रशासनका व्यक्तिले अझ धेरै बुझ्नु पर्छ भन्ने म ठान्दछु ।’

Blog Post Ad

उहाँले दाङ योग जागरणका दृष्टिले निकै कृयाशील र समाजको एक अभिन्न अंग बनि सकेको उल्लेख गर्दै स्वस्थ समाज निर्माणका लागि स्वस्थ नागरिक बनाउने काम गरेर राज्यलाई ठूलो सहयोग गरेको बताउनुभयो । यस प्रकारको अभियान राज्यले पनि गम्भीरतापूर्वक लिएर नीतिगत रुपमा योग साधनालाई अघि बढाउन खोजेको बताउनुभयो ।

संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले नेपालको इतिहासमा पूर्वीय दर्शन भएको बताउँदै यो आफैमा वैज्ञानिक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘योग हाम्रो पूर्वीय दर्शन हो । यसको आफ्नै महत्व छ । यसलाई सबै ठाउँमा जागरणका रुपमा अघि बढाउनुपर्छ । पश्चिमाहरुले योगको महत्व बुझेर दैनिक जीवनमा लागू गर्न लागेका बेला योग ज्ञानको तपोभूमि नेपालमा जागरण ल्याउन अझ आवश्यक छ ।’

पतन्जली योग समिति दाङका जिल्ला प्रभारी उदयबहादुर डाँगीले दाङमा ३ हजार प्रशिक्षकबाट दैनिक रुपमा हजारौंलाई योग ज्ञान बाँड्ने काम गर्दै आएको जानकारी दिनुभयो । असल मानव निर्माणमा योगले विशेष काम गर्दै आएको हुँदा मानिस, प्रकृति, वातावरण पनि स्वस्थ बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो । भौतिक र अध्यात्मवादको सम्मीश्रणबाट अघि बढ्न सकेमा वास्तवमा सबैको हित हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘योग, आहार विहार, आनीबानी सकारात्मक बनाउन हरेक ठाउँमा योग साधना केन्द्र निर्माण हुन आवश्यक छ, यसले मानव सभ्यताको विकासमा ठूलो योगदान दिनेछ ।’

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य एवम् दाङ ईन्चार्ज गोकर्ण वलीले कर्मचारी संगठनले संस्थागत कामसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै जिम्मेवारीपूर्वक लिएर योगको ज्ञान बाँड्ने अभियानमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्मचारी संगठन संस्थागत विषयमा मात्रै पैरवी गर्दैन, सामाजिक उत्तरदायित्व सहितको सन्देश दिन, योग भूमिको महत्व सबैलाई बुझाउन यस प्रकारका अभियानमा जुट्छ । आज हामीले गरेका छौँ भोलि अरु कुनै संघ, संगठन, युनियनले गरेको यस प्रकारको अभियानमा हाम्रो साथ सहयोग रहन्छ ।’

एक सातासम्म चलेको योग विज्ञान शिविरमा योग प्रशिक्षकहरु केतनारायण आचार्य, माधव सुवेदी, तोयनाथ योगी, मिना बिष्ट, उमा रावत, रन्जु श्रेष्ठलगायत रहनुभएको शिविर आयोजनाका कार्यक्रम संयोजक युवराज आचार्यले जानकारी दिनुभयो । निशुल्क शिविरमा निजामती कर्मचारीसहित विभिन्न क्षेत्रका व्यक्तिहरुले भाग लिएर योगको बारेमा प्रशिक्षण लिनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठन दाङका सहसचिव मोहनसिंह सुनारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव बाबुराम न्यौपानेले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad