Ad Area

चार बर्षमा एक सय किलोमिटर सडक कालोपत्रे


घोराही, ३० कात्तिक ।

पालिकाहरुमा जनप्रतिनिधिहरु आएपछि जनताले गरेको धेरै अपेक्षामध्य एउटा सडक निर्माण पनि हो । जनताको अपेक्षा अनुरुप घोराही उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि सडक निर्माणको कामले तिव्रता पाएको छ ।

पहिले बजार क्षेत्रमा सिमित कालोपत्रे सडक यतिवेला गाउँ गाउँसम्म पुगेको छ । नयाँ सडक खोल्ने र पुरानोलाई पिच गर्ने योजनाले प्राथमिकता पाएको घोराही उपमहानगरपालिकाको भनाई छ । सडकलाई कालोपत्रे गर्ने, सडकका नयाँ ट्रयाक खोल्ने, विकट क्षेत्रलाई सडक सञ्जालले जोड्ने कामलाई प्राथमिकता दिइएको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । नगरपालिकाले जलासय निर्माण, सडक पक्की गर्ने, नाला निर्माण गर्ने, कृषिमा अनुदान दिने लगायतका काम गरेको बताए ।

घोराही उपमहानगरपालिकाले पनि आर्थिक वर्ष २०७५÷०७६ को नीति कार्यक्रममा भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको थियो । भौतिक पूर्वाधार विकास गर्दा घोराही उपमहानगरपालिका भित्र चक्रपथ, प्रमुख नदीहरुको दायाँ बायाँ करिडोर र घोराही तुलसीपुर सडक खण्डको उत्तर दक्षिणका क्षेत्र जोड्न सडक निर्माण गरी सबै टोल बस्तीलाई यातायात संजालले जोड्ने कुरालाई प्राथमिकतामा राखिएको थियो । घोराही उपमहानगरपालिकाले सडक निर्माण गर्दा सदरमुकामबाट सबै वडाका केन्द्रहरुलाई जोड्न एक÷एक वटा सडकहरु कालोपत्रे गर्ने योजना अनुरुप धेरै वडाका केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गरिएको छ ।

घोराही उपमहानगरपालिकाले सवै वडाका केन्द्रमा पक्की सडक पुराउने योजना बनाएको भएपनि वडा नं. ५, ९, १२, १९ वडाका केन्द्रमा पक्की सडक पुराउन सकेको छैन । यस्तै वडा नंं १८ मा यसैबर्ष पक्की सडक पुग्नेछ । वडा नंं १८ को कार्यालय पहिलेको स्थानबाट कटुवा खोलाको पूर्वतर्फ अम्विकेश्वरी मन्दिरको पश्चिम तर्फ निर्माण गरिएको छ ।

१९ वटै वडाका दुर्गम टोल बस्तीलाई बढीमा आधा घण्टाको पैदल हिडेर यातायात सुविधा भेट्ने गरी थप सडकहरु निर्माण गर्ने, घोराही उपमहानगरपालिकाको घना सहरी क्षेत्रमा स्थानीय समुदायको ३० प्रतिशत र घोराही उपमहानगरपालिको ७० प्रतिशत लागत सहभागितामा सडक कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिइएको छ । यस्तै सहरउन्मुख क्षेत्रमा स्थानीय समुदायको १५ प्रतिशत र उपमहानगरपालिकाको ८५ प्रतिशत लागत सहभागितामा सडक कालोपत्रे गरिएको छ ।

Blog Post Ad

घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भिमबहादुर चौधरीका अनुसार उपमहानगरपालिकामा जनप्रतिनिधि आइसकेपछि ९१ दशमलव ८७ प्रतिशत सडक कालोपत्रे गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा १८.३७ किलोमिटर, आर्थिक वर्ष २०७५÷०७६ मा १४.५३ किलोमिटर, आर्थिक वर्ष २०७६÷०७७ मा ३६ दशमलव ५३ किलोमिटर र आर्थिक वर्ष २०७७÷०७८ मा ४१ दशमलव ५३ लिोमिटर सडक कालोपत्रे गरिएको थियो ।

घोराही उपमहानगरपालिकामा चार बर्षमा एक सय आठ किलोमिटर भन्दा बढी सडक ग्राभेल गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा १४.२५ किलोमिटर, आर्थिक वर्ष २०७५÷०७६ मा १६ दशमलव ५३ किलोमिटर, आर्थिक वर्ष २०७६÷०७७ मा ३६ दशमलव ५३ किलोमिटर, आर्थिक वर्ष २०७७÷०७८ मा ४१ दशमलव ५३ किलोमिटर सडक ग्राभेल गरिएको हो । यस्तै नयाँ स्थानीय सडक निर्माणको काम भएका छन् । आर्थिक बर्ष २०७४÷०७५ देखि हाल सम्म ९० दशमलव २३ किलोमिटर सडक निर्माणको काम सम्पन्न भैसकेको घोराही उपमहानगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

यस्तै १९ किलोमिटर सडक मर्मत संभारको काम गरिएको छ । ३८ वटा मोटरेवल पूल कल्भर्ट निर्माण, दुई वटा झोलुंगे पुल निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा पनि सडक निर्माणको कामलाई प्राथमिकता दिइने गरि काम भइरहेको उपमहानगरपालिकाका प्रमुख चौधरीले बताए । सडक निर्माणको आवश्यकता भएका तथा हाल सम्म पनि निर्माण गर्न नसकिएको सडकहरुलाई निर्माणको काममा पूर्णता दिने उनले बताए ।
घोराही उपमहानगरपालिकाका कतिपय सडक प्रदेश सरकारको बजेटमा बनेका छन भने कतिपय सडकको निर्माण नगरपालिका आफैले गरेको छ । घोराही उपहानगरपालिकाको पहल र प्रदेश सरकारको समन्वयमा पनि कयौं किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ । घोराहीदेखि रामपुर जोड्ने सडक, घोराहीबाट सौडियार जोड्ने सडक, सर्राबाट सौडियार जोड्ने सडक, नारायणपुरबाट हापुर जोड्ने सडक निर्माणका लागि प्रदेश सरकारले बजेट उपलव्ध गराएको थियो । नगरपालिकाले आफ्नो स्रोतबाट र लागत सहभागितामा सडक निर्माण गरेको नगरप्रमुख चौधरीले बताए ।

 

Blog Post Ad Blog Post Ad