Ad Area

अवैध घरमा पालिकाको डोजर


घोराही, ४ कार्तिक । घोराही उपमहानगरपालिकाले सडक सीमाको जग्गा अतिक्रमण गरी बनाइएको घर टहरा भत्काएको छ । उपमहानगरपालिकाको वडा नम्बर १३ डुम्मरगाउँस्थित सेवार खोला किनारमा सडकको भाग र सार्वजनिक जग्गा मिचेर बनाइएको अवैध घर डोजर लगाएर भत्काएको हो ।

सार्वजनिक क्षेत्रमा घर नबनाउन पालिकाले पटक पटक सूचना जारी गरेपनि अटेरी गरी दुई तलाको घर बनाएपछि शुक्रबार वडा अध्यक्ष दुल्लुराम पोख्रेल, उपमहानगरको पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल, नगर प्रहरी, प्रहरीलगायतको उपस्थितीमा डोजर लगाएर भत्काईएको हो । घर भत्काउने बेलामा घर बनाउने व्यक्ति र पालिकाका प्रतिनिधि, वडा अध्यक्षबीच भनाभन भएको थियो । अवैध रुपमा घर बनाउने व्यक्तिले आफुले बनाएको संरचना नभत्काउन आग्रह गरिरहेका बेला पालिकाले पटक पटक गरेको आग्रहलाई बेवास्ता गरेर अघि बडेपछि डोजर लगाउनु परेको जवाफ दिएको हो ।

नगरपालिकाले यसअघि नै सार्वजनिक जग्गा मिचि बनाईएका घरटहरा भत्काउन सार्वजनिक सूचना जारी गर्दै आएको छ । तर, पालिकाको भिन्न स्थानमा अनाधिकृत संरचना बनाउन थालेपछि पालिकाले घर टहरा, संरचना भत्काउने अभियान अघि बढाएको हो ।

पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर पौडेलका अनुसार डुम्मरगाउँमा बनेको दुईतले घर नबनाउन गरेको आग्रहलाई अटेर गरी काम गरेपछि भत्काउनुको विकल्प नदेखेर डोजर लगाईएको हो । उहाँले भन्नुभयो, ‘वडा कार्यालय तथा अरु नागरिकबाट अवैध रुपमा घर निर्माण भईरहेकाले काम रोक्न भन्दै जानकारी आएपछि असोज १७ गते घर बनाउने व्यक्तिलाई पत्र काटेर काम रोक्न सचेत गराएका थियोँ । तर, पालिकाको अपिलमा अटेरी भयो ।’

पालिकाले एकै पटक कुनैपनि ठाउँको अवैध संरचना भत्काउन नगएको बताउँदै प्रमुख इन्जिनियर पौडेलले शुक्रबार भत्काईएको घरको अवस्था पनि जानकारी गराएरै भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘असोज १७ गते पत्र काटेर गरेको आग्रहले काम गरेन । फेरी असोज २१ गते पत्राचार गरेका थियोँ । यसमा वडा कार्यालयले पनि अवैध संरचना निर्माणको काम रोक्न पालिकासँग सहयोग मागेको हो । हामीले घर बनाउने स्थानीय व्यक्ति केशर वलीलाई भेटेर काम रोक्न र बनेको संरचना ठेगान लगाउन गरेको आग्रहलाई बेवास्ता गरेर दुई तलाको घर बनाएपछि डोजर लगाउनु परेको हो । यसमा पालिकाले चालेको कदम सार्वजनिक जग्गा संरक्षणसँगै अवैध घर टहरा बन्न रोक्ने नै हो ।’

पालिकाले चालेको कदम कार्तिक १ गते बसेको कार्यपालिका बैठकले निर्णय गरेरै भएको पनि उहाँले बताउनुभयो । भत्काईएको घरमा रहेका इटा, काठ, फलामलगायतका सामान ८–१० दिन भित्रमा हटाई सक्न पनि पालिकाले अवैध घर बनाउने वलीलाई निर्देशन दिएको छ । उक्त समयमा पनि ती सामग्री नहटाए पालिकाले जफत गर्ने चेतावनी दिएको छ ।

Blog Post Ad

डुम्मर गाउँको सो क्षेत्रमा बनेका प्राय घर टहरा सार्वजनिक जग्गामा बनेका छन् । ती संरचनाका बारेमा पनि पालिकाले आगामी दिनमा कदम चाल्ने योजना बनाएको छ । सो क्षेत्रभएर बनेको सहिद मार्गको सडक बिस्तार गर्ने तयारी भईरहेकाले आगामी दिनमा ती अवैध घर टहरा हटाउनुपर्ने हुन्छ । हालको अवस्थामा सहिद मार्गको उक्त सडक ३० मीटरको हुनुपर्ने हो । तर सडक मिचिँदा १८ मीटरको मात्रै रहेको छ । अब बनाउने सो सडक ४२ मीटरको हुनेछ । सडकको बीच भागबाट दायाँ २१ मीटर, बायाँ २१ मीटरको बनाउने गरी सर्वे भएको छ । जसले ती संरचना भत्काउनुको विकल्प हुने छैन ।

घोराही उपमहानगरपालिकाले केही दिन अघि पनि घोराही १२ मा रहेको अवैध घर टहरा भत्काएको थियो । त्यहाँ देखा परेको समस्या सम्बोधन भएको वडा अध्यक्ष द्रोर्ण बहकरीले बताउनुभयो । अब दशैं लगत्तै नारयणपुर क्षेत्रमा रहेको अवैध घर टहरा भत्काउने तयारी रहेको पालिकाले जनाएको छ । नारायणपुर क्षेत्रमा विगतदेखि देखिँदै आएको विवाद समाधान गर्न पालिकाले कार्तिक १ गते सार्वजनिक सूचना जारी गरी बनेको अवैध संरचना १५ दिन भित्रमा आफै हटाउन सचेत गराएको छ । तोकिएको समयमा उक्त संरचना नहटाए पालिकाले भत्काउने तयारी गरेको छ । लामो समयदेखि विवादमा रहेको उक्त संरचनाका बारेमा धेरैबाट गुनासो आएपछि पालिकाले सूचना जारी गरेर आफ्ना अधिकार प्रयोग गर्न लागेको हो ।

नगरप्रमुख नरुलाल चौधरीले पालिकाले कुनै पनि व्यक्तिको जग्गालाई छुन सक्ने अवस्था नरहे पनि सार्वजनिक जग्गा जोगाउने र अवैध संरचना हटाएर व्यवस्थापन गर्ने नीतिमा रहेको बताउनुभयो । जसको उदाहरण पछिल्लो कदम रहेको उहाँको भनाई छ ।

पालिकाले अतिक्रमण गरी बनाइएका घर टहरा स्थानीय आफैले भत्काउन समय सीमासहितको सूचना जारी गरेर सचेत गराउने काम पनि गर्दै आएको छ । पालिकाले खोला किनार क्षेत्र, सार्वजनिक खुला क्षेत्रलगायत स्थानमा बाटो मिचेर, खोला मिचेर, सार्जजनिक जग्गामा व्यक्तिगत घर टहरा वा संचरना नबनाउन पनि सबैमा अपील गरेको छ । नभए कानून अनुसार कारवाही हुने पनि चेतावनी दिएको छ ।

Blog Post Ad Blog Post Ad