Ad Area

बहुउद्देश्यीय पार्क निर्माण योजना अलपत्र


घोराही, ५ पुस । दाङमा गुरुयोजनाअनुसार काम अघि बढ्न नसक्दा ६ करोडभन्दा बढी लागतमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय पार्क अलपत्र परेको छ । घोराही उपमहानगरपालिका –१३ स्थित धार्मिकस्थल बाह्रकुने दहलाई विकास गर्दै जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनेगरी गुरुयोजना निर्माण गरिएको थियो ।

गुरुयोजनाअनुसार निर्माणको काम सुरु भए पनि बाह्रकुने दहमा रहेको कान्छा बराहथान मन्दिर सार्ने विषयमा स्थानीयबीच कुरा नमिल्दा बहुउद्देश्यीय पार्क निर्माणको काम अलपत्र परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देबहादुर घर्तीमगरले बताउनुभयो ।

गुरुयोजना अनुसार अहिलेको स्थानमा रहेको मन्दिर अन्यत्र सार्नुपर्ने र सो स्थानमा ठूलो जलाशय निर्माण गर्ने सहमति भए पनि कुरा नमिल्दा कामले पूर्णता पाउन नसकेको अध्यक्ष घर्तीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुरुमा गुरुयोजनाअनुसार अहिलेको मन्दिर अन्यत्र सार्ने र उक्त स्थानमा ठुलो जलाशय निर्माण गर्ने सहमति भएको थियो । तर पछि उक्त कुरामा स्थानीयवीच विवाद हुन थालेपछि काम अघि बढ्न सकेको छैन ।’

गुरुयोजना अनुसार बहुउद्देश्य पार्क निर्माणको ठेक्का २०७८ जेठ ३१ गते श्री नागार्जुन शिवनिर्मल जेभीले पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले बहुउद्देश्यीय पार्कभित्र कम्पाउण्डसहितको मन्दिरका लागि कम्पाउण्ड र पर्खाल निर्माण, गेट, पार्क, टिकट घर र सुरक्षा गार्ड बस्ने घरलगायतका संरचना निर्माणको कामलाई अघि बढाए पनि अहिलेसम्म सरक्षा गार्ड बस्ने घरबाहेक अन्य कुनै पनि संरचना निर्माण हुन नसकेको निर्माण कम्पनी श्री नागार्जुन शिव निर्मल जेभीका प्रतिनिधि राजेन्द्र वलीले बताउनुभयो ।

गुरुयोजना अनुसार २०८० असार मसान्तभित्र बहुउद्देश्यीय पार्कभित्र कम्पाउण्डसहितको मन्दिर, जलाशय निर्माण, गेट, पार्क, टिकट घर, सुरक्षा गार्ड बस्ने घर र फुटपाथ निर्माण गर्नुपर्ने भए पनि मन्दिर र जलाशय निर्माण गर्ने विषयमा स्थानीयबीचमा विवाद हुँदा काम अघि बढ्न नसकेको बताउनुभयो ।

Blog Post Ad

निर्माण कम्पनीका प्रतिनिधि वलीले भन्नुभयोे, ‘गुरुयोजनाअनुसार काम हुन पाएको भए गतवर्ष नै सबै संरचना निर्माण भैसक्थे । निर्माणकै क्रममा स्थानीयवासीबिचमा मन्दिर र पोखरी सार्ने विषयमा विवाद भएर काम अघि बढ्न सकेन ।’ नौ करोड १५ लाख  ५ सय ८५ रुपियाँमा टेण्डर आह्वान भए पनि निर्माण कम्पनीसँग ६ करोड ६ लाख ५२ हजार पाँच सय ४९ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

२०८० साल असार मसान्तभित्र काम सक्ने सम्झौता भए पनि काम नसकेपछि ६ महिनाका लागि पर्यटन डिभिजन कार्यालय बाँकेले म्याद थप गरेको थियो । ‘म्याद थपअनुसार काम गर्नुपर्ने समय अब एक महिना मात्र बाँकी छ । यो अवधिमा गरेर कुनै पनि काम सकिने अवस्थामा छैनन् ।’

निर्माण कम्पनीका प्रतिनिधि वलीले भन्नुभयो, ‘त्यसैले म्याद थपका लागि निवेदन दिएको छु । तर स्थानीयवासीका विषयमा कुरा नमिलेका कारण कार्यालय म्याद थप गर्ने पक्षमा छैन ।’ म्याद थप हुने र स्थानीयवासीका सहमति हुने अवस्था भए यही आर्थिक बर्षमा बहुउद्देश्यीय पार्क निर्माणको काम सकिने अवस्था रहेको निर्माण कम्पनीका प्रतिनिधि वलीको भनाइ छ ।

मन्दिर नसारिने 

परापूर्वकालदेखि पूजापाठ हुँदैआएको कान्छा बराहथानको मन्दिर यथास्थानमै राख्नुपर्ने र मन्दिरदेखि दक्षिणतिरको भागमा नयाँ जलाशय निर्माण गर्नुपर्ने मन्दिर व्यवस्थापन समितिले बताउँदैआएको छ । सोहीअनुसार घोराही उपमहानगरपालिकाको नगर कार्यापालिका बैठकले पनि निर्माण गरेको छ । तर यसरी निर्माण गर्दा गुरुयोजनाभन्दा विपरित हुनेभएकाले पर्यटन डिभिजन कार्यालय बाँकेले कामलाई अघि बढाउन नमान्ने भएकाले गत वर्षदेखि काम रोकिएको निर्माण कम्पनीका प्रतिनिधि राजेन्द्र वलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीयवासीले अहिलेको स्थानमा रहेको मन्दिरलाई नभत्काएर नयाँ ठाउँमा जलाशय निर्माण गर्नुपर्ने भन्नुहुन्छ । तर गुरुयोजनाभन्दा बाहिर गएर काम गर्न पर्यटन डिभिजन कार्यालयले मान्दैन ।’

Blog Post Ad Blog Post Ad