Ad Area

सस्तो लोकप्रियताका लागि सस्तो पसल नखोल्न नागरिक समाजको ध्यानाकर्षण


घोराही, २ कार्तिक । दशैं, तिहार, छठ पर्व लक्षित सस्तो पसल नाम मात्रैको रहेको भन्दै नागरिक समाज दाङले जनसाधारणलाई आवश्यक पर्ने खाद्यान्न, चिनी एवम् अन्य बस्तु सहज रुपमा उपलब्ध हुने गरी आगामी दिनमा व्यस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

समाजका संयोजक केबी मसालको अध्यक्षतामा बिहीबार घोराहीमा बसेको बैठकले सबै बस्तुको सहज उपलब्धता बिना सस्तो लोकप्रियताका लागि सस्तो पसल नखोल्न समेत सचेत गराएको छ । यसैगरी देशको राजनीति र अर्थनीति बाह्य ईशारामा चलेको जस्तो आभाष भईरहेको प्रति पनि समाजले ध्यानाकर्षण भएको जनाएको छ ।

नेतृत्व तहले समयमै सतर्कता नअपनाए राष्ट्रिय स्वाभिमानसँग गाँसिएको सामाजिक, आर्थिक र धार्मिक सदभावमा समेत खलल् पुग्ने हुँदा सरकारको गम्भीर ध्यानाकर्षण गराएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

नागरिक समाजले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत केही पदाधिकारीले दिएको राजीनामाले जनमानसमा प्रतिष्ठान प्रशासनका बारेमा चासो बढेको हुँदा पुनः नियुक्ति हुने पदाधिकारीलगायत कर्मचारीको नियुक्ति प्रकृया राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी विनियम बमोजिम योग्य कर्मचारी व्यवस्थापन गरी प्रतिष्ठानको शैक्षिक कार्यक्रम संचालनमा पनि ध्यान दिन समाजले माग गरेको छ ।

यसैगरी, ग्यास सिलिण्डर प्रयोग गर्दा अप्रत्यासित रुपमा हुने दुर्घटना, ग्यास सिलिण्डर बिक्री वितरण र प्रयोग विषयमा जनमानसमा भईरहेको अन्योल बारेमा पनि सरोकार निकायबाट सचेतना फैलाउन सचेत गराएको छ । समाजले दशैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै सबैमा शुभकामना व्यक्त गरेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad