Ad Area

बाघ र चितुवाको समुदायमा त्रास, व्यवस्थापन गर्न चुनौती


घोराही, १५ साउन । गत फागुनको २ गतेको राति देउखुरीमा बाघले १७ वटा बाख्रा एकै रातमा मारिदियो । लमही नगरपालिका १ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फर्ममा पसेर बाघले बाख्रा मारिदिएको फर्म सञ्चालक अधिकारीको भनाई छ । ‘रातको समयमा बाघले बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान बाख्रालाई दाना, घाँस दिन गएको बेला मरेको देखेपछि बल्ल थाहा भयो’ उहाँले भन्नुभयो, ‘निकै दुख गरेर पालेको बाख्रा बाघले रातभरमै स्वाहा बनाईदियो ।’

सोही रात लमही नगरपालिका ३ का सुकबहादुर कुमालको खोरमा पसेर बाघले एउटा खाइदियो । लमही नगरपालिका ३ का लोकमणि बन्जाडेले जंगल चराउन लगेका तीनवटा बाख्रा चितुवाले एकै स्थानमा मारिदिएको थियो । लमही नगरपालिका ३ जखेरातालका सुकबहादुर डाँगीका पनि चारवटा बाख्रा चितुवाले मारिदियो । डाँगीले जंगलमा चराउन लगेको बेलामा चितुवाले मारिदिएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ५ बसन्तापुरकी गोमा पछाईले मेहनतका साथ पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा बाख्रा चराउन लगेकी पछाईका ५ वटा ठूला खसी मारिदियो । ‘घर नजिकै जंगल छ, चराउन सजिलो होला भनेर दुख गरेर पालेको, बेच्ने बेलामा बाघले खाएर मेहनत खेर गएको छ’, उहाँले भन्नुभयो, ‘खोर मै आएर खाई देला भन्ने डर हुन थाल्यो ।’ सोही ठाउँका अर्का एक जना कृषकको पनि ठूला भईसकेका ३ वटा खसी असोजको ९ गते सोही जंगलमा बाघले मारिदियो ।

बाघ र चितुवाले बाख्रा मारिदिने, खाई दिने गर्न थालेपछि प्रभावित क्षेत्रका मानिस त्रसित बनेका छन् । दुख गरेर पालेका बाख्रामाथि बाघ र चितुवाले आक्रमण गरी क्षति पुर्याउन थालेपछि आफुहरु निकै समस्यामा परेको उनीहरुको दुखेसो छ । ‘खोरमा पसेर बाख्रा खान थालेपछि त्रास पैदा गरेको छ, के थाहा मान्छेलाई पनि आक्रमण गर्यो भने त बर्बाद नै हुन्छ’, गोमा पछाईले भन्नुभयो ‘जंगल छेवैमा घर छ, गाईबस्तु, बाख्रालाई घाँसपात अनि चराउन सजिलो हुन्छ भनेको त अहिले डर हुने भयो ।’

वनजंगलमा बस्ने बाँदर, बँदेल, दुम्सीलगायत वन्यजन्तुले पनि स्थानीयलाई उस्तै सास्ती दिने गरेका छन् । मेहनतका साथ फलाएका अन्नबाली भित्र्याउने बेलामा बाँदरले क्षति पुर्याएर जिल्लाका घोराही, तुलसीपुर, बंगलाचुली, राजपुर, दंगीशरण, बबईलगायत ग्रामीण क्षेत्रका किसानले यस प्रकारको हैरानी भोग्दै आएका छन् ।

बाली नष्ट गर्ने मात्रै नभइ वन्यजन्तुको आक्रमणका कारण मान्छेको मृत्युसमेत हुने गरेको छ । दाङमा जंगली जनावर भालुको आक्रमणबाट लमहीका एक जना घाईते हुनुभएको थियो । वन्यजन्तुको आक्रमणबाट हरेक वर्ष मानवीय क्षतिका घटना बढिरहेको तथ्यांकले देखाउँछ । आव २०७४–७५ मा वन्यजन्तुको आक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७५–७६ मा ३० जनाको मृत्यु भएको थियो ।

Blog Post Ad

त्यस्तै, आर्थिक वर्ष २०७६–७७ मा ३३ र आर्थिक वर्ष २०७७–७८ मा ४० जनाको मृत्यु भएको थियो । यसैगरी आर्थिक वर्ष २०७८–०७९ मा ५३ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७९–८० मा यो संख््या १२ थियो । चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको सरकारी तथ्यांकले देखाउँछ ।

