Ad Area

विपन्न परिवारलाई तिहार खर्च


दाङ, २३ कार्तिक । घोराही उपमहानगरपालिकाको १८ नम्बर वडाका विपन्न परिवारलाई तिहार खर्च सहयोग गरिएको छ । गरिब, विपन्न गरिवारलाई खाद्यान्न तथा नगद सहयोग प्रदान गरिएको हो । घोराही १८ मसिना दीप ज्योति टोलमा रहेका १५ जना गरिब तथा विपन्न परिवारलाई सहयोग गरिएको हो । दीप ज्योति टोल विकास संस्थाको आयोजना तथा गाइया मसला एण्ड वर्गर अमेरिकाको सहयोगमा तिहार खर्च स्वरूप राहत प्रदान गरिएको हो ।

स्वर्गीय बुवाआमा तथा हजुरबुवा, हजुरआमा लीलाधर कुवर र हिमाकुमारी कुवँरको स्मृतिमा छोरा टीकाराम कुवर (गोपाल) र नाति हिराबहादुर कुवरले सहयोग गरेका हुन् । हिराबहादुर अमेरिका बस्दै आएका छन् । विपन्नलाई चाडपर्वको समयमा थोरै भए पनि सहयोग पुगोस् भनेर यसरी सहयोग गरेको टीकारामले जानकारी दिए । यसले उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने उनले बताए । आफ्नो जन्म स्थानमा केही गर्नु पर्दछ भन्ने सोचले छोराले सहयोगका लागि रकम पठाएको उनको भनाइ थियो ।

टोलमा रहेका गरिब तथा विपन्नलाई चामल २५ किलो, पिठो ५ किलो, तेल ५ पोका, नुन १ पोका, मसला १ पोका, दाल तथा नगद ३ हजार एक सय २० रूपैयाँ रकम प्रदान गरिएको थियो । टोल विकास संस्थाले टोलमा रहेका गरिब तथा विपन्न गरिवार छनोट गरेको थियो । सहयोग प्रदान कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष भरतमणि अर्यालले यस प्रकारको सहयोगले गरिब तथा विपन्न गरिवारलाई चाडपर्वको समयमा खानका लागि सहयोग पुग्ने बताए । यस प्रकारको सामाजिक कार्य उदाहरणीय रहेको समेत उनले बताए । घोराही उपमहानगरपालिका वडा नं १९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले राहतको सदुपयोग गर्न आग्रह गरे ।

‘दाताले दिएको सहयोगको सही ठाउँमा सदुपयोग गरेर चाडपर्व मनाउनुहोस्’, अध्यक्ष रायमाझीले भने । यसले गरिब तथा विपन्नलाई पनि पर्वमा रमाउन सहयोग मिल्ने उनको भनाइ थियो ।
त्यस अवसरमा सरिता विक, कविराम कामी, सुकुमा विक, श्यामलाल सुनार, नरेश विक, टेकबहादुर विक, बहादुरे सुनार, पन्छबहादुर सुनार, सीता घर्ती, सीता सुनार, लक्ष्मी सुनार, इश्वरी राना, बमबहादुर खड्का, खिमा घर्ती, पूर्णबहादुर विकलाई सहयोग गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण दीप ज्योति टोल विकास संस्थाका पूर्व अध्यक्ष यज्ञराज खत्रीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad