Ad Area

आधारभूत विद्यालय गिठेपानीको ३३ औ वार्षिकोत्सव सम्पन्न


घोराही, ८ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित आधारभूत विद्यालय गिठेपानीको ३३ औ वार्षिक उत्सव सम्पन्न भएको छ ।

विद्यालयले एक कार्यक्रमको आयोजना गरि आज वार्षिक उत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिनेश वलीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा विद्यालयले वार्षिकोत्सव मनाएको हो । शिक्षाबाट चेतनाको विकास हुने हुँदा बालबालिकाहरुलाई असल र संस्कारसहितको शिक्षा अहिलेको आवश्यकता रहेको उपप्रमुख डिसीले बताउनुभयो ।
कार्यक्रममा वक्ताहरुले शैक्षिक सुधारका लागि सबै एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभएको छ ।

शिक्षक, अभिभावक र विद्यार्थी सबै सँगैसँगै अगाडि बढ्न सकेमा शिक्षाको गुणस्तर सुधार गर्न सकिने सहभागिहरुको भनाइ थियो । अभिभावकहरुले विद्यार्थीलाई विद्यालय पठाएर मात्र नहुने भन्दै आफु पनि सचेत हुनुपर्ने उनीहरुले भनाई थियो । सो अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष भरतमणि अर्याल, नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियासन, शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यवहादुर जिसी, मावि रझेना प्रधानाध्यापक उद्धव न्यौपाने, कालिका सामुदायिक वन समुहका अध्यक्ष यशोदा पाण्डे, रेडक्रसका अर्जुन पन्थी, अक्षय कोषदाता सुरेशकुमार पाण्डे, समाजसेवी पूर्णवहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक गिरीप्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको थियो । शिक्षक माधवी डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक हिरा केसी र जीवन खनालले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थी, अनुशासित विद्यार्थी, सरसफाइमा उत्कृष्ट विद्यार्थी, विद्यालय सबै भन्दा बढी हाजिर हुने शिक्षक लगायतलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad