Ad Area

थारु भाषाको गीतिसंग्रह ‘पच्रा’ बिमोचन


घोराही, ३ कार्तिक । थारु भाषाका संस्कृतिकर्मी तथा साहित्यकार बेझलाल चौधरीद्वारा लिखित गीतिसंग्रह ‘पच्रा’ को बिमोचन गरिएको छ।

थारु भाषाको साप्ताहिक पत्रिका लौवा अग्रासन साप्ताहिकले साहित्यकार समेत रहनुभएका चौधरीको दसैंका अवसरमा गाइने गीतमा आधारित गीतिसंग्रह प्रकाशन गरेको हो । थारु कला संस्कृतिका विज्ञ समेत रहनुभएका चौधरीका ‘थारु लोकगीत’,‘डस्या टिका सम्हौटी’ र ‘दाङसे बुह्रान’ गीति क्यासेट, ‘मागर’,‘बर्कीमागर’,‘ढुमर’लगायतका थारु भाषाका कृतिहरु प्रकाशित रहेका छन् ।

लौवा अग्रासन साप्ताहिकको आयोजनामा भएको शुक्रवार भएको कार्यक्रममा कविता संग्रहको घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीलगायतका अतिथिहरुले बिमोचन गरेका थिए । पुस्तकको बिमोचन गर्दै नगर उपप्रमुख डिसीले थारुभाषासँगै कला सस्कृतिको संरक्षणमा स्थानीय सरकारले सहयोग गर्ने बताउँदै त्यसका लागि थारु समुदायका नयाँ पुस्ता पनि अग्रसर हुनुपर्ने बताइन । उपप्रमुख डिसीले भनिन,‘दाङ थारु जातिको कला सस्कृतिको धनि क्षेत्र हो, यहाँको कला संस्कृतिको संरक्षणमा सवैको चासो दिन आवश्यक छ ।’

कविता संग्रहको बिमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा टिकाराम उदासी, संस्कृतिविद तथा लोकगायक डा गोविन्द आचार्य, अनुसन्धानकर्ता भुवन चौधरी र नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान केन्द्रका कार्यकारी प्रमुख डा.जर्मन चौधरीले थारु जातिको कला संस्कृतिसँगै भाषाको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

लौवा अग्रासन साप्ताहिकका प्रधान सम्पादक केवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीलाई प्रकाशक सन्तोष दहितले स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण कल्पना चौधरीले गरेकी थिइन ।