Ad Area

सुशान्तसिंह थापाको कप्तानीमा प्रदेश क्रिकेट टीम घोषणा


घोराही, २४ पुस । दंगाली युवा क्रिकेटर सुशान्तसिंह थापाको कप्तानीमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट टीम घोषणा गरिएको छ ।

रुपन्देहीस्थित सिद्धार्थ क्रिकेट रंगशाला, काठमाडौँस्थित कीर्तिपुर क्रिकेट रंगशालामा र मुलपानी क्रिकेट रंगशालामा पुस २८ गतेबाट हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८० का लागि लुम्बिनीबाट थापाको कप्तानीमा २२ सदस्यीय टीम घोषणा गरिएको हो ।

प्रदेशबाट खेल्ने टीममा मोहम्मद सादाब अन्सारी, लवकुश यादव, सिद्धान्त शाही, सम्राट भुसाल, इखलख अहमद, दिलसाद अली, अजित यादव, नरबहादुर सार्की, रुपेश बस्याल, कृष्ण कार्की, मृनाल गुरुङ, अभिशेष गौतम, राहुल चौहान, विष्णु कठरिया, प्रज्वल थापा, विराट भण्डारी, बीरबहादुर सारु मगर, मोहन खत्री, मोहम्मद हुसेन, प्रतिक भट्टराई, निर्मल गुरुङ रहेका छन् ।

प्रमुख प्रशिक्षक तथा खेलाडी छनोट समितिका बसन्त शाही, प्रदेश सदस्य तथा छनोट समितिका धीरज क्षेत्री र प्रदेश सचिव तथा छनोट समितिका कैलाश रोका मगर सम्मिलित टोलीले प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट छनोट प्रतियोगिताका लागि दाङसहित रुपन्देही, बाँके, नवलपरासी, पाल्पा, कपिलबस्तु र बर्दिया जिल्लाका खेलाडीहरुको सहभागीतामा खेलाईएको खेलबाट छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेको हो ।

लुम्बिनीबाट छनोटमा परेका खेलाडीलाई मंगलबार अपरान्ह ४ बजेभित्रमा खेल हुने स्थान सिद्धार्थ रंगशालामा उपस्थित हुन भनिएको छ । यसपछि दुई दिन बन्द प्रशिक्षण गरेर खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने तयारी भएको प्रदेश सचिव रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुसार, हाल २२ सदस्यीय टिमबाट प्रतियोगिता खेल्न ४ वैकल्पिकसहित अन्तिम १४ सदस्यीय टिम तयार हुनेछ ।

३ विभागीय टीम गरी १० टोलीको प्रतिष्पर्धा हुने

पुस २८ गतेदेखि माघको २० गतेसम्म हुने प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा सात वटै प्रदेशसहित ३ विभागीय टीम गरी १० वटा टोलीको प्रतिष्पर्धा हुनेछ ।

लिग चरणमा खेलाईने प्रतियोगितामा लुम्बिनी प्रदेशसहित कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी, त्रिभुवन आर्मी, क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लवको सहभागीता रहेको छ ।

कुल ४३ वटा खेल हुने प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा लिग चरणका खेलहरु भैरहवास्थित सिद्धार्थ रंगशाला, काठमाडौँस्थित कीर्तिपुर क्रिकेट रंगशालामा र मुलपानी क्रिकेट रंगशालामा एकै साथ हुने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव रोकामगरले जानकारी दिनुभयो । लिग चरणका सबै खेल सकिएपछि बाँकी खेल काठमाडौँमा हुनेभएको उहाँले बताउनुभयो ।