Ad Area

प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनीको दोश्रो जित


दाङ,९ पुस । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ३० रनले पराजित गरेको छ । जितका लागि १ सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको थियो ।

कर्णालीका लागि गौरी बोहराले २२ बलमा २ चौकासहित सर्वाधिक २२ रन बनाइन् । त्यस्तै यमुना थारुले २९ बलमा ४ चौकासहित २१ रन बनाइन् । अञ्जु गुरुङ ६ बलमा ३ चौकासहित १३ र रश्मी खड्का ११ रनमा नट आउट रहिन् । तिर्सना विश्वकर्माले ८, कप्तान किरण कुँवरले २ र बीना थापा ४ रनमा आउट भइन् । लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान दुई÷दुई विकेट लिए भने शर्मिला रोका र चमेली चौधरीले समान एकरएक विकेट लिएका थिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । लुम्बिनी प्रदेशकी कप्तान सरस्वती गंगा मगरले ६२ बलमा ७ चौकासहित ५३ रन बनाइन् । चमेली चौधरीले २२ बलमा २ चौकासहित १८ रन बनाइन् । सरस्वती पुनले ३ र मधु डिसीले २ रन बनाए । कर्णालीका लागि यमुना थारु, रश्मी खड्का र तिर्सना विश्वकर्माले समान एक एक विकेट लिए । लुम्बिनीको यो दोस्रो जित हो । लुम्बिनीले पहिलो खेलमा गण्डकीलाई ४ विकेटले हराएको थियो । आइतवार भएको विभागीय टिम एपिएफसँग भने लुम्बिनी प्रदेशको महिला क्रिकेट टिम भने पराजित भएको थियो ।

Blog Post Ad Blog Post Ad