Ad Area

३३ औं पूर्व प्रहरी दिवस मनाइयो


घोराही, १ भदौ । नेपाल पूर्व प्रहरी संगठनको ३३ औं नेपाल पूर्व प्रहरी दिवस दाङको घोराहीमा मनाईएको छ । जिल्ला पूर्व प्रहरी संगठन अध्यक्ष रोबरबहादुर बस्नेतको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा आज दिवस मनाईएको हो ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि चौधरीले समाजका लागि सक्दो योगदान दिनुपर्छ भन्ने मान्यतालाई पूर्व प्रहरी संगठनले काम गरेर उजागर गरेको बताए । उनले संगठनमा रहँदा सिकेको ज्ञाप, सीप र अनुभवलाई समाजका लागि खर्चिन सकेमा देश विकासमा सहयोग पुग्ने बताए ।

पछिल्लो समय समाजमा लागुऔषधले समाजलाई थिलथिलो पार्दै लगेको हुँदा घोराहीलाई आगामी ३ वर्षमा लागुऔषध नियन्त्रित पालिका बनाउने नीति लिएको, सोही अवधिमा लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा गर्ने योजना बनाएको जानकारी गराउँदै यो अभियानमा पूर्व प्रहरी संगठनले सहयोगी भुमिका खेलेमा काममा सहज हुने बताउँदै पालिकाको तर्फबाट सहकार्य गर्ने प्रतिवद्धता बताए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले समाज रुपान्तरणमा वहालमा रहँदा वा नरहँदा राष्ट्र सेवक कर्मचारी कटिबद्ध रहनुपर्ने बताउनुभयो । यसको उदाहरण नेपाल पूर्व प्रहरी संगठन बनेकोमा धन्यवाद दिएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डिआईजी उमेशराज जोशीले पूर्व प्रहरी संगठनले प्रहरी संगठनको मिलाप गर्ने थलो बनेको बताए । यसले समाजका नकारात्मक कुरा र कामलाई निरुत्साहित गर्ने अभियानमा लाग्न सक्नुपर्ने बताउँदै संगठन सबैको मन सुन्ने, भावना बुझ्ने थलोका रुपमा विकास गर्दै भाइचारा कायम गर्न अघि बढ्दै गएमा यसको महत्त्व अझ उँचाईमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवरले देशको शान्ति, सुरक्षा र विकासमा जीवन पर्यन्त प्रहरी संगठनको भुमिका रहेको बताए । सेवामा रहँदा सिकेको काम र जिम्मेवारीलाई निवृत्त भएर पनि गर्न सकिन्छ भन्ने उदाहरण नेपाल पूर्व प्रहरी संगठन दाङले दिन सकेको विश्वास व्यक्त गरेका थिए ।

देश र समाजका लागि कृषि, ट्राफिक सुरक्षा, सामाजिक सुरक्षा जस्ता विषयमा धेरै काम गर्न सकिने हुँदा प्रहरी संगठनले आगामि दिनमा यश प्रकारका क्षेत्रमा भुमिका बढाउन सचेत गराए । कार्यक्रममा वडा अध्यक्षहरुका तर्फबाट घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले प्रहरी सेवाबाट निवृत्त भएपछि विभिन्न सामाजिक क्षेत्र योगदान पुर्याउनु भएको हुँदा यसले राष्ट्रको उन्नतिमा सहयोग पुगेको बताए । अमर प्रहरी परिवारका द्वन्द्व पीडित महिला संघका अध्यक्ष निर्मला थापाले संगठनलाई सामाजिक क्षेत्रमा अझ क्रियाशील बनाउन सुझाव दिएकी थिइन ।

Blog Post Ad

सो अवसरमा वीर प्रहरी अमर प्रहरी स्मारक एवम् पूर्व प्रहरी स्तम्भ अनावरण र पूर्व प्रहरी संगठनको सभाहल उदघाटन गरिएको थियो । पूर्व प्रहरी संगठनको सभाहल निर्माणमा सहयोग गर्ने सबैलाई सम्मान गरिएको थियो। दाङमा पूर्व प्रहरी संगठनमा १ हजार दुई सय जना सदस्य आवद्ध रहेको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad