Ad Area

आत्मनिर्भर लघुवित्तीय संस्थाको नाफा घट्यो


दाङ, २९ पुस । आत्मनिर्भर लघुवितीय संस्था लिमिटेडको नाफा घटको छ । दाङको घोराहीमा केन्द्रीय कार्यालय रहेको संस्थाले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा खुद्र नाफा ९५ लाख ९९ हजार गरेको छ । गत आर्थिक वर्षको मंसिर मसान्तसम्ममा खुद्र एक करोड चार लाख ११ हजार रुपैयाँ नाफा गरेको संस्थाको ५औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष मिरा चौधरीले जानकारी दिइन् ।

आर्थिक मन्दी, कोभिडको असरका कारण यसको प्रभाव देखिएको अध्यक्ष चौधरीले बताइन् । आर्थिक सङ्कटका कारण कारोबार, व्यापार व्यवसाय तथा जीवनशैलीमा समेत परेको उनको भनाइ छ । लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति नामक अवैद्यानिक संगठनबाट लघुवित्तीय सञ्चालनका दैनिक गतिविधि प्रभावित भइ लघुवित्तीय संस्थाको भाखा नाघ्ने कर्जा बढी रहेकाले अत्यधिक जोखिमको अवस्था सिर्जना भएको अध्यक्ष चौधरीले बताइन् ।

संस्थाले मंसिर मसान्तसम्म १३ हजार चार सय १८ जनालाई १२ अर्ब १७ करोड ७२ लाख ६४ हजार लगानी गरेको छ । यसै अवधिमा लगानीमा रहिरहेको कर्जा एक अर्ब ३९ करोड १८ लाख ६१ हजार रहेको अध्यक्ष चौधरीले बताइन् । संस्थाले मंसिर मसान्तसम्म सदस्य बचत ८१ करोड ३० लाख तीन हजार गरेको छ । सञ्चालन मुनाफा पाँच करोड २३ लाख ९३ हजार, कर्जा नोक्सानी व्यवस्था चार करोड ७० लाख ७४ हजार रहेको छ । अन्य सञ्चालन खर्च ४४ लाख ९ हजार, कर्मचारी खर्च एक करोड ८८ लाख आठ हजार, व्याज खर्च दुई करोड ९१ लाख ७३ हजार भएको छ । अन्य आम्दानी ७८ लाख १३ हजार, व्याज आम्दानी सात करोड ४९ लाख २६ हजार रहेको छ ।

संस्थाका ग्राहक सदस्य ३६ हजार आठ सय ४८ जना रहेका छन् । संस्थाले आार्थिक वर्ष २०७९÷०८० मा खुद मुनाफा तीन करोड २१ लाख ७४ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षमा पाँच करोड १३ लाख ४२ हजार खुद नाफा गर्न सफल भएको थियो । संस्थाले आर्थिक वर्ष ०७९÷०८० मा दुई करोड ९३ लाख १२ हजार १७ रुपैयाँ राजस्व बुझाएको संस्थाका अध्यक्ष चौधरीले बताइन् । यसरी राजस्व बुझाएबाफत आन्तरिक राजस्व कार्यालय दाङले धेरै कर तिर्ने करदाताको रूपमा समेत सम्मान गरेको थियो । संस्थाले आर्थिक कारोबार मात्र नभइ समाजमा वित्तीय साक्षरतामार्फत् उद्यमी उत्पादन, सामाजिक उतरदायित्व अन्तर्गत सहयोग समेत गदै आएको उनले बताइन् ।

लघुवित्तीय संस्थाहरूलाई काम गर्न सहज नभएको आत्मनिर्भर लघुवित्तीय संस्थाका सिओ सौगतवीर चौधरीले बताए । अहिले पनि सहज रूपमा ग्रामीण स्तरसम्म पुगेर सेवा दिन समस्या रहेको उनको भनाइ थियो । राज्यले सुरक्षाको व्यवस्था मिलाइदिनु पर्ने उनी बताउछन् । ‘हामी राज्यको नियमभन्दा बाहिर गएर काम गरेका छैनौँ, सहज रूपमा काम गर्ने वातावरण बनाइदिनु पर्दछ’, सौगतवीरले भने । लुघुवित्तीय संस्थाले राज्यलाई धेरै कर तिर्ने गरेको समेत उनले बताए ।

ग्रामीण क्षेत्रमा उद्यमी बन्न चाहनेलाइ सहयोग गरेर उनीहरूलाइ उद्यमी बनाउन सहयोग गर्दै आएको पनि उनले बताए । ‘लघुवित्तीय सङ्घर्ष समितिको नाममा काम अवरोध गर्न खोजिएको छ’, उनले भने । राज्यले यस प्रकारको कार्यलाई रोक्नु पर्दछ । राज्यको नियमविपरीत जाने सबैलाई कानुनी दायरामा ल्याउन लाग्नु पर्ने उनले बताए । कार्यक्रममा बोल्ने वक्ताले आत्मनिर्भर लघुवित्तीय संस्थाले समाजमा उद्यमी बनाउनमा सहयोग गरेको बताएका थिए । यसले आर्थिक रूपले समाज परिवर्र्तन गर्न सहज भएको उनीहरूको भनाइ रहेको थियो ।

Blog Post Ad

कार्यक्रम संस्थाका अध्यक्ष मिरा चौधरीको अध्यक्षता तथा ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक अध्यक्ष आशमानी चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सेयर सदस्यहरू अशोक चौधरी, भीमकान्त चौधरी, एभरेष्ट इन्सुरेन्सका डा लोकराज पराजुली, नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियासन, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, स्वतन्त्र सञ्चालक सदस्य गोमा महरालगायतले भनाइ राखेका थिए । संस्थाका सञ्चालक सदस्य सुशीला गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad