Ad Area

मेयर कपबाट उदाई रहेका ‘जयानन्द’


घोराही, २५ पुस । जयानन्द नेपाली उमेरले १९ वर्ष पुग्नुभयो । उहाँले फुटबललाई सारथी बनाएको धेरै भएको छैन । घोराही उपमहानगरपालिका वडा नम्बर १४ सुन्दरनगर टोलमा बस्दै आउनुभएका जयानन्दले फुटबल खेलमा जोडिएको प्रहरी स्कुलमा पढ्दा बखतबाट भएको हो ।

उहाँ घोराहीकै नाम चलेको युएनबीसी क्लबबाट पनि फुटबल खेल्नुहुन्छ । क्लबमा आवद्ध भएर फुटबल प्रशिक्षण गर्नेदेखि पालिका स्तरमा हुने विभिन्न प्रतियोगिताहरुमा खेल्दै आउनुभएका जयानन्दले अहिले आफुलाई फुटबलबाटै प्रमाणि गर्ने कोशिसमा लाग्नुभएको छ ।

घोराहीमा जारी छैठौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १४ बाट सहभागी भई खेली रहनुभएका जयानन्द टीमको लेफ्ट बिङ्गबाट खेल्ने गर्नुहुन्छ । स्ट्राईकरको रुपमा खेल्ने जयानन्दको खेल कौशलता पछिल्लो समय थप निखारिँदै जान थालेको मंगलबार भएको खेलले पुष्टि गरेको छ ।

विपक्षी टीमका खेलाडीलाई छक्याउँदै ड्रिबलिङ्ग गरेर बल बढाउने कौशलता मात्रै होईन, पाएको बललाई विपक्षीको पोष्टमा प्रहार गरेरगोल गर्ने क्षमता जयानन्दको खुट्टामा देखिएको छ । वडा नम्बर ९ सँगको खेलमा जयानन्दले ह्याट्रिक गोल गर्दा टीमले सहज जीत निकाल्यो । त्यो भन्दा पनि ती तीन वटै गोल फ्रि कीकबाट भएको थियो ।

विपक्षीको गोल पोष्टभन्दा करीव ३० मिटरको दुरीमा पाएको फ्रि कीकलाई जयानन्दले खेर जान दिनुभएन । तीन वटै फ्रि कीकलाई फरक फरक बारको दिशा देखाउँदै जाली चुमाउन सफल हुनुभयो । सम्भवतः यस प्रकारको गोल घरेलु फुटबलमा मात्रै होईन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा पनि भएको छैन । यो आफैमा ऐतिहासिक स्तरको क्लास खेलका रुपमा रहेको जयानन्दको खेल हेरी सकेपछि दर्शकहरुको प्रतिक्रियाले जनाएको छ ।
‘समय मिल्यौ की फुटबल साथमा हुन्छ । मैले फुटबलमा भविष्य बनाउने सोँच बनाएको छु, हेरौँ मेरो मेहनत, अनि समयले दिने साथ भोलिका दिनमा कस्तो हुन्छ, त्यो पछि थाहा होला तर आज मैले फुटबल बाहेक अरु केही देखेको छैन, सोँचेको पनि छैन । मलाई फुटबलबाट आफु र आफु जन्मिएको ठाउँ र देशको नाम राख्ने धोको छ’, उहाँले भन्नुभयो ।

घोराही १८ नवलपुरमा जारी मेयर कप फुटबलमा जयानन्द ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी पनि बन्नुभएको छ । यो सिजनको पहिलो ह्याट्रिक पनि हो । उहाँले खेलको १७ औँ, ३४औँ र दोश्रो हाफको १९ औँ मिनेटमा पाएको फ्रि कीकको मौकालाई खेर जान दिनुभएन ।

Blog Post Ad

फुटबल खेललाई आफ्नो पक्षमा पार्न जोड बलले मात्रै पुग्दैन, यसका लागि फुटबल खेल्ने उपयुक्त रणनीति र फुटबल खेलाउने कौशलता पनि चाहिन्छ । यो काममा जयानन्दको खेलबाट स्पष्ट थाहा हुन्छ ।

घरेलु फुटबलबाट थालनी भएको फुटबलको यात्रालाई जयानन्दले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने धोको लिएर अघि बढ्नु भएको छ । यसका लागि घरेलु फुटबलबाट शुुरु भएको यात्रालाई यसै गरी कडा मेहनत र खेल भावनालाई मनमा संगालेर फुटबल मैदानमा प्रमाणित गर्दै जाने अठोटमा लाग्नुभएको छ ।

निम्न परिवारमा जन्मिनुभएका जयानन्दका लागि फुटबलबाट केही गरेर देखाउने सपनाको आधार मेयर कप बन्न सक्छ । यसका लागि आगामी खेलहरुमा पनि हालसम्म फुटबलमा लागेर सिकेको ज्ञानलाई मैदानमा उतारेर प्रमाणित गर्नुपर्ने हुन्छ । दर्शकको नजरमा पर्दै गएका जयानन्दले फुटबलबाट आफ्नो नाम देश विदेशमा अठोटका साथ खेली रहेको बताउनुहुन्छ । क्षमतावान फुटबलरका रुपमा आफुलाई प्रमाणित गर्दै अघि बढी रहनुभएका जयानन्दको क्षमतालाई निखार्न जरुरी रहेको छ ।

उसो त, खेल प्रशिक्षक लेखराज केसीले पनि जयानन्दको खेलमा व्यापक सुधार हुँदै गएको बताउनुहुन्छ । आफ्नो टीममा अनुभवीसँगै नयाँ खेलाडी भएपनि जयानन्द जस्ता प्रतिभावान खेलाडी पाउनु गर्वको विषय भएको बताउनुभयो । हरेक खेलाडीको आआफ्नै विशेषता हुने गरेको बताउँदै प्रशिक्षक केसीले जयानन्दमा फ्रि कीक हान्ने कला विशिष्ट खालको रहेको दावी गर्नुहुन्छ ।

हरेक फ्रि कीकलाई फरक एंगलबाट प्रहार गरेर विपक्षी गोल किपरले समेत भेट्न नसक्ने गरी बार च्यापेर हान्ने कला कौशलता जयानन्दमा रहेको उहाँको बताउनुभयो । जसको बलियो प्रमाणसमेत जयानन्दले खेलेको खेलबाट प्रमाणित भई सकेको उहाँको भनाई छ । स्थानीय स्तरमा हुने यस प्रकारका प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

जयानन्द जस्तै अरु थुप्रै खेलाडीले मेयर कपमा खेल प्रदर्शन गर्दै आफुलाई प्रमाणित गर्ने कोशिसमा लागेका छन् । भोलिको सम्भावना बोकेका स्थानीय खेलाडीहरुको खेलमा भविष्य बनाउने गरी लगानी गर्दै जानुपर्ने हुन्छ । यसका लागि स्थानीय स्तरमा नियमित खेलकुदका गतिविधिसँगै खेलाडीहरुमा लगानीको वातावरण बनाउनुपर्ने खेल क्षेत्रका जानकार बताउँछन् ।

Blog Post Ad Blog Post Ad