Ad Area

मेयर कप फुटबलमा अन्तिम आठमा पुग्ने ५ टीमको टुंगो


घोराही, ४ माघ । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा वडा नम्बर १२, १४ विजयी हुँदा वडा नम्बर १० र १६ ले गाेलरहित बराबरी खेलेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा जारी लिग चरणको खेल अन्तरगत समुह बी मा रहेका वडा नम्बर ७ र १४ बीचको खेलमा वडा नम्बर १४ ले वडा नम्बर ७ लाई २–० गोलले पराजित गरेको छ । वडा नम्बर १४ लाई जित दिलाउन बिरेन्द्र बिकले दुई गोल गर्नुभयो । उहाँले खेलको पहिलो हाफको ९औँ र २९ औँ मिनेटमा गोल गर्नुभएको हो ।

दिउँसो भएको समुह सी को अर्को खेलमा वडा नम्बर १२ ले वडा नम्बर १७ लाई २–१ गोलले पराजित गरेको छ । वडा नम्बर १२ का लागि नवीन बुढाले खेलको १५ औँ र पारस चौधरीले २९औँ मिनेटमा गोल गर्नुभयो भने वडा नम्बर १७ का उत्तम खड्काले दोश्रो हाफको ६ मिनेटमा गोल गर्नुभएको थियो ।
यसैगरी बेलुकी समुह डी मा रहेका वडा नम्बर १० र १६ बीचको खेल गोल रहित बराबरीमा सकिएको छ । चार समुहमा विभाजन गरी खेलाईएको खेलमा समुह ए को लिग चरणको खेल सकिएसँगै सो समुहबाट वडा नम्बर १५ र १८ क्वाटर फाईनल प्रवेश गरीसकेका छन् ।

यसैगरी, समुह बी बाट क्वाटर फाईनल पुग्ने टीममा वडा नम्बर १४ सुरक्षित भएपनि वडा नम्बर ६ र १३ काे पनि सम्भावना बलियो छ । समुह सी बाट पनि क्वाटर फाईनलमा पुग्ने टोलीमा वडा नम्बर १७ रहेको छ भने वडा नम्बर ३, १२ को टुंगो लाग्न बाँकी छ । समुह डी बाट भने वडा नम्बर १० र १६ क्वाटर फाईनल प्रवेश गरेका छन् ।

जारी लिग चरणका खेलमा बिहीबारसम्म सबै टीमले ३२ खेल खेलिसकेका छन् । अब लिग चरणका ४ वटा खेल हुन बाँकी छ । हालसम्म सबै टीमबाट १ सय ३० गोल भएको नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो । पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ । माघे संक्रान्तिको अवसरमा ३ दिन रोकिएको खेल बिहीबारबाट पुनः शुरु भएको हो ।

प्रतियोगिता अन्तरगत शुक्रबार लिग चरणका दुई खेल हुनेछन् । जसमा वडा नम्बर १ र ३ तथा अर्को खेल वडा नम्बर ६ र १३ बीच हुनेछ । लिग कम नकआउटका आधारमा खेलाईएको मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने घोराही नगर स्तरीय खेलकुद विकास समिति संयोजक पुनले जानकारी दिनुभयो ।

Blog Post Ad

 

Blog Post Ad Blog Post Ad