Ad Area

डिसिएलका लागि सहसेनानी मरासिनीबाट सहयोग


घोराही, ४ फागुन । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि दाङ निवासी पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाली सेनाको सहसेनानी पदमा कार्यरत शरद मरासिनीले आफ्नो स्वर्गीय हजुरआमा देवीकला रिजाल मरासिनीको स्मृतिमा प्रतियोगिताका लागि नगद २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

उहाँले डिसिएलका लागि उत्कृष्ट खेलाडीहरुलाई प्रदान गरिने पुरस्कारका लागि हरेक वर्ष २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भएको संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुभयो । दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोली रहेका छन् । यी पाँच वटा फ्रेन्चाईज क्लबले अनलाईन रजिष्ट्रेशन भरेका खेलाडीहरुलाई प्रतियोगिताको मापदण्डमा रही अक्सनका आधारमा खरीद बिक्री गर्नेछन् ।

खेलाडी अक्सन फागुन ५ गते हस्पिटालिटी पार्टनर रहेको भिंग्रेली भिलेज रिसोर्टमा हुने भएको छ । प्रत्येक टीम मालिकहरुले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन भने राष्ट्रिय तथा अन्तर्रास्ट्रिय खेल खेलिसकेका एक÷एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले आफै छनोट गर्न सक्ने व्यवस्था गरिएको छ ।

Blog Post Ad Blog Post Ad