Ad Area

विधिपूर्वक पूजा गरी फूलपाती भित्र्याईयो


घोराही, ४ कार्तिक । आज शनिबार बडादशैंको सातौं दिन हिन्दू धर्मावलम्बीहरुले परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याईएको छ । दाङसहित देशभर दूर्गाको पूर्जा गरी विधिपूर्वक फूलपाती भित्र्याईएको छ । जिल्लाको घोराही १८ स्थित अम्बिकेश्वरी मन्दिरमा आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वर्गद्वारी प्युठान दाङ सरोकार समाज, अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिलगायतको टोलीले विधिपूर्वक पूजा गरी धुमधामका साथ फूलपाती भित्र्याएको छ ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, नेपाली सेनाका रणसिंह दल गणका प्रमुख सेनानी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसी, सशस्त्र प्रहरी बलका प्रम्ुख, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, वडा अध्यक्ष, राजनीतिक दल, नागरिक समाजलगायतको संयुक्त उपस्थितीमा बाजागाजासहित भव्य रुपमा फूलपाती भित्र्याईएको हो । फूलपाती भित्र्याउन र पूजा गर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिकालाई पूजा आराधना गरि देवी तथा दुर्गाको मन्दिरमा गई फूलपाती भित्र्याइएको हो । यसमा सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ ।

यसैबीच, घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हने भएकाले आजबाट सरकारी कार्यालय पनि विदा भएका छन् । फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम उल्लेख्य रुपमा बढेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad