Ad Area

‘ताकेता गर्दा समेत पैसा तिर्दैनन्’


दाङ, १५ भदौ । विद्युत प्राधिकरण घोराही शाखाले पटक–पटक ताकेता गर्दा समेत विद्युत महसुल नर्तिने सेवाग्राहीको बत्ती काट्ने गरेको छ । घोराही र बंगलाचुली गाउँपालिकामा समयमा विद्युत महसुल नतिर्ने १२ सय सेवाग्राहीको विद्युत लाइन काटिएको छ ।

आर्थिक वर्ष २०७९÷२०८० मा नेपाल विद्युत प्राधिकरण घोराही शाखाले नियमित विद्युत महसुल नतिर्ने एक हजार एक सय ९३ जना सेवाग्राहीको विद्युत लाइन काटेको नेपाल विद्युत प्राधिकरण घोराही शाखा प्रमुख मिथिलेशकुमार गोहीवारले बताए । जसमा न्यूनतम विद्युत महसुल नतिर्ने सेवाग्राहीदेखि उद्योग समेत छन् । कार्यालय प्रमुख गोहीवारका अनुसार ७७ करोड ११ लाख७८ हजार चार सय ९६ रुपैयाँ १८ पैसा बक्यौता उठ्न नसकेपछि एक वर्षको अवधिमा विभिन्न स्थानमा एक हजार एक सय ९३ जना सेवाग्राहीको लाइन काटिएको हो ।

‘नियमित रूपमा विद्युत महसुल नतिर्ने र ताकेता गर्दा पनि नतिरेपछि करिब १२ सय घरमा जडान गरिएको विद्युत लाइन काटिएको थियो’, कार्यालय प्रमुख गोहीवारले भने, ‘विद्युत लाइन काटिएकामध्ये अधिकांश सेवाग्राहीले बाँकी रहेको विद्युत बक्यौदा रकम तिरेर विद्युत जडान गरेका छन् ।’

एक वर्षको अवधिमा लाइन काटिएकामध्ये एक हजार ९९ सेवाग्राहीले ११ करोड १४ लाख ३८ हजार ५ सय ५७ रुपैयाँ ७५ पैसा तिरेर विद्युत जडान गरेका छन् । तर घोराही सिमेन्ट उद्योगलगायत सेवाग्राहीबाट ६५ करोड ९७ लाख ३९ हजार ९ सय ३९ रुपैयाँ उठ्न नसकेको विद्युत प्राधिकरण घोराही शाखाले जनाएको छ । उनका अनुसार सिमेन्ट उद्योगसँग केन्द्रले विद्युत महसुल तिर्ने सहमति गरेकाले जिल्लाबाट मात्र पहल गरेर बक्यौता असुल गर्न नसक्ने अवस्था छ ।

कार्यालय प्रमुख गोहीवारले भने, ‘सञ्चालनमा रहेका उद्योग वा मानिस बसोवास गर्ने घरमा विद्युत लाइन काटिएको अवस्थामा पुनः जडानका लागि आउने गर्छन्, उनीहरूले तिर्नुपर्ने बाँकी रकम पनि तिर्ने गरेका छन् ।’ यसैबिच एक वर्षको अवधिमा कार्यालयमा दुई हजार बढी सेवाग्राही थप भएका छन् । आर्थिक वर्ष ०७९÷०८० मा दुई हजार ७ सय ६ सेवाग्राही थपिएको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ । जसमा अधिकांश सेवाग्राही विकट तथा ग्रामीण क्षेत्रको रहेका छन् ।

भौगोलिक विकट मानिने घोराही उपमहानगरपालिकाको १९ नं. वडासँगै बंगलाचुली गाउँपालिकामा प्राथमिकताका साथ विद्युत विस्तारको काम गरेपछि पहाडी क्षेत्रमा सेवाग्राही थप भएको कार्यालय प्रमुख गोहीवारले जानकारी दिएका छन् । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्र अन्तर्गत ४६ हजार बढी सेवाग्राही रहेका छन् ।

Blog Post Ad

ग्रामीण विद्युत खारेजीसँगै सेवाग्राही सास्तीमा

घोराही उपमहानगरपालिका–९ अस्पारा निवासी ५६ वर्षीय शशिधर आचार्यले घरदेखि केही पर नारायणपुरमा रहेको विद्युत महसुल काउन्टरमा पुगेर मासिक ३० रुपैयाँ विद्युत महसुल बुझाउँदै आएका थिए । उनले महसुल बुझाउँदै आएको स्वर्गद्वारी विद्युत कम्पनी साउनदेखि विद्युत प्राधिकरणमा गाभिएको छ ।

आचार्यलाई अब महसुल बुझाउन घोराही धाउनु पर्ने भएको छ । आचार्य जस्तै घरदैलोमै न्यूनतम ३० रुपैयाँ विद्युत महसुल बुझाउँदै आएकी गढवा गाँउपालिका ६ आँटीपाकरकी देवी चौधरीलाई पनि २ सय रुपैयाँ खर्चेर ३० रुपैयाँ महसुल बुझाउन लमही पुग्नु पर्ने बाध्यता छ । शशिधर र देवी जस्तै दाङका ४ ग्रामीण विद्युत कम्पनीले सेवा दिइरहेका करिब ११ हजार सेवाग्राही न्यूनतम ३० रुपैयाँ मासिक महसुल बुझाउने छन् । नीतिगत निर्णय भन्दै नेपाल विद्युत प्राधिकरणले ०७९ माघ १२ गते ग्रामीण विद्युत संस्थासँगको सम्झौता खारेजी गरेको छ ।

प्राधिकरणको यो निर्णयले न्युनतमदेखि अधिकतम महशुल बुझाउने २३ हजार सेवाग्राहीमर्कामा परेका छन् । ग्रामीण विद्युतले सेवा दिइरहेका सेवाग्राहीहरूलाई पहिलो समस्या महशुल बुझाउने छ भने मर्मत सम्भारदेखि प्राविधीक सेवा समयमै नपाइने हो कि भन्ने चिन्ता सेवाग्राहीलाई छ । जिल्लाका चार सामुदायिक संस्थाका २३ हजार सेवाग्राही साउनयता नेपाल विद्युत प्राधिरकणमा जोडिन पुगेका छन् । अव ती ग्राहकको महशुल बुझ्ने, प्राविधिक सेवा दिने जिम्मेवारी प्राधिरकणमा थपिएको स्वर्गद्धारी विद्युत कम्पनी दाङका सञ्चालक बिजय थापाले बताए ।

प्राधिकरणमा ग्रहाकको लोड बढी र सेवाप्रवाहमा कठिन भएपछि २०६४ सालदेखि जिल्लामा ४ सामुदायीक विद्युत सञ्चालनमा थिए । सामुदायीकको भार जिल्लाका घोराही, लमही र तुलसीपुरका वितरण केन्द्रमा थपिएसंगै महशुल बुझाउनेको भिड बढ्दै गएको छ । सामुदायिक विद्युत सस्थाहरूले दिएको सेवा भन्दा राम्रो सेवा नेपाल विद्युत प्राधिकरणले सेवा दिने नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहीवार बताउँछन् । ‘पहिले विद्युत प्राधिकरण कमजोर हुँदा जनतालाई सहज रूपमा सेवा प्रवाहका लागि निजी कम्पनीलाई जिम्मा दिएको तर अहिले विद्युत प्राधिकरण सक्षम रहेकाले निजी कम्पनीभन्दा राम्रो सेवा दिन्छ’ उनले भने ।

Blog Post Ad Blog Post Ad