अध्ययनमा मुख्यगरी बाघ, हात्ती, गैंडा, भालु र चितुवासँग मान्छेको द्वन्द्व भएको पाइएको छ । अध्ययनअनुसार वन्यजन्तुले मानव बस्तीमा छिरेर आक्रमण गरेका घटना अपवादमा मात्र छन् । वन्यजन्तुको बासस्थानमा मानवीय गतिविधिकै कारण द्वन्द्व बढेको अध्ययनमा उल्लेख छ ।
वन्यजन्तुले आफ्नो भाले वा पोथीसँग समय बिताइरहेको बेला, आहार खाइरहेको बेला, बच्चासँग भएको बेला बाधा सिर्जना गरेमा अथवा जिस्काएमा आक्रमण गर्ने जोखिम बढी हुने वन्यजन्तु संरक्षणकर्मी चिरञ्जीवी खनाल बताउनुहुन्छ ।

‘मानवीय गतिविधिका कारण जनावरमाथि असर पुगिरहेको छ । त्यहीकारण वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि बढिरहेको छ’, उहाँले भन्नुभयो, ‘कतिपय अवस्थामा आहाराको खोजीमा रहेका बेला ती जनावर मानव बस्तीसम्म आईपुग्छन्, अनि जोखिम बढ्छ ।’ संरक्षित क्षेत्रकै बीचबाट बनाइएका सडक मार्ग र बसाइएका मानव बस्ती वन्यजन्तुका लागि जोखिम भएका छन् । विकास निर्माणका काम वन्यजन्तु मैत्री नहुनु र मानवीय क्रियाकलापलाई एकीकृत रुपमा लैजान नसक्नुको परिणामस्वरुप वन्यजन्तु पनि मारिने क्रम बढेको उहाँको भनाई छ ।

उहाँका अनुसार, मानिस र वन्यजन्तुबीचको द्वन्द्व बढ्नुको कारण मानवीय गतिविधि हो । ‘मानिस र वन्यजन्तुबीचको द्वन्द्व बढ्नुको एउटै कारण भनेको मान्छेको बासस्थान उनीहरुलाई असर गर्ने गरी जंगल अतिक्रमण गरिनु हो । ‘ वन जोगाउने प्रयास भएपनि अहिले वन्यजन्तुको बासस्थान घटिरहेको छ’, उहाँले भन्नुभयो ‘वन्यजन्तुको बासस्थान र मान्छेको बासस्थान एकआपसमा गाभिए जस्तो हुन जाँदा एक–अर्कामाथि आक्रमण हुने गरेको छ, जसले गर्दा घरमा पालिएका जनावर पनि उनीहरुको निशानामा पर्ने गरेका छन् ।’

दाङमा बाघले घरपालुवा जनावर मार्ने क्रम बढ्न थालेपछि दक्षिण चुरे क्षेत्रमा पाटे बाघको अध्ययन भएको छ । दाङ जिल्लामा पहिलो पटक स्वचालित क्यामरा जडान गरेर पाटे बाघको अध्ययन गरिएको हो । सरकारी स्तरबाट पाटे बाघको अवस्था पत्ता लगाउन ठूलो लगानीमा अध्ययन भएको बताईएको छ । दाङ देउखुरीको दक्षिण चुरे क्षेत्रको जैविक मार्ग भएर बाघ ओहोरदोहोर गर्ने गरेको स्थानीय उपभोक्ताहरुले जानकारी दिए पनि यसको औपचारिक पुष्टि भने भएको छैन । त्यसैले बाघको अवस्था पत्ता लगाउन अध्ययन थालिएको हो ।

बाघको अवस्था, उसलाई चाहिने आहारा, बासस्थानलगायत अन्य बन्यजन्तुको समेत अवस्था पत्ता लगाउन राजपुर गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा पर्ने चुरे क्षेत्रमा स्वचालित क्यामरा जडान गरिएको छ । पश्चिममा बाँके राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको सहेलवा राष्ट्रिय निकुञ्जमा बाघको सहज आवतजावतले उनीहरुको गतिविधि बढ्न थालेको छ । जसको प्रभाव दाङका दक्षिण चुरे क्षेत्रमा देखा परेको हो ।

नेपालमा सन् २००९ मा १ सय २१ रहेको बाघको संख्या सन् २०२२ मा आईपुग्दा बढेर ३ सय ५५ पुगेको छ । तर, बाघको संख्या बढेसँगै बाघको व्यवस्थापनमा चुनौति थपिँदै गएको देखिएको छ । बाघ र स्थानीयवासीबीच सन्तुलन कायम गर्नु नै मुख्य चुनौती हुने जानकारहरूको भनाई छ ।

Blog Post Ad Blog Post Ad