Ad Area

महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु खेलकुद सप्ताह सुरु


दाङ,८ पुस । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सप्ताह सुरु भएको छ । महेन्द्र बहुमुखी क्याम्पसको ६४ औं स्थापना दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङको आयोजनमा आइतवारदेखि स्ववियु सप्ताह सुरु भएको हो ।

क्याम्पसको स्थापना दिवसलाई भव्य रुपमा मनाउनका लागि लामो समयदेखि स्थगीत भएको स्थापना दिवस यसबर्षदेखि स्ववियुले मनाउन थालेको छ । स्ववियु सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न खेलकुदका प्रतियोगिताहरु सुरु भएका हुन । खेलुकदका कार्यक्रमअन्तर्गत छात्र फुटसल, छात्रछात्राका लागि भलिबल, छात्रका लागि क्रिकेट, छात्राका लागि डोरी तान्ने, छात्राका लागि कुर्सी दौड, छात्राछात्रका लागि बादविवाद र लोकदोहोरी प्रतियोगिताको आयोजना गरिएको स्ववियुका सचिव बसन्त भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार उद्घाटनको पहिलो दिन छात्रहरुका लागि फुटसल र क्रिकेट र छात्राहरुका लागि भलिबल खेल सुरु भएका छन् । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङका सभापति मनोज डिसीको अध्यक्षतामा भएको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख भरतराज न्यौपानेले गरेका थिए । उद्घाटन कार्यक्रममा सहायक क्याम्पस प्रमुख मनोज चौधरीलगायत विभिन्न विद्यार्थी संघसंगठनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सप्ताहव्यापी कार्यक्रमको समापन पुसको १३ गते हुने भएको छ । स्ववियु सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत क्रिकेट पद्मोदय नमूना माध्यामिक विद्यालय भरतपुरको ग्राउण्ड र अन्य खेलहरु महेन्द्र बहुमुखी क्याम्पसकै प्राङ्गनमा भइरहेका छन् । साविक राप्ती अञ्चलकै ठुलो महेन्द्र बहुमुखी क्याम्पस २०१६ साल पुसको १४ गते स्थापना भएको थियो ।

Blog Post Ad Blog Post Ad