Ad Area

मेयर कपमा २ र ४ ले बराबरी खेल्दा वडा नम्बर १२ र १३ विजयी


घोराही, २७ पुस । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा आठौैँ दिन शुक्रबार भएको खेलमा वडा नम्बर १२, १३ विजयी भएका छन् भने वडा नम्बर २ र ४ ले बराबरी खेलेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा जारी लिग चरणको खेल अन्तरगत समुह ए मा रहेका वडा नम्बर २ र ४ ले लिग चरणको आफ्नो अन्तिम खेल ४–४ गोलको बराबरी खेल्दै टुंग्याएका छन् । वडा नम्बर २ का शरद नेपालीले २ गोल गर्दा विनोद घर्ती मगर र अमर रावतले १–१ गोल गर्नुभयो । यसैगरी, ४ वडाका लोकराज अधिकारीले पनि २ गोल गर्दा राहुल श्रेष्ठ र श्रीधर बिकले समान १–१ गोल गर्नुभयो । योसँगै दुवै टीमको मेयर कप यात्रा सकिएको छ भने सो समुहका वडा नम्बर १५ र १८ हिजो नै क्वाटर फाईनल प्रवेश गरीसकेका छन् ।

दिउँसो भएको समुह बी मा रहेका वडा नम्बर ९ र १३ बीच भएको खेलमा वडा नम्बर १३ ले ७–० गोलको सहज जीत निकालेको छ । वडा नम्बर १३ का लागि प्रमोद बुढा, बिजेन्द्र घर्ती, कमल बिक, भीम पुन, रेवन बुढा, दीलिप बिकले १–१ गोल गर्दा एक गोल आत्मघाती भएको थियो ।

जारी लिगमा वडा नम्बर ९ ले जीत दर्ता गर्न सकेको छैन भने वडा नम्बर १३ ले एक खेलमा बराबरी र अरु दुई खेल जितेको छ । तर, उसको अर्को चरणको खेल यात्राका लागि वडा नम्बर ६ र १४ बीचको खेलले तय गर्नेछ । यसैगरी बेलुकी भएको लिग चरणको अर्को खेलमा वडा नम्बर १२ ले वडा नम्बर १९ लाई ५–३ गोल अन्तरले हराएको छ । वडा नम्बर १२ का लागि नविन बुढाले ह्याट्रिकसहित चार गोल गर्नुभयो । अर्को एक गोल मेघराज पाण्डेले गर्नुभयो । वडा नम्बर १९ का सागर रानाले २ गोल र सागर घर्तीले एक गोल गर्नुभयो । खेलमा गोल गर्ने थुप्रै मौका पाएको वडा नम्बर १९ ले गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।

समुह सी मा रहेको वडा नम्बर १२ लाई अर्को चरणमा प्रवेश गर्न आगामी खेल जित्नै पर्ने दवाव छ । सो वडाले वडा नम्बर १ सँग खेल्न बाँकी छ । उता, समुह डी मा रहेको वडा नम्बर १० एक खेल अगावै अर्को चरणमा प्रवेश गरेको छ । जारी लिग चरणका खेलमा शुक्रबारसम्म सबै टीमले २३ खेल खेलिसकेका छन् । हालसम्म सबै टीमबाट ९३ गोल भएको नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

Blog Post Ad

पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ । लिग कम नकआउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । शनिबार पनि लिग चरणका ३ खेलमा वडा नम्बर ११ र ८, वडा नम्बर ६ र १४ तथा वडा नम्बर १ र १७ बीच खेल हुनेछन् । लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने घोराही नगर स्तरीय खेलकुद विकास समिति संयोजक पुनले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad