Ad Area

बढ्दो मानव बेचविखन, फेरिँदै स्वरुप, हिंसामा महिला


घोराही,  १४ साउन । गएको बैशाख १ गते दाङ प्रहरीले महिलालाई जवरजस्ती यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकलाई पक्राउ गर्यो । पक्राउ पर्नेमा लमही नगरपालिका ५ स्थित होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय होटल संचालक हुन् ।

कामको खोजीमा पुगेका दुई महिलालाई विभिन्न आर्थिक प्रलोभन देखाएर यौनधन्दामा लाग्न वाध्य बनाएको पीडितको उजुरी परेपछि उनी पक्राउ परे । ती होटल सञ्चालकलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत दाङले कैद सजाय फैसला गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ५ की २० वर्षीया एक युवती घोराही १४ स्थित एक होटलमा काम गर्ने भनी बसिन् । काम गर्दै जाँदा उनलाई होटmल संचालकले यहाँको भन्दा राम्रो कमाई हुने र बस्नलाई पनि सुख हुने भन्दै भारत लैजाने योजना सुनाए ।  भारतको चण्डीगढमा आफन्तको होटल रहेको बताउँदै उनलाई त्यहीँ लगियो । उनी त्यहाँ पुगेपछि यहाँ भनिए जस्तो हुन सकेन । उनलाई दलालमार्फत पैसामा बेचियो । घर परिवारसँग एक दिन सम्पर्क भएपछि पीडित युवतीले आफु बेचिएको र तत्काल उद्धार गर्न भनेपछि जिल्ला प्रहरी कार्यालय दाङमा ती उनका आफन्तले माघको २० गते उजुरी दिए । त्यसको केही दिनमै उनलाई नेपाल ल्याउने काम भयो । प्रहरीले घटनामा जोडिएका होटल संचालक, उनकी श्रीमतीलाई नियन्त्रणमा लियो र मुद्धा चलायो ।

अघिल्लो वर्षकै साउनमा जबरजस्ती यौन धन्दामा लगाउने घोराही बसपार्कमा रहेको एक होटलका संचालकसहित तीन जनालाई प्रहरीले पक्राउ गर्यो । २० वर्षीया किशोरीलाई बाध्य पारी यौन क्रियाकलापमा संलग्न गराएको अभियोगमा जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर बस्ने अन्दाजी ५० वर्षका, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ घर भई घोराही बसपार्कमा होटल सञ्चालन गर्दै आएका ३६ वर्षका र घोराही उपमहानगरपालिका १० का ४२ वर्षकी एक महिलालाई प्रहरीले पक्राउ गर्यो ।

सामान्य चिनजानको आधारमा शुरुमा आफैले २० वर्षीय युवतीसँग शारीरिक सम्पर्क गर्ने गरेको र पछि होटलमा लगेर ग्राहकसँग लगाउने गरेको पीडितले जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । मानवता विरुद्धकै अपराध मानिने मानव बेचविखन फरक शैलीमा कसरी हुँदैछ भन्ने जिल्लाको केही दृष्टान्त मात्रै हुन् ।

दाङमा मानव बेचविखन तथा ओसारपसारका घटना बर्षेनी बढ्दै गएको पाईएको छ । कतिपय घटना प्रहरी कहाँ आईपुग्ने गरेका छ भने अधिकांश घटना गुपचुपमै रहने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको तथ्यांक अनुसार पछिल्लो ४ आर्थिक वर्षमा जिल्लामा मानव बेचविखन तथा ओसारपसारका १० वटा  मुद्दा दर्ता भएका छन् । प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार आर्थिक २०७६–०७७ मा १ वटा, २०७७–०७८ मा २ वटा, २०७८–०७९ मा ३ वटा र गत आर्थिक वर्ष २०७९–०८० बढेर यसको संख्या ४ पुगेको छ । यौसँगै  जिल्लामा पछिल्लो चार आर्थिक वर्षमा मानव बेचविखन तथा ओसारपसारका मुद्दाको संख्या १० वटा पुगेको उहाँले जानकारी दिनुभयो ।

Blog Post Ad

गत आर्थिक वर्षमा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा ७ जना प्रतिवादी पक्राउ परेका छन् । उक्त घटनामा ५ जना पीडित बनेका छन् । मानव बेचविखन तथा ओसार पसार मुद्दामा दोषी ठहर भए १५ देखि २० वर्ष सम्म कैद र १ देखि २ लाख रुपैयाँ सम्म जरिवानाको कानुनी व्यवस्था छ ।

