Ad Area

घोराहीमा गोली प्रहार गरेर महिला प्रहरीको हत्या, पेस्तोलसहित श्रीमान पक्राउ


घोराही, ३ फागुन । दाङमा श्रीमानले नेपाल प्रहरीमा कार्यरत श्रीमतीको गोली प्रहार गरेर हत्या गरेका छन् ।

घोराही उपमहानगरपालिका १४ वडा प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवान धनमाया थापामगरलाई बिहिबार साँझ घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकको समयमा श्रीमान यामबहादुर झाँक्रीमगरले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभएको छ । मृतकको ठेगाना सुर्खेत जिल्ला पञ्चापुरी नगरपालिका ९ विद्यापुर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख एसपी केसीका अनुसार प्युठान जिल्ला नौबहिनी गाउँपालिका ४ खवाङ निवासी यामबहादुर नेपालगंजस्थित कर्णाली प्रहरी तालिम केन्द्रमा सहायक प्रहरी हवल्दार पदमा कार्यरत रहेका छन् । भे १२ प ११५० नम्वरको मोटरसाइकलमा आएका यामबहादुरले घोराहीस्थित दामोदर चोकमा ड्युटीमा रहेको समयमा तीन राउण्ड गोली हानेका थिए । गोली प्रहारबाट गम्भीर घाइते थापाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको एसपी केसीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख केसीले भन्नुभयो,‘डिउटीमा रहेको समयमा मोटरसाईकलमा आएका यामबहादुरले धनमायाँ भएकै स्थानमा मोटरसाईकल रोकी गोली प्रहार गरेर हत्या गरेको देखिन्छ ।’ प्रहरीका अनुसार मृतक महिला प्रहरीको छाती र कोखामा गोली लागेको छ ।

गोली प्रहार गरि महिला प्रहरीको हत्या गर्ने यामबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोली प्रहार गरि घोराहीबाट भागेका यमबहादुरलाई लमही नगरपालिका ६ अर्जुनखोलाबाट प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको उनको साथबाट पेस्तोलसहित गोली बरामद गरेको छ ।

प्रहरी प्रमुख केसीका अनुसार घटना बारेमा थप अनुसन्धान भइरहेको बताउनुभएको छ । प्रहरी प्रमुख केसीले भन्नुभयो,‘अहिले घट्ना बारेमा एकिन कारण के हो, खुुलिसकेको छैन । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको छ ।’

Blog Post Ad

Blog Post Ad Blog Post Ad