Ad Area

दाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, २३ घाईते !


घोराही, २८ पुस । दाङमा यात्रुवाहक रात्रि बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा राप्ती नदी पुलबाट यात्रुवाहक बस खस्दा १२ जनाको मृत्यु भएको छ । अन्य २३ जना घाईते भएका छन् ।

नेपालगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको नमस्ते नेपाल यातायात प्रालि नेपालगञ्जको भे १ ख ३९१२ नम्बरको बस गएराति करीव साढे १० बजे अनियन्त्रित भई पुलको बार भत्काउँदै तल खस्दा सो क्षति भएको हो । चालकसहित ३६ जना सवार रहेको उक्त दुर्घटनामा परी १२ जनाले ज्यान गुमाउँदा गम्भीर घाईते भएका ४ जना, मध्यम घाईते भएका १० जना र सामान्य घाईते ९ जना रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका १२ जना मध्ये ८ जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा नेपालगञ्जका वर्ष ६० की कुसुम बस्नेत, मकवानपुर हेटौडा बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाण्डौ चन्द्रागिरी नगरपालिका १५ बस्ने वर्ष ६५ का ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने वर्ष ३१ का मुने, जुम्ला श्रीदुस्का ९ बस्ने बर्ष ४० का मुन बहादुर रावत, बाँकेका बर्ष ३० का रामबरण हरिजन, गोतामकोटका वर्ष २५ का दिपक कामी र भारत बिहार पूर्वि चम्पारण मलाई बस्ने वर्ष ६७ का जोगेन्द्र राम रहेका छन् ।

अन्य चार जना जना मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । बस चालक त्रिवेणी गाउँपालिका ४ सल्यानका वर्ष २८ का लालबहादुर नेपालीलाई प्रहरीको नियन्त्रणमा लिएको छ । दुर्घटनामा परी सामान्य घाईते २ जनाको भालुवाङमा, गम्भीर घाईते ७ जनाको बुटवलमा र १४ जनाको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भई रहेको छ । बस दुर्घटना भएलगत्तै प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी, जनप्रतिनिधिलगायत उद्धारमा खटिएका थिए ।

Blog Post Ad Blog Post Ad