यस प्रकारका घटनामा पछिल्लो समय विदेशमा समेत बेचिने गरेका छन् । रोजगारीको सिलसिलामा विदेशिने महिलाहरु अक्सर यसको सिकार हुने गरेका घटना प्रहरी समक्ष आउने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले बताउनुभयो ।

उहाँले बढ्दो आर्थिक क्रियाकलाप, बेरोजगारी तथा मानिसहरूमा विकसित असीमित लालसाका कारण पछिल्ला वर्षहरूमा अनेक बहानामा नेपालबाट हुने मानव तस्करीका घटना डरलाग्दो किसिमले बढिरहेको बताउनुभयो । ‘समाजका सामु ठूलो चुनौतिका रुपमा देखापर्दै गएको छ, प्रहरी प्रशासनले एक्लैचाहेरपनि रोक्न सक्ने अवस्था छैन । पहिलो कुरा व्यक्ति स्वयम् सचेत बन्न जरुरी छ’ उहाँले भन्नुभयो ‘सचेतनाको पाटोमा हामीले सक्दो कोसिश गरेका छौँ  । तर यतिले मात्रै पुग्दैन । यसका लागि राज्यका हरेक निकाय, समुदाय लाग्न जरुरी छ ।’

कतिपय घटना त अलपत्र अवस्थामा छाड्ने गरेका पनि रहेको उहाँले बताउनुभयो । आफुसँगै लैजाने अनि स्वार्थ पूरा भएपछि भारतमा लगेर उहीँ अलपत्र पार्ने गरेका थुप्रै घटनाहरु पछि प्रहरी समक्ष आउने गरेको उल्लेख गर्नुभयो । गिरोहले आकर्षक रोजगारी तथा आम्दानीको प्रलोभनमा पारी विभिन्न स्थानबाट लैजाने र अन्त्यमा शारीरिक तथा मानसिक शोषण गर्ने गरेको घटना पछिल्लो समय बढ्दै गएको उहाँको भनाई छ ।

देशभर यो अवस्था बिकराल रुपमा देखा परेको प्रहरी अनुसन्धानले बताउने गरेको छ । नेपाल प्रहरीले मानव बेचविखन निरुत्साहित गर्नकै लागि २०७६ को वैशाख अन्तिममा मानव बेचखिखन अनुसन्धान ब्युरो नै स्थापना गरेको छ । मानव तस्करीजस्तो अन्तर्राष्ट्रिय सन्जाल भएको संगठित अपराध नियन्त्रण गर्न विशेष जनशक्ति र स्रोत साधनसहित गठन भएको ब्युरोले काम पनि गर्दै आएको छ ।
ब्यूरोले छिमेकी देश भारतसँगै खाडी मुलुक कुवेत, साउदी अरब, इराक तथा लिबिया, केन्या, ग्रिस, इन्डोनेसिया, मालवी, म्यानमारलगायत देशबाट मानव तस्करको चपेटामा परेकाहरूको उद्धारमा खटिएको छ ।

अहिलेको आधुनिक समाजमा अवैध लागूऔषधपछि संसारमै तेस्रो ठूलो संगठित अपराध मानिने मानव बेचविखन तथा ओसारपसारमा पीडित हुनेहरुको कारण केलाउँदै जाँदा मानिसमा अशिक्षा, जनचेतना अभाव मात्रै नभई पढे लेखेका मानिस पनि मानव तस्करको फन्दामा परिरहेका घटना रहेको प्रमुख वलीको भनाई छ ।

मीठो खाने, राम्रो लाउने र फेशनप्रतिको मोहले पनि मानव बेचविखनका घटना बढाएको जस्तो लाग्छ,’ प्रहरी प्रमुख वलीले भन्नुभयो ‘आजका दिनमा सबै जनालाई पैसा चाहिएको छ । भोलि के होला भन्ने सोँच्दैनन् अनि समस्यामा पर्छन् अर्थात बेचबिखनमा पर्छन् ।’

प्रहरीको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनले पनि गरिबी, रोजगारीको अवसर पर्याप्त नहुनु, अनियन्त्रित सञ्चालनमा रहेका रोजगारदाता संस्था तथा दलालहरू, धनसम्पत्ति कमाउने तीव्र चाहना र नेपाल भारतबीच खुला सिमानालाई मुख्य मानव तस्करीका कारण मानेको छ ।यसैगरी, रोजगारमा लगाउने, उच्च अध्ययन गर्ने, स्थायी आवासीय अनुमतिपत्र बनाइदिने, झूटा विवाह वा नाता सम्बन्ध तयार गरेर लैजानेलगायत बहानामा मानव तस्करी हुने गरेको प्रहरी प्रतिवेदनको निष्कर्ष छ ।

Blog Post Ad Blog Post Ad