Ad Area

दाङको रिहारमा बस दुर्घटना, दुईको मृत्यु !


घोराही, ८ माघ । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक गएराति करीव १२ बजेतिर भएको दुर्घटनामा बसमा सवार दुई जना यात्रुको मृत्यु भएको हो ।

बर्दियादेखि काठमाडौ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बसमा सवार गेरुवा गाउँपालिका १ का वर्ष ३६ का भीमनाथ योगी र मधुवन नगरपालिका २ बर्दियाका ५२ वर्षका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार, बसमा चालकसहित ४७ जना सवार रहेको बुझिएको छ ।

माघी मानेर काठमाडौ जाँदै गरेकाहरुले बसमा आफुलाई चाहिने माल सामान लैजाँदै गर्दा ओभरलोडका कारण अगाडीको पट्टा भाँचिदा बस भित्तामा ठोक्किन पुगेको थियो । तीव्र गतिमा गुडिरहेको बसमा अनियन्त्रित भई दुर्घटना हुँदा बस चालक मधुवन नगरपालिका वडा नम्बर ४ का वर्ष ३२ का खुशीराम चौधरीको हात भाँचिएको छ ।

उहाँको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । बसमा सवार अरु यात्रु सकुशल रहेको जिल्ला प्रहरी प्रवक्ता मल्लले बताउनुभयो । मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ ।