Ad Area

पद्मोदयमा अध्ययनरत भूकम्प प्रभावित सहपाठीलाई विद्यार्थीद्वारा आर्थिक सहयोग


घोराही, ६ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित पद्मोदय पब्लिक नमुना मावि भरतपुरमा अध्ययनरत विद्यार्थीहरुले भूकम्प प्रभावित सहपाठीलाई आर्थिक सहयोग गरेका छन् ।

गत कार्तिक १५ गते गएको भूकम्पमा परी पद्मोदय माविमा अध्ययनत जाजरकोट, रुकुम पश्चिम, सल्यानका विद्यार्थीहरुको घरमा भएको क्षतिमा केही भएपनि मल्हम लगाउन विद्यार्थीहरुको पहलमा संकलित रकम शुक्रबार विद्यालयमा एक कार्यक्रम गरि सहयोग हस्तान्तरण गरिएको हो ।

विद्यालयमा गठित शिक्षक विद्यार्थी समन्वय समिति संयोजक एन्जिला घिमिरेका अनुसार सहपाठीहरु विपतमा परेर भौतिक र मानवीय क्षति व्यहोर्नुपरेको बेलामा मानवीय भावनाका साथ आफुहरुको खाजा खर्च कटाएर संकलन गरेको २५ हजार रुपैयाँ सहयोग गरिएको हो ।भूकम्पबाट प्रभावितहरु ४८ जना अध्ययनरत मध्ये बढी प्रभावित भएका परिवारका ५ जना विद्यार्थीहरुलाई जनही पाँच हजार रुपैयाँका दरले हस्तान्तरण गरिएको हो ।

आफ्नै सहपाठीहरु पीडामा भएको बेला सबै मिलेर सहयोग गर्नुपर्छ भन्ने प्रस्ताव शिक्षकहरुलाई गरेर १५ दिनको अवधिमा सहयोग जुटाएको संयोजक घिमिरेले जानकारी दिनुभयो । जस अनुसार, विवेक वली, धनसरा रावत, दण्डबीर बिटालु, सुबिधा महतारा र गगन बस्नेतलाई वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापकलगायतको उपस्थितिमा जनही पाँच हजार नगद हस्तान्तरण गरिएको छ । समितिले विद्यालयमा पनि थुप्रै काममा सहयोगी भुमिका खेल्ने काम गर्दै आएको उहाँले बताउनुभयो ।

सो अवसरमा, वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले पालिकाबाट एक दिनको तलब कटाएर घोराहीले पनि सहयोग गरेको बताउँदै दुखमा परेकाहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । यो अभियानमा विद्यार्थीबाट भएको मानवीय कार्यको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास चौधरीले विद्यालयमा सिकेको ज्ञानलाई मानवीय भावनाका साथ व्यवहारमा उतारेर गरिएको सहयोग अनुकरणीय रहेको बताउनुभयो । भूकम्प प्रभावितहरुका लागि विद्यालयले शिक्षक, कर्मचारीहरुको एक दिनको तलब सहयोग गर्ने निर्णय भएको जनाउनुभयो ।

Blog Post Ad

शिक्षक अभिभावक संघका अध्यक्ष विश्वराज आचार्यले रकमका दृष्टिकोणले सहयोग थोरै मानिए पनि भावनात्मक रुपमा यो काम निकै ठूलो भएको बताउनुभयो । एउटालाई परेको दुखमा अर्काले साथ, सहयोग गर्नुपर्छ भन्ने विचारलाई व्यवहारमा उतारेर व्यवहारिक शिक्षा विद्यार्थीबाट प्रस्तुत हुनु सराहनीय काम भएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतले विद्यार्थीहरुको सेवाभावको कामको विद्यालयले उच्च मुल्यांकन गरेको बताउनुभयो । समाजमा हरेक सुखदुखमा मिलेर अघि बढ्नुपर्छ भन्ने गतिलो सन्देश विद्यार्थीहरुले देखाएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad