Ad Area

सर्वाधिक राशीको ‘दाङ क्रिकेट लिग’को दोश्रो संस्करण फागुनमा हुने


घोराही, ८ माघ । दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) को दोश्रो संस्करण फागुनमा हुने भएको छ । दाङ क्रिकेट संघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुन २६ देखि हुन थालेको दाङ क्रिकेट लिगको दोश्रो संस्करणको बारेमा जानकारी दिएको हो ।

‘दाङ त्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठुलो राशीको फेन्चाइज लिग भएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैंयाले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रतियोगिता खेल्ने टिमहरुले अक्सनमार्फत खेलाडीहरु खरिद गर्नुपर्ने व्यवस्था गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो ।

लिगमा देशभरीका सय बढी खेलाडीलाई म्याच शुल्कसहितको क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको बताउनुभयो । प्रतियोगिताका लागि प्रत्येक टिमले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ । जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन भने राष्ट्रिय तथा अन्तरास्ट्रिय खेल खेलिसकेका एक÷एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले आफै छनोट गर्न सक्ने व्यवस्था गरिएको प्रतियोगिताका संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव संजु केसीले जानकारी दिनुभएको छ ।

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरुलाई खेलाडी खरिदका लागि न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको संयोजक केसीले जानकारी दिनुभएको थियो । प्रतियोगिताले दाङ जिल्लाको क्रिकेटसँगै समग्र खेलकुद र आर्थिक विकासका लागि मद्धत गर्ने अध्यक्ष मजगैयाँले बताउनुभएको छ ।

लिगका विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी,बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ । लिगमा घोराही टाइगर्स, दंगाली लाइन, तुलसीपुर रोयल्स, पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारीयर्स गरी पाँच वटा टिमहरु सहभागी हुनेछन् । प्रतियोगिताको निर्देशकमा विशेष अधिकारी रहेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad