Ad Area

मेयर कप फुटबलको सेमीफाईनलमा वडा नम्बर १३ र १७ प्रवेश


घोराही, ८ माघ । घोेराही उपमहानगरपालिकामा जारी छैठौँ संस्करणको मेयरकप फुटबल प्रतियोगिता २०८० को सेमीफाईनलमा वडा नम्बर १३ र १७ प्रवेश गरेका छन् । घोराही १८ नवलपुर फुटबल मैदानमा सोमबार भएका खेलमा वडा नम्बर १७ र १८ लाई र वडा नम्बर १३ ले १६ लाई पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेका हुन् ।

पहिलो क्वाटर फाईनल खेलमा वडा नम्बर १७ र १८ ले निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी खेलेपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको थियो । जसमा वडा नम्बर १७ ले १८ लाई ४–३ गोलले हराएको छ ।

टाईब्रेकरमा वडा नम्बर १७ का अभिशेष बिक, सुजल बस्नेत, हेमन्त बिक र विक्रम बिकले गोल गर्नुभयो । वडा नम्बर १८ का समित पुन, सुवास थारु र सागर चौधरीले मात्रै गोल गर्न सक्नुभयो । वडा नम्बर १८ का क्षितिज बेल्बासे र तिलक महराले बल गोलपोष्ट भन्दा बाहिर प्रहार गरेपछि सेमिफाईनल यात्रा समाप्त भएको हो ।

यसअघि पहिलो हाफ गोलरहित खेलेका दुवै टीमले गोल दोश्रो हाफमा गरेका हुन् । दोश्रो हाफको १४ मिनेटमा वडा नम्बर १८ का कप्तान विश्वास श्रेष्ठले डि एरियामा पाएको बललाई सिधै जाली चुमाउँदै अग्रता बनाए पनि ३४ मिनेटमा वडा नम्बर १७ का युवराज राना डि एरियाभन्दा केही बाहिर पाएको पासलाई वन टचमा दोश्रो बार च्याप्दै गरेको प्रहारले जाली चुमेपछि खेल रोमान्चक बनेको थियो । दुवै टीमबाट थप गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

हजारौँ दर्शकहरुको साथ पाईरहेको प्रतियोगितामा दोश्रो क्वाटर फाईनल खेलमा वडा नम्बर १३ र १६ बीचको खेल पनि पहिलो हाफ गोलरहित बराबरी भएको थियो । वडा नम्बर १६ ले खेल अवधिभर गोल गर्ने थुप्रै मौका पाए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । दोश्रो हाफको दोश्रो खेलमा वडा नम्बर १३ ले वडा नम्बर १६ लाई २–० गोल गर्न सफल भयोे ।

दोश्रो हाफको १२ मिनेटमा एरोन रोकले पेनाल्टी एरियामा पाएको बललाई सिधै प्रहार गरेर गोल गर्नुभयो । वडा नम्बर १६ का डिफेन्डरले बल क्लियर गर्न नसक्दा त्यसको फाईदा वडा नम्बर १३ ले उठाएको हो । यसैगरी खेलको २३ औँ मिनेटमा विजेन्द्र घर्तीले करीव ३५ यार्ड परबाट प्रहार गरेको बल देब्रे बार च्याप्दै जाली चुम्न पुगेको थियो ।

योसँगै वडा नम्बर १३ ले सेमिफाईनल यात्रातय गर्न सफल भएको छ । वडा नम्बर १३ साविक विजेता टोली हो भने वडा नम्बर १७ ले मेयर कप विजेता भईसकेको वडा नम्बर १८ लाई क्वाटर फाईनलमा हराउँदै पहिलो पटक सेमिफाईनल यात्रा तय गरेको छ । वडा नम्बर १३ र १७ बीचको फाईनल प्रवेशका लागि सेमिफाइनल खेल ११ गते हुनेछ ।

प्रतियोगिता अन्तरगत अब मंगलबार क्वाटर फाईनलका दुई खेल हुनेछन् । जस अनुसार, पहिलो खेल वडा नम्बर ३ र १५ वडा बीच हुनेछ भने दोश्रो खेल वडा नम्बर १० र १४ बिच हुनेछ ।

पालिकाभरका १९ वटैै वडाको सहभागीतामा लिग कम नकआउटका आधारमा खेलाईएको प्रतियोगिता पुस २० गतेबाट शुरु भएको हो । प्रतियोगिता माघ १३ गतेसम्म चल्ने घोराही उपमहानगरपालिका स्तरीय खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो । ४ समुह विभाजन गरी खेलाईएको प्रतियोगितामा खेलाडीले खेलको निखार ल्याउने अवसर पाएका छन् ।