Ad Area

टी–२० विश्वकप छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दै


दाङ,१९ कात्तिक । टि–२० विश्वकप छनोट उपाधिका लागि आज नेपाल र ओमान भिड्ने भएका छन् । अर्को वर्ष हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपालले एसिया क्षेत्र छनोटको उपाधिका लागि फाइनल खेल ओमानसँग् खेल्न थालेको हो ।

खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाएका हुन् । उक्त विश्वकपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक ग्लोबल क्वालिफायरको सट्टा क्षेत्रीय छनोट प्रतियोगिताहरु मात्र आयोजना हुँदा एसियाबाट दुई टोलीले मात्र टी–२० विश्वकपमा छनोट हुने प्रावधान थियो । त्यसका लागि एसिया छनोटको सेमिफाइनल जित्दै फाइनल पुग्ने टिम मात्र छनोट भएका हुन् । गत वर्ष ओमानमै भएको टी–२० विश्वकपको ग्लोबल क्वालिफायर्समा नेपाल र ओमान दुवै सेमिफाइनलम पराजित हुँदै विश्वकपमा पुग्न असफल भएका थिए ।

यसपटक घरेलु मैदानबाटै विश्वकपको यात्रा तय गर्दा नेपालले गत वर्ष सेमिफाइनलमै यूएईसँग बेहोरेको हारको मिठो बदला लियो । २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेको नेपालले एक दशकपछि फेरि विश्वकपमा स्थान बनाएको हो । उता ओमान भने २०२१ पछि टी–२० विश्वकपमा छनोट भएको हो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad