Ad Area

मावि रझेनाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान


घोराही, २१ असार । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले घोराही १८ स्थित श्री मावि रझेनामा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् वडा नम्बर १८ का अध्यक्ष भरत अर्यालको प्रमुख आतिथ्यमा बुधबार छात्रवृत्ति प्रदान गरिएको हो ।

सो अवसरमा विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत अतिविपन्न, असहाय विद्यार्थीहरुलाई विद्यालयको सिफारिसका आधारमा जनही १ हजार पाँच सय रुपैयाँ बराबरको झोला, कापीकलम छात्रवृत्ति स्वरूप वितरण गरिएको हो । कार्यक्रममा ४७ जना छात्रछात्राले ती सामग्री प्राप्त गरेका विद्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्यालले सामाजिक उत्तरदायित्व अन्तरगत वित्तीय संस्थाले गर्दै आएको काम र सामाजिक योगदानले धेरैको जीवनयापनमा सहजता थपेको बताउनुभयो । उहाँले उदाहरणीय कामले बालबालिकाको भविष्य उज्ज्वल बन्न हौसला मिल्ने बताउँदै संस्थाको थोरै सहयोगले विद्यार्थी र अभिभावकलाई ठूलो राहत पुगेको उल्लेख गर्नुभयो ।

रचनात्मक कामले समाजलाई सही बाटोमा हिडाउन टेवा पुग्ने हुँदा यस प्रकारका काममा सबैको हातेमालो हुनुपर्नेमा जोड दिनुभयो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरीले लघुवित्तको मुल उद्देश्य, यसले प्रदान गर्ने वित्तीय सेवा र सामाजिक उत्तरदायित्वका बारेमा जानकारी गराउनुभएको थियो । संस्थाले प्रदान गरेको छात्रवृत्ति पाएपछि विद्यार्थी र अभिभावक हर्षित भएका छन् ।

कार्यक्रमको सहजीकरण जनशक्ति व्यवस्थापन प्रमुख नेबबहादुर चौधरीले गर्नुभएको थियो । घोराहीमा केन्द्रीय कार्यालय रहेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लुम्बिनी प्रदेशमा हजारौँलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad