Ad Area

मेयरकप फुटबल लिग समीकरण पूरा, क्वाटर फाईनल सोमबारबाट हुने


घोराही, ६ माघ । घोराहीमा जारी छैठौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको लिग समीकरण पूरा भएको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा शनिबार सम्पन्न लिग चरणका दुई खेल सकिएसँगै लिग समीकरण पूरा भएको हो । घोराहीका १९ वटै वडा सहभागी मेयर कपमा ३६ खेल सकिएसँगै लिग समीकरणबाट अन्तिम आठ टोलीको टुंगो लागेको छ ।

शनिबार भएको खेलमा वडा नम्बर ७ ले वडा नम्बर ९ लाई १०–० गोलले हराएको छ । वडा नम्बर ७ का लागि नवीन चौधरीले एक्दै ८ गोल गर्नुभयो । यो सँगै वडा नम्बर ७ ले जारी प्रतियोगितामा अन्तिम जीत निकाल्दै बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा वडा नम्बर ५ र ८ बीच भएको खेलमा वडा नम्बर ५ ले ३–० ले जितेको छ । उक्त खेलमा वडा नम्बर ८ सहभागी हुन नसकेपछि वडा नम्बर ५ ले वाकओभर पाएको हो । योसँगै लिग चरणका सबै खेल सकिएका छन् । शनिबार भएका दुई खेलमा जितेका टोली यसअघि नै लिग चरणबाट बाहिरिसकेका थिए । जारी प्रतियोगिताको लिग चरणका सबै खेल हारेर अंक तालिकामा कुनै अंक जोड्न नसक्ने वडाहरूमा ९,११ र १९ रहेका छन् ।

अब क्वाटर फाईनल खेल सोमबारबाट हुनेछ । क्वाटर फाईनलमा वडा समुह ए बाट वडा नम्बर १८ र १५, समुह बी बाट १३ र १४, समुह सी बाट ३ र १७ तथा समुह डी बाट १० र १६ पुगेका छन् । जसमा समुह ए को विजेता वडा नम्बर १८ ले समुह सी को उपविजेता वडा नम्बर १७ सँग सोमबार खेल्नेछ । समुह ए को उपविजेता वडा नम्बर १५ ले समुह सी को विजेता वडा नम्बर ३ सँग सोही दिन खेल्नेछ ।

समूह बि बाट विजेता बनेको १३ ले समुह समुह डी को उपउपविजेता वडा नम्बर १६ सँग मंगलबार खेल्नेछ । समुह बि को उपविजेता वडा नम्बर १४ ले समुह डी को विजेता वडा नम्बर १० सँग सोही दिन खेल्नेछ ।

जारी लिग चरणका ३६ खेल सकिँदा हालसम्म सबै टीमबाट १ सय ५८ गोल भएको नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो । पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ । सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने घोराही नगर स्तरीय खेलकुद विकास समिति संयोजक पुनले जानकारी दिनुभयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad