Ad Area

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा खीर खाने कार्यक्रम सम्पन्न


घोराही, १५ साउन । घोराही उपमहानगरपालिका वडा नम्बर १५ उत्साह टोलमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले सोमबार साउन १५ गतेको अवसरमा खीर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रले एक कार्यक्रमको आयोजना गरी करिब ६० जना ज्येष्ठ नागरिकलाई खीर खुवाउनुका साथै भजन कीर्तन कार्यक्रम गरेको हो । सेवा केन्द्रका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवम् वडा नम्बर १५ का वडाअध्यक्ष रमेशकुमार पाण्डेयको विशिष्ट आतिथ्यमा कार्यक्रम गरिएको हो ।

सो अवसरमा, उपप्रमुख डिसीलगायत अतिथिहरूले समाजका अनुभवी एवम् अग्रज नागरिकप्रति सम्मान गर्नुभएको थियो । आयोजक संस्थाले विभिन्न अवसरमा यस प्रकारका कार्यक्रम गरेर ज्येष्ठ नागरिकको सम्मान गर्ने कामलाई निरन्तरता दिन आग्रह गर्दै दिवा सेवा केन्द्रलाई आफुहरुको सहयोग सदा रहने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु माधव श्रेष्ठ, कृष्ण राना र दुर्गा नेपाली, नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्त लगायत अग्रजहरुको उपस्थिति रहेको थियो ।

घोराही उपमहानगरपालिकाको सहयोगमा निर्मित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र पछिल्लो समय ज्येष्ठ नागरिकहरुको मिलन केन्द्रका रुपमा विकास हुँदै गएको छ । जसले उनीहरुलाई दिनभर मन भुलाउन सजिलो हुने गरेको बताउने गरेